इलाम कारागारका कैदीहरु एकै पटक बिरामी

jail-1
लाेकपाटी न्यूज

काठमाडौं, ६ असोज,। इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन् ।
केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदी संक्रमित भएका हुन्।

कैदीलाई टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने लक्षण देखा परेको कारागार प्रमुख प्रदीप श्रेष्ठले जानकारी दिए। ‘एकैपटक ठूलो संख्यामा कैदी बिरामी परेपछि उपचारमा समेत धौ–धौ परेको छ’, श्रेष्ठले भने, ‘धेरै कैदीबन्दी बिरामी परेपछि इलाम अस्पतालबाट चिकित्सकको टोली लगेर कारागारमा नै उनीहरुको उपचार गरिएको छ।’

कारागार साँघुरो भएकाले पनि कैदीलाई सहज उपचार गर्न सकिएको छैन्। कारागारको क्षमताभन्दा दोब्बर कैदीबन्दी भएकाले पनि उपचार सेवामा कठिनाइ भएकाले रोग सर्दै गएको हो।‘शनिबार ७८ मात्र बिरामी थिए। आइतबार बढेर १ सय ५७ पुगेको छ’, श्रेष्ठले भने, ‘अरू कैदीलाई पनि जोगाउन साह्रै गाह्रो भएको छ।’

कारागारमा हाल २६० कैदी रहेका छन्। जहाँ १०० पुरुष र २५ महिलाको क्षमता रहेको कारागारमा २३७ पुरुष, २१ महिला र दुई नाबालक छन्। कारागारमा ११ जना कर्मचारीको दरबन्दी छ। कार्यालयमा चार जना कार्यालय सहयोगी रहे पनि कार्यालय सहयोगीनै अपुग हुने गरेको श्रेष्ठ बताए।

‘कैदीबन्दीलाई बाहिर निकाल्दा एकजना पठाउनै पर्छ’, उनले भने, ‘२४ सैँ घण्टाजस्तो ड्युटी पर्छ। यहाँ भएको जनशक्तिले धान्न गाह्रो छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्