भरतपुर महानगरको आन्तरिक आम्दानी तीस करोड

bharatpur
लाेकपाटी न्यूज
0 Shares

चितवन, २७ भदौ। भरतपुर महानगरपालिकाको वार्षिक समीक्षा गोष्ठी शुक्रबार सम्पन्न भएको छ। भरतपुर महानगरपालिकाले गत आर्थिक वर्षमा अनुमान गरेभन्दा करिव तीस करोड रुपैयाँ बढी आन्तरिक आम्दानी गरेको छ।

राजश्व महाशाखा प्रमूख सिर्जना थपलियाका अनुसार, गत आवमा कूल एक अर्ब १७ करोड ९२ लाख रुपैयाँ अनुमान गरिएकोमा एक अर्ब ४७ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको हो। भरतपुर महानगरले गत आवमा कृषि प्रवद्र्धन अन्तर्गत ६५ लाख र दूध उत्पादनमा ३५ लाख गरी कूल एक करोड रुपैयाँ अनुदान वितरण गरेको छ।

आर्थिक तथा सामाजिक विकास महाशाखा प्रमूख प्रद्युम्न प्रसाद उपाध्यायका अनुसार, साना सिँचाईतर्फ ३० लाख, डीप बोरिङतर्फ १० लाख र बीउविजन आत्मनिर्भरताका लागि २५ लाख रुपैयाँ अनुदान दिइएको थियो। दूध उत्पादनतर्फ २५ पैसा प्रतिलिटरका दरले अनुदान दिइएको महानगरले जनाएको छ।

यस्तै, गत आवमा भरतपुर महानगरपालिकाले ११ जना नगर प्रहरी थप गरेको छ। महानगरका प्रमूख प्रशासकीय अधिकृत नेत्र सुवेदीले थप ११ जना नगर प्रहरी करारमा नियुक्त गरिएको जानकारी दिए। नगर प्रहरी व्यवस्थापन तालिम सञ्चालन गरिएको जानकारी दिँदै उनले डेंगु नियन्त्रणका लागि सकृयता बढाइएको बताए।

त्यस्तैगरि, भरतपुर महानगरपालिकाले गत आर्थिक वर्षमा पूर्वाधार विकास क्षेत्रतर्फ ५७ प्रतिशतमात्रै खर्च गरेको छ। पुँजीगततर्फ कुल विनियोजित बजेट एक अर्ब २९ करोड २२ लाख ४० हजार रुपैयाँ रहेकोमा ७३ करोड ९२ लाख ७० हजार रुपैयाँमात्र खर्च भएको थियो। कुल एक सय ६६ वटा नगरस्तरीय योजना रहेकोमा ४० वटामात्र सम्पन्न भएको भरतपुर महानगरले जनाएको छ।

कार्यक्रममा चालु आर्थिक वर्ष २०७६/७७ को योजना समेटिएको वार्षिक कार्ययोजना किताब सार्वजनिक गरिएको छ।
महानगरपालिकाले गत आर्थिक वर्ष २०७५/७६ मा गरेका कामहरूको बारेमा महानगरपालिकाका विभिन्न महाशाखा प्रमूखहरुले जानकारी गराएका थिए। महानगर क्षेत्रमा कार्यरत अन्य सरकारी कार्यालयका प्रमूखहरुले कार्य प्रगति र भावी योजनाबारे जानकारी दिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्