आज पेट्रोलियम पाइपलाइनको उद्घाटन

petrolium-pipeline
फाइल तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं, २४ भदौ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन आज गरिदै छ । दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनका रूपमा रहेको यो पाइपलाइनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा गर्ने छन्।

मङ्गलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री ओलीले र उनका भारतीय समकक्षी मोदीले नयाँ दिल्लीस्थित हैदराबाद भवनबाट एकैसाथ पेट्रोलियम पाइपलाइन उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्रधानमन्त्रीका ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले पेट्रोलियम पाइपलाइन उद्घाटनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए। दुबै देशका प्रधानमन्त्रीले ‘हाइटेक’ प्रविधिबाट पाइपलाइन उद्घाटन गर्ने पनि उनले जानकारी दिए ।

रिमोटको सेन्सर हुँदै कम्प्युटरको सेन्सरमार्फत अमलेखगन्जस्थित डिपोको युनिटको भल्व खुल्ने छ र त्यसपछि पाइपलाइनमार्फत नियमित रूपमा तेल आपूर्ति शुरु हुने छ। यसअघि नै सो पाइपलाइनको सफल परीक्षण भइसकेको छ । उद्घाटनसँगै विगत डेढ दशकदेखि चर्चामा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनले पूर्णता पाउने छ ।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्रकुमार गोइतले उद्घाटनसँगै सो पाइपलाइन हुँदै भारतबाट नियमित पेट्रोलियम पदार्थ आपूर्ति शुरु हुने जानकारी दिए। दुबै मुलुकका प्रधानमन्त्रीले रिमोट थिच्नुभन्दा अघि नै मोतिहारीस्थित इन्डियन आयल कर्पोरेसनको डिपोले तेल छोडिसकेको हुने छ।परीक्षणका क्रममा पाइपलाइनमा तेल भरिएको हुनाले मोतिहारीबाट छोड्नेबित्तिकै अमलेखगन्जमा तेल आइपुग्ने छ।पाइपलाइनमार्फत् प्रतिघण्टा दुई सय किलोलिटर इन्धन अमलेखगन्जको डिपोमा खसाल्न सकिने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्