कपास उद्योगमा आगलागी

Fire
सांकेतिक तस्विर
लाेकपाटी न्यूज

काठमाडौं, ५ असोज। सूर्यविनायक नगरपालिका २ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आज बिहानै आगलागी भएको छ।

भोजपुरको षडानन्द नगरपालिका४ दिङ्लाकी सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा कोही कामदार नभएको बेलामा बिहान ५ः०० बजे सल्किएको आगो फैलिएर पुराना कपडाबाट रुवा बनाउने उक्त उद्योगमा आगो लागेको कामदारले बताएका छन्।

के कारणले आगलागी भयो भन्ने यकिन नभए पनि आगलागीका क्रममा उद्योगमा रहेको ग्यास सिलिन्डरसमेत विस्फोट भएपछि कारखानामा आगो फैलिएको थियो।

काठमाडौं र भक्तपुरको वारूणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी बृत्त थिमिले जानकारी दिएको छ।आगलागीबाट कारखानामा रहेका कपडा, कपडा पेलेर बनाइएको कालो कपास, मेशिन, औजार र अन्य सामान जलेर नष्ट भएका छन्।

प्रहरी वृत्त थिमिमा प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले आगलागीका कारण खुलिनसकेको र घटनाको अनुसन्धान भइरहेको बताए।

उनीले आगलागीबाट करीब रु २५ लाख बराबरको क्षतिको अनुमान भएको र क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्