हिन्दू संस्कार र सोह्र श्राद्ध

madan pangali
लेखक : मदन पंगाली
मृत्यु संस्कार गर्दा सेतो नसिलाएको कपडा लगाउनु भनेको बिरालो थुनेर श्राद्ध गर्नुजस्तो हो । तत्कालिन समयमा सिलाई औजार वा मेसिन नहुने हुँदा हाम्रा पुर्खाले नसिलाएको कपडा लगाउनु बाध्यता थियो ।
लाेकपाटी न्यूज
4 Shares

– मदन पंगाली
संस्कार भनेको शुद्धीको (शुद्ध हुने) क्रिया हो । संस्कार शब्दको उत्पति संस्कृत शब्द अपभ्रम्स हुँदै संस्कार भएको देखिन्छ । हिन्दु धार्मिक ग्रन्थ स्मृती चन्द्रिका अनुसार संस्कार प्रमुखतः सोह्र वटा छन् । यो संस्कारलाई षोडससंस्कार भनिन्छ ।

संस्कार जन्मपूर्व वीर्य शुद्धी, जन्मेपछि मृत्युपर्यन्त जीवन शुद्धी र मृत्युपछिको आत्मा शुद्धताको लागी साथै घर र कुल अशुद्ध भएको हुन्छ । त्यसले यज्ञ वा हवन अग्नी तथा जलको प्रयोग वैदिक मन्त्रहरुको उच्चारण एवं पुरोहितको वचन आदिबाट अशुभको नाश गरी शुद्ध हुन्छ भन्ने अन्धविश्वासका कारण संस्कार गरिन्छ । मानिसका जीवनका आधारमा १६ संस्कारलाई तीन भागमा विभाजन गर्न सकिन्छ ।

जन्मनु अघिका संस्कार गर्भाधान, पुंसवन र सिमन्तोनयन जन्मेदेखि मृत्युपर्यन्तका संस्कार जातकर्म, विधारम्भ, नामाकरण, निश्क्रमण, अन्नप्रासन चुडाकर्म, कर्णभेद, उपनयन, वेदारम्भ, केशान्त, विवाह र मृत्युपछिको संस्कार मृत्यु संस्कार हुन् । हिन्दु संस्कार प्रमुखतः जातिय शुद्धतासँग सम्बन्धित बनाइयो । हिन्दू धार्मिक ग्रन्थ शिधा शिधा ‘जन्मना जातेय शुद्र संस्कारत द्धीज उच्चेत’ भन्दछ । यसको अर्थ मानिस जन्मिँदा शूद्र भएर जम्मिन्छ संस्कार गरेपछि उपल्लो जातमा उक्लन्छ भन्ने हो । जसरी पंक्षी एक पटक अण्डाका रुपका जन्मन्छ र पछि चल्लाका रुपमा जन्मन्छ । मानिसले यो वास्तविकतालाई मानिसको काल्पनिक दोस्रो जन्मको आधार बनायो ।

आज पुरानो संस्कार गर्नुपर्छ भन्ने मानिसहरु पनि सोह्र संस्कारमा ४—५ वटा मात्रको कर्मकाण्ड गर्दछन् । संस्कारहरु अनावश्यक, झण्झटिला, अविश्वसनीय, अवैज्ञानिक, विभेदपूर्ण र खर्चालु भएका कारण मानिसहरु संस्कार गर्न छाडेका छन्। आज गरिने संस्कारहरु मृत्यु, विवाह, नामाकरण, अन्नप्रासन र उपनयन मात्र हुन् । यी गरिएका संस्कार पनि पूर्णत विधि विधानअनुसार गर्न छाडिँदैछ । अन्धविश्वासका आधार बनाएका यी संस्कार पूर्णतः लैंङ्गिक र जातीय विभेदपूर्ण पनि छन्।

