विद्राेहीकाे कारागारमा सेनाकाे आक्रमण, सय जनाकाे मृत्यु

लाेकपाटी न्यूज
0 Shares

काठमाडाैं। साउदी अरब नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी यमनमा पछिल्लो समयमा १०० जना मारिएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले आइतबार जनाएको छ । हुथी विद्रोहीहरुले ड्रोन र मिसाईलहरु संकलन गरी राखेको सूचनाका आधारमा गठबन्धन सेनाले उक्त स्थानमा आक्रमण गरेको थियो ।

हुथी विद्रोहीका अनुसार विद्रोहीहरुले कारागारको रुपमा उपयोग गर्दै आइरहेको भवनमा आक्रमण भएको हो । संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले घटनामा परी कम्तीमा ५२ जना मारिएको शव नै भेटिएको र अरु ६८ जना हराइरहेको जनाएका छन् ।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले दामरस क्षेत्रमा औषधि तथा अन्य सहयोग सामग्रीसहितको टोली पठाइएको बताएको छ । ‘अहिले आक्रमण भएको क्षेत्रमा आइसिआरसीको टोलीले यसअघि नै स्थलगत अध्ययन भ्रमण गरिसकेको थियो,’ यमनका लागि आइसिआरसीले खटाएको टोलीका प्रमुख फ्रान्ज रौचेन्स्तैनले धमारबाट एएफपीसँग भने ।

उनले भने, ‘कारागारमा आक्रमण हुनु यसको सबैभन्दा नराम्रो पक्ष हो, यसका लागि अन्तर्राष्ट्रिय कानुन आकर्षित हुन्छ ।’ रौचेन्स्तैनले एक सय भन्दा बढीको मृत्यु भएको अनुमान गरिएको जानकारी दिए ।

उनका अनुसार अरु ४० जनालाई घाइते अवस्थामा अस्पतालमा उपचार गराइएको छ । घटनास्थलबाट आइसिआरसीको टोलीले शवहरु सङ्कलन गरेको थियो । –एएफपी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्