तराईमा एक हजार सोलार पम्प सञ्चालन गर्दैछाैं : मन्त्री पुन

barsaman-pun ananta
लाेकपाटी न्यूज

काठमाडौं, १८ भदौ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ इन्डोनेसियाको भ्रमण गरेर स्वदेश फर्किएका छन्। इन्डोनेसियाको बालीमा भएको अन्तर्राष्ट्रिय जल तथा सिंचाई आयोगको तेश्रो विश्व सिंचाई फोरममा सहभागी भएर मन्त्री पुन बुधवार स्वदेश फर्किएका हुन्।

उनले सम्मेलनमा सहभागी हुँदा चीन र इण्डोनेसियासहित विभिन्न देशका समकक्षी मन्त्री र विकास नियोगका उच्च अधिकारीसँग छलफल भएको भन्दै इण्डोनेसिया भ्रमण फलदायी भएको बताए।

स्वदेश फर्कने क्रममा मन्त्री पुनले विमानस्थलमा भने, ‘विश्व सिंचाई फोरममा आफ्ना अनुभव आदान प्रदान गर्न मद्दत पुग्नुका साथै नेपालको सिंचाई क्षेत्रमा गर्न सकिने सम्भावित परियोजनाका बारेमा समेत छलफल भयो ।’

मन्त्री पुनले एसियाली विकास बैंक (एडिबी) का निर्देशक मियो ओकासँग समेत भेटवार्ता गरेका थिए। उनले एडिबीका निर्देशकसँग सर्लाही र रौतहटमा सि‌ंचाई पुर्‍याउनकाे लागि १ हजार सोलार पम्प पुर्‍याउने विषयमा छलफल सकारात्मक भएको जानकारी दिए।

सर्लाही र रौतहटको ४० हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुर्‍याउनकाे लागि एडिबीले अध्ययन गरिरहेको छ । मन्त्री पुनले त्यसमा थप सहयोग गर्न एडिबी तयार रहेको जानकारी दिएका छन् । एडिबीले नेपालमा २० मेगावाटको सोलार विद्युत उत्पादन गर्ने परियोजनामा समेत अध्ययन गरिरहेको छ ।

सिंचाई विभागकी महानिर्देशक सरिता दवाडीले मन्त्री पुनले भ्रमणको क्रममा एडिवी, विश्व वैंक र विभिन्न देशका उच्च अधिकारीसंग नेपालको सिंचाई क्षेत्रको अवस्था र सिंचाई व्यवस्थापनको बारेमा अनुभव आदान प्रदान गर्नुका साथै लगानीका बारेमा समेत छलफल भएको बताइन्।

मन्त्री पुनले उक्त सम्मेलनमा सम्बोधन समेत गरेका थिए। विश्वका ४० भन्दा धेरै देशका जलश्रोत तथा सिंचाई मन्त्रीसहित उच्च प्रतिनिधि मण्डलको सहभागिता रहेको फोरममा मन्त्री पुनले नेपाल सरकारले कृषि र सिंचाईलाई निक्कै महत्व दिइरहेको धारणा राखे।

उनले नेपालमा जलश्रोतको कूल क्षमताको ८ प्रतिशतभन्दा थोरै पानी मात्र सिंचाईको क्षेत्रमा प्रयोग भईरहेको जानकारी दिए। नेकपाका नेता समेत रहेका मन्त्री पुनले विश्वभर भएको मौसम परिवर्तनले नेपालको कृषि तथा सिंचाईको क्षेत्रलाई गम्भिर असर पारिरहेको भन्दै नेपाल सरकारले जलवायु परिवर्तनको असर कम गर्न प्रयास गरिरहेको धारणा समेत सम्मेलनमा राखेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्