उपनयन क्रिया गर्नु भन्दा अगाडिसम्म सँगै बसेर खान मिल्ने क्षेत्री र वैश्य दाजुभाइ माथि उपनयन क्रिया पछि छुवाछुतको व्यवहार गर्न थालिन्छ । आफू फरक प्रजाती भएको देखाइन्छ । वेदारम्भ संस्कार पछि त परिवारभित्रै जातीय विभाजन हुन्छ । ब्राहमण बाहेक अरु सबै वर्णलाई र महिलालाई पनि सबै संस्कार गर्ने छुट हुँदैन त्यसैले कथित जातीय तह पनि उक्लँदैनन्। यसरी जातीय विभेद तीनैमाथि गरिन्छ ।

म यहाँ मृत्यु संस्कारमा केन्द्रित हुन चाहन्छु । मृत्यु संस्कार सबभन्दा पुरानो संस्कार हो । यो संस्कार उत्तर ढुङ्गे युग देखि सुरु भएको वैज्ञानिक मत छ । उत्पादन सम्बन्ध र सामाजिक वर्ग सापेक्ष मृत्यु संस्कारमा पनि परिवर्तन भइरहेको छ । आदिम मानिसमा मानिस मरेपछि कहाँ जान्छ भनेर जिज्ञासा उठ्नु अस्वभाविक थिएन । मानिसले रुखको पात झरेर मृत समान भएको र पालुवा पलाएको देख्यो । मानिसका लागी यो पुनर्जन्म थियो । विरुवामा कुनै जीवित चिज बाँचेको बुझ्यो । अब मानिसले मानिसमा पनि शरीरभन्दा छुट्टै कुनै आत्मा हुन्छ भन्ने कल्पना गर्यो । यसका साथै आत्मा, परमात्मा, स्वर्ग, नर्क, पनर्जन्म, पूर्वजन्म र ईश्वर हुन्छ भन्ने मान्यो ।

फ्रेडरिक एंगेल्स भन्दछन्, ‘धर्म वास्तविकताको विकृत र कपोलकल्पित प्रतिविम्ब हो । रुखको पात झर्नु र पालुवा पलाउने विषयलाई मृत्यु हुनु र पुनर्जन्म पाउने कल्पनाको आधार बनायो । नर्क, पुनर्जन्म र पुर्वजन्मको भ्रम छरेर मानिसलाई त्रसित पारियो । आदिम मानिसमा मृत मानिसको निर्जीव शरिरसँग भाँडाकुँडा, अन्न, पैसा, दास र श्रीमती आदिलाई गाड्ने चलन थियो । त्यस समयसम्म मानिसले पूर्ण रुपले मानिसभन्दा छुट्टै आत्माको कल्पना गरेन । जव आत्मा सर्वव्यापी र अमर छ भनेर सोच्यो । श्रीमती बाहेक धन सम्पत्ति ब्राहमणलाई दिँदा अर्को लोकमा मृतकले पाउँदछ भन्ने मान्यता बसाल्यो ।

संसार ईश्वरबाट नियन्त्रित हुन्छ, ईश्वर तन्त्रमन्त्रबाट नियन्त्रण हुन्छ र तन्त्रमन्त्र ब्राहमण वा पूरोहितबाट नियन्त्रित हुन्छ भनेर ब्राह्मणले आफूलाई छद्म रुपले भगवानभन्दा माथि राख्यो । त्यहाँ पुग्न संस्कार गर्नुपर्छ भन्यो । बिरुवाको पात झर्नुसँग संस्कार गर्दा दारी कपाल र नङ काट्नु र पलाउनु अर्को जन्म भएको प्रतिविम्बित गरियो। साथै किरिया बस्दा वा अन्य संस्कार गर्दा अर्कोसँग छोइनु हुन्न भनेर छुत हुन र अछुत हुन प्रशिक्षित गरियो । मृत्यु संस्कार गर्दा सेतो नसिलाएको कपडा लगाउनु भनेको बिरालो थुनेर श्राद्ध गर्नुजस्तो हो । तत्कालिन समयमा सिलाई औजार वा मेसिन नहुने हुँदा हाम्रा पुर्खाले नसिलाएको कपडा लगाउनु बाध्यता थियो ।

