संविधान रामायण, कुरान वा बाइबल होइनः मन्त्री बाँस्कोटा

gokul-baskota
लाेकपाटी न्यूज

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संविधान एक परिवर्तनीय दस्तावेज भएको बताएका छन्। आज सरकारका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले आवश्यकता र औचित्य पुष्टि भए संविधान संशोधन हुने बताएका हुन्।

तर उनले कसैलाई रहर लाग्दैमा भने संविधान सं‌शोधन नहुने जीकिर गरे। ‘संविधन परिवर्तन नै नहुने रामायण, कुरान अथावा बाइबल होइन। राष्ट्रको जीवनमा कहीं असर पार्छ भने त्यसलाई संशोधन गर्ने हो,’ मन्त्री बाँस्कोटाले भने, ‘बाटोमा हिँड्दै गर्दा कसले के सपना देख्छ अनि संविधान संशोधन गरौं भन्यो भन्दैमा संविधान संशोधन हुँदैन। संविधान रहर लागेर संशोधन हुने विषय होइनl’

सरकार विरोधी तत्वतर्फ संकेत गर्दै उनले केहीलाई संविधान पूरै मन नपरेको उल्लेख गर्दै भने, ‘कसैलाई त यो संविधान त पूरै मन परेको छैन। भन्न र गर्नमात्र नसकेका हुन्।’ सत्तामा जान लालाहित पनि हुने र संविधान पनि नमान्ने कुरा वर्तमान सरकारका लागि ग्राह्य छैन। उनले भने, ‘सरकारमा बस्न कसलाई मन लाग्दैन र ? सरकारमा बस्नेले संविधान मान्नुपर्छ र सरकारले पनि संविधानको पूर्णपालना गर्नुपर्छ।’