अब दूतावासबाटै घरेलु कामदारलाई पुनः श्रम स्विकृति

0

काठमाडौं, २३ भदौ। सरकारले खाडीमा कार्यरत नेपाली कामदारहरुलाई पुनः श्रम स्विकृति दिन सुरु गरेको छ। शुक्रबारदेखि घरेलु कामदारका रुपमा खाडी जाने नेपाली कामदारहरुलाई गन्तव्य मुलुकको दूतावासबाटै पुनः श्रम स्विकृति लिन पाउने व्यवस्था गरेको हो।

सरकारले पुनः श्रम स्वीकृति सूचारु गरेसँगै घर फर्कन नपाएका घरेलु कामदारहरु लाभान्वित भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा नारायण रेग्मीका अनुसार पुनः श्रम स्विकृति नपाएका कारण पुनः सोही काममा जान नपाउने भएपछि धेरै घरेलु कामदारहरु नेपाल फर्किएका छैनन्। यसरी खाडी मुलकमा बस्ने नेपाली कामदारहरुको संख्या करिब ३० हजारभन्दा बढी रहेको उनको आँकलन छ।

संयुक्त अरब इमिरेट्स(युएई)ले नेपाली कामदारहरुले अबुधाबीस्थित नेपाली दूतावासबाटै पुनः श्रम स्विकृति लिन पाउने भन्दै सूचना जारी गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको २०७६ भदौ १७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार युएईमा घरेलु कामदारका रुपमा कार्यरत कामदार बिदामा नेपाल आई पुनः सोही काममा फर्कन चाहेमा त्यस्ता नेपाली कामदारहरुलाई पुनः श्रम स्विकृतिका लागि सिफारिस गर्नसक्ने भन्दै दूतावासले सूचना जारी गरेको छ।

दूतावासबाटै पुनः श्रम स्विकृति लिनका लागि कामदारले अवधि कायम भएको भिसा, राहदानी र करार सम्झौताको प्रमाण प्रतिलिपि, रोजगारदाताको राहदानीको प्रतिलिपि, घरेलु कामदारका रुपमा श्रम स्विकृति लिई वैदेशिक रोजगारमा आएको निस्सा प्रमाण, बिदामा स्वदेश गई पुनः वैदेशिक रोजगारीमा फर्किंदा साविकै रोजगारदाताकोमा जाने कागजात वा निस्सा आवश्यक पर्ने जनाइएको छ।

सरकारले घरेलु कामदारका रुपमा खाडी जाने नेपाली कामदारहरु असुरक्षित रहेको भन्दै नेपाली कामदारहरुलाई घरेलु कामदारका रुपमा खाडीका मुलुक जान रोक लगाएको थियो। २०७३ चैतदेखि नयाँ तथा पुनः श्रम स्वीकृति लिएर नेपाली कामदारहरु खाडी मुलुक जान पाएका थिएनन्। जसले गर्दा घरेलु कामदारका रुपमा कार्यरत नेपाली कामदारहरु पुनः काममा फर्किन नपाउने भएपछि विदेशमै बसिरहेका थिए।

मलेसियालगायत खाडी मुलुकहरु कतार, साउदी, कुवेत, बहराइन, युएईलगायतमा नेपाली कामदारहरु घरेलु कामदारका रुपमा ठूलो संख्यामा जाने गरेका छन्। यसरी घरेलु कामदारका रुपमा खाडीका मुलुकमा जाने पुरुष कामदारको तुलनामा महिला कामदारको संख्या बढी छ।

Comments
Loading...
You might also like