उद्योग मन्त्री यादव र बेलारुसका राजदुतबीच भेटवार्ता, के भयो कुराकानी ?

vetbarta
लाेकपाटी न्यूज

जनकपुरधाम, २६ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव र नेपालका लागि बेलारुसका गैर आवासिय महामहिम राजदुत एन्ड्रे ई जियसबीच भेटवार्ता भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयस्थित मन्त्रीको कार्यकक्षमा मन्त्री यादव र राजदुत जियसबीच भेटवार्ता भएको हो।

भेटघाटको क्रममा मन्त्री यादवले नेपालमा लगानीको लागि प्रशस्त अवसर रहेको र लगानीको वातावरणसमेत बनेको बताए। दुई ठूला देश भारत र चीनको बीचमा नेपाल रहेकोले ती बजारमा अतिकम विकसित राष्ट्रको नाताले विभिन्न सुविधाहरु रहेकोले लगानीको लागि नेपाल उपयुक्त स्थान भएको बताए।

द्विपक्षीय व्यापार र लगानीको क्षेत्रमा आवश्यक कार्य गर्न हाललाई दुबै पक्षबाट सम्पर्क व्यक्ति तोकेर अगाडि बढ्न सकिने विचार राख्दै मन्त्री यादवले बेलारुसलाई नेपालमा स्थायी दुतावास खोल्नसमेत आग्रह गरे।

जवाफमा राजदुत जियसले नेपाल र बेलारुसको सम्बन्ध राम्रो भएको तर यो पर्याप्त नभएकोले दुई देशबीचको सम्बन्धलाई व्यवसायिकस्तरमा विकास गर्न चाहेको बताए। वार्षिक ४०/५० हजार डलरको कारोवारबाट यसलाई माथि उठाउनुपर्ने विचार उनले राखे।

यसका लागि द्विपक्षिय व्यापार र लगानी बढाउनुपर्ने विचार समेत उनले राखे। बेलारुस खानी उद्योग, विज्ञान प्रविधि र ट्रक निर्माणमा विश्वमा नै अग्रस्थानमा रहेकोले ती विषयहरुमा बेलारुसबाट नेपालमा व्यापार र लगानी आउन सक्ने सम्भावना रहेको उनले बताए।

बेलारुसले नेपालमा गर्न सक्ने लगानी र व्यापारको क्षेत्र र वस्तुहरुको पहिचान गर्न सकिने बताउदै राजदुत जियसले यसमा नेपाललाई सहयोग गर्न बेलारुस तयार रहेको समेत बताए। यसको लागि केही संयन्त्रगत व्यवस्थाको आवश्यकता रहने पनि उनले बताए।

बेलारुसले यस प्रकारका कार्यहरु भारत र बंगलादेशसँग अगाडि वढाउँदा दुई पक्षीय आयोग गठन गरिएको र नेपालको सम्बन्धमा पनि सोहि प्रकारको संयन्त्र मार्फत् कार्य गर्न सकिने जानकारी गराए।