नेपाल विश्वमै १५ औं सस्ताे गन्तव्य मुलूक

tourists
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २४ भदौ। विदेशी पर्यटकका लागि विश्वमै सस्ता गन्तव्यका रूपमा रहेको तथ्य सार्बजनिक भएको छ। सन् २०२० मा २० लाख पर्यटक भित्रयाउने लक्ष्यमा रहेको नेपाल विदेशी पर्यटकका लागि विश्वमै सस्ता गन्तव्यका रूपमा रहेको तथ्य सार्वजनिक भएको हो।

वर्ल्ड इकोनोमिक फोरमले हालै सार्वजनिक गरेको ‘यात्रा तथा पर्यटन प्रतिस्पर्धी सूचक –२०१९’ प्रतिवेदन अनुसार कम खर्चमै घुमघाम गर्न सकिने देशमध्ये नेपाल पनि अगाडि रहेको देखिएको हो। प्रतिवेदनमा समेटिएका विश्वका १४० वटा देशमध्ये मूल्य प्रतिस्पर्धी सूचकमा नेपाल १५ औँ स्थानमा रहेको छ ।

प्रतिवेदन अनुसार इरान पर्यटकका लागि विश्वकै सबैभन्दा सस्तो देशका रूपमा रहेको छ। त्यस्तै वेलायत पर्यटकका लागि विश्वकै महँगो देशका रूपमा रहेको उल्लेख छ। छिमेकी मुलुक भारत सस्ता मुलुकको सूचीमा १३ औँ स्थानमा छ। बु्रनाई, इजिप्ट, कजाखस्तान, मलेसिया सस्ता गन्तव्यको क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा छन् । नेपाल यस्तो सूचीमा अघिल्लो वर्ष १९ औँ स्थानमा थियो ।

मूल्य प्रतिस्पर्धी सूचकमा खास गरी चारवटा पक्षलाई गणना गरिएको प्रतिवेदनमा उल्लेख छ। त्यसमध्ये टिकट कर तथा विमानस्थल शुल्क, होटल शुल्क, खरिद क्षमता र इन्धन मूल्यलाई आधार बनाएको छ।

नेपालमा अन्तर्रा्ष्ट्रिय उडान सेवा प्रदान गरिरहेका विमान कम्पनीले इन्धनको मूल्य बढी भएको गुनासो गरिरहँदा प्रतिवेदनले इन्धनको मूल्यका हिसाबले नेपाल विश्वकै ३९ औँ सस्तो देशका रूपमा रहेको उल्लेख गरेको छ ।

प्रतिवेदन अनुसार नेपालले सन् २०१८ मा प्रतिपर्यटक औसत ७७ हजार रुपियाँ (६७० डलर) आम्दानी गरेको उल्लेख छ। सो वर्ष कुल नौ लाख ४० हजार पर्यटक भित्रिएकोमा नेपालले ६२ करोड ९८ लाख डलर विदेशी पर्यटकबाट आम्दानी गर्न सफल भएको छ। पर्यटन क्षेत्रको आकार कुल गार्हस्थ्य उत्पादनको ३.६ प्रतिशत अर्थात एक अर्ब एक करोड डलर पुगेको प्रतिवेदनमा उल्लेख छ। यो क्षेत्रबाट चार लाख ५४ हजारले रोजगारी पाएको पनि उल्लेख गरिएको समाचार आजको गोरखापत्र दैनिमा छ ।