आज पनि पछाडि परेका विभिन्न जाती समुदाय र महिलाले पनि नियमित वा सांस्कृतिक रुपमा नसिलाएको वा कम सिलाएको कपडा लगाउँदछन्। त्यस्तै चप्पल र रंगिन कपडा नभएर नलगाउनु अस्वभाविक थिएन । हिन्दु आर्यहरुको एउटै खलकबाट विभाजित भई एउटा खलक महिषपालकहरु दक्षिणतर्फ यमराजलाई देवता मान्दै लागेको र अर्का गोपालको खलक महादेवलाई देवता मान्दै उत्तर तर्फ लागेको देखिन्छ । भौगोलिक सुगमताका कारण भैसी पाल्नेहरु दक्षिण तर्फ लाग्नु र भिर पाखामा पनि हिड्न सक्ने भएकाले उत्तर तर्फ गाई पाल्नु अस्वाभाविक थिएन । यमराजको वाहन राँगो र महादेवको वहान गोरुलाई मानिन्छ । तिनै दुई खलक बीच लडाइँ पर्दा एकले अर्कोलाई राक्षसका रुपमा लिनु स्वभाविकै थियो ।

मानिसलाई मात्र होइन त्यहाँका जीवन जिउने सामाग्री पनि अशुद्ध मान्न थालियो । त्यसैले दक्षिणबाट आउने नुन, लसुन प्याज, मसुरो चामलबाट बनेका परिकार अन्य फलफूल र भैंसीको दुध र दुधबाट बनेका परिकार उत्तरमा बस्नेलाई अशुद्ध भयो । उत्तरमा उत्पादित खाना फलफूल र गाईको दुध र दुधबाट बनेको परिकार उत्तरमा बस्नेलाई शुद्ध हुने भयो । उत्तरको नुन (शीला नुन) पनि शुद्धै थियो । दक्षिणको खलकलाई उत्तरबाट आउने बेसार अशुद्ध थियो । उत्तरकाले बाँसबाट बनेको डालो फोडेर उम्कने भयो भने दक्षिणकाले माटाको गाग्रो फोडेर उम्कने भयो । यसका लागी उत्तरमा बाँस हुनु र बाँसका भाँडा बनाउनु सहज थियो भने दक्षिणकालाई माटाका भाँडा बनाउनु सहज थियो ।

त्यसैले दक्षिणबासी तिनै माटाका भाँडा फोडेर उम्कने बने । गरुड पुराणमा व्याख्या गरिएको वैतरणी नदी भारतको उडिसा राज्यमा पर्दछ । दक्षिणका यमराजका मानिसहरुको आक्रमणबाट पराजित गोपालहरु बिजयीलाई कर स्वरुप विभिन्न सामाग्रीहरु जम्मा गर्न प्रतिनिधि राख्नु र तिनै प्रतिनिधिले यमराज र यमराजका सेनाले गर्ने विभिन्न क्रुर सजायको ब्याख्या गर्दै कर जम्मा गर्ने विषयलाई पछि टाठाबाठाहरुले जिउने कलाको रुपमा त प्रयोग गरेनन् भनेर अनुमान लगाउनु अस्वभाविक हुँदैन ।

मृत्यु संस्कारका लागी तेह्र दिनसम्म बसिने किरियापुत्रि र श्राद्ध र वार्षिक तिथिका गरिने श्राद्धलाई समेत अपूर्ण मान्दै चन्द्रमास अनुसार आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मको श्राद्ध समूहलाई सोह्र श्राद्ध भनिन्छ । दशैंको नवदुर्गामा गरिने नौ महिलाको पूजाका विरुद्धमा पितृसत्तावादीहरुले पितृ पूजा गर्न सोह्र श्राद्ध (पितृ पक्ष) लागू गरिएको हो । आमा (महिला) को छुट्टै अस्तित्व नस्विकारिएको सोह्र श्राद्धमा बाबुको मृत्युको तिथिमा श्राद्ध गरिन्छ । आमालाई त धामी राखी मरे डाहिनी घोषित गरी खरानीको पीण्ड दिने संस्कार छ हामीमा ।

