‘हाम्रो देश नेपाल हो, हामी नेपाली…’ स्वदेशगान सार्वजनिक

लाेकपाटी न्यूज

काठमाडाैं, ३१ भदाै। देशभक्ति भावले ओतप्रोत ‘हाम्रो देश नेपाल हो, हामी नेपाली…’ बोलको स्वदेशगान सार्वजनिक भएको छ।

अर्थ मन्त्रालयका कर्मचारी गोपाल पी खनालले लेखेकाे उक्त गीतको म्युजिक भिडियो सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच वरिष्ठ गीतकार रत्नशमशेर थापाले विमोचन गरेका हुन्।

उक्त स्वदेशगानमा कमल किरणको स्वर छ। गीत सार्वजनिक कार्यक्रमा बोल्दै गीतकार रत्नशमशेरले पछिल्लो समय कतिपय गीतले भन्न खोजेको अर्थ नै नबुझिने टिप्पणी गरे। खनालको स्वदेशगानको प्रशंसा गर्दै उनले शब्द, संगीत र स्वरको गतिलो संयोजन भए मात्रै गीत उत्कृष्ट बन्ने बताए।

प्रा.डा. गोविन्द पोखरेलले गीतले विभिन्न कारण विभाजित हुन लागेको समाजलाई यस्ता स्वदेशगानले एक हुन प्रेरणा मिल्ने धारणा राखे।

संगीतकार वसन्त सापकोटाले पछिल्लो समय गीतकार र संगीतकारलाई ओझेलमा पार्न खोजिएको भन्दै गुनासो गरे। उनले खनालको गीतले देशसँग आशावादी हुन सिकाउने प्रतिक्रिया दिए। सार्वजनिक स्वदेशगानमा सापकोटाले नै संगीत भरेका हुन्।

गीतकार खनालले गीत–संगीतमा रुचिका कारण आफूले कार्यालयको कामको व्यतस्ताबीच पनि समय छुट्टाएर गीत लेख्ने गरेको बताए। खनाल लामो समयदेखि गजल र मुक्तक लेखनमा सक्रिय छन्। खनालले भने, ‘यो गीत मैले भूकम्प गए लगत्तै लेखेको हुँ। नेपाललाई एकतामा बाँध्ने उद्देश्यले यो गीत लेखेको हुँ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्