दशैंको दुर्गाको महिमाको ठाँउमा पुरुष रामको महिमा थुपार्दै मातृसत्तात्मक संस्कृति ओझेलमा पार्ने प्रयास गरियो । यसका साथै गरुड पुराण मनुस्मृति जस्ता ग्रन्थका दुहाई दिँदै पुरोहितहरु सोह्र श्राद्ध मान्न लगाए र पुरोहित आफू पालिने सजिलो अवसर बनाए सोह्र श्राद्धलाई । मृत्यु संस्कारमा हुने शरीरभन्दा भिन्दै आत्मा पुनर्जन्म पूर्वजन्म स्वर्ग नर्क जस्ता गलत चिन्तन र अन्धविश्वासका आधारमा गरिने क्रियाकलाप क्रियापुत्री बस्नु, कोरा बार्नु, ढिकुरो फोड्नु, दशदान, संयादान, पिण्डदान गर्नु, गरुड पुराण लगाउनु, आतुरी दान, वैतरणी गर्नु, प्रत्येक वर्ष श्राद्धको कर्मकाण्ड गर्नु पर्ने विषय नितान्त भ्रामक, अवैज्ञानिक र रुढिवादी क्रियाकलाप हुन्।

संस्कारको अध्यात्मिक विश्लेषणको सट्टा भौतिक विश्लेषण गर्दै रुढीवादी र अन्धविश्वासपूर्ण आधार मेटाउँदै भौतिक आधारमा उभ्याउँदै आवश्यक पक्ष लिँदै अनावश्यक पक्ष छोड्दै जानु पर्दछ । मृत्यु संस्कारमा मृतकको शव गाड्नु वा पोल्नु श्राद्ध भोज गर्नु, श्रद्धाञ्जली दिनु आवश्यक छ । मृतकको सम्झनामा पाटी पौवा, चौतारो, फलैँचा आदि निर्माण गरिदिन्थे हाम्रा पुर्खा । ११ दिनका दिन पीपलको डालामा पानी हाल्नु चौतारो निर्माण गर्ने विषयको सांस्कृतिकअवशेष त होइन ।

सबै ठाँउमा प्रशस्त पानी नहुँदा खोलामा जानु र सधैं पिपलको बिरुवा सुलभ नहुँदा डालाले काम चलाउन त थालिएन ? आज हामीले पनि मृतकको सम्झनामा क्षमता अनुसार विद्यालय, अस्पताल, वृद्धाश्राम, पुस्तकालय, प्रतिक्षालय, पार्क, स्मृती हल र अक्षयकोष निर्माण गरी छात्रवृत्ति दिने जस्ता प्रगतिशील काम गर्न सके मृतकलाई सच्चा श्रदाञ्जली हुनेछ ।

मृतकलाई मृतकका परिवारले मात्र होइन अरुले पनि सम्झने छन् । समाजलाई पनि फइदा पुग्ने छ । तर, पुरानो संस्कार गर्दा मृतक आफ्ना आपराधिक कामका कारण मुक्त हुन सकेको हुँदैन । त्यसले छोराले किरिया श्राद्ध गरेर दान गर्दा मुक्त हुन्छ भनिन्छ । यसरी यो संस्कारले दयालु, परोपकारी, दानी, समाजसेवी, नैतिकवान्, मृतकलाई अपराधीको कोटीमा राखी मुक्ति दिलाउन भनी संस्कार दिने गर्दछ । यो मृतकलाई गरिएको अपमान बाहेक अर्को अर्थ लाग्दैन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्