नेकपाले चिनियाँ कम्युनिष्ट पार्टीकाे अनुशासन सिक्नुपर्छ : प्रचण्ड (सम्वोधनको पूर्णपाठ)

Prachanda chitwan
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिष्ट पार्टीको पार्टी अनुशासनबाट नेपालका कम्युनिष्टहरुले शिक्षा लिनुपर्ने बताएका छन्। सोमबारबाट सुरु भएको विचारधारात्मक छलफल कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन्।

चिनियाँ कम्युनिष्ट पार्टीका अनुभवहरुबारे नेकपाका नेता कार्यकर्ताबीच बहसका लागि आयोजना गरिएको कार्यक्रममा प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीसँग ९ करोड पार्टी सदस्य भएको र त्यहाँको उच्च अनुशासन विश्वकै लागि नमूना भएकोसमेत उल्लेख गरेका छन्।

प्रचण्डले आफ्नो सम्वोधनमा नेपाल र चीनको सम्वन्ध १६ सय वर्ष पुरानो रहेकोमा जोड दिँदै भृकुटीदेखि स्थापित नेपाल–चीन सम्वन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। उनले सन् १९५५ मा नेपाल–चीनबीच दौत्य सम्बन्ध स्थापित भएयता सधैं अहस्तक्षेप, सार्वभौम समानता, मित्रता र असल छिमेकीको सम्वन्ध रहेकोसमेत स्मरण गरेका छन्।

प्रचण्डले सम्वोधनमा एक चीन नीतिप्रति नेपालको प्रतिवद्धता फेरि दोहोराएका छन्। उनले बिआरआइले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई जनस्तरमा जोड्न र समृद्धिको कडीका रुपमा स्थापित गर्न सहयोग पुग्नेसमेत विश्वास व्यक्त गरेका छन्।

प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीले हासिल गरेको समृद्धि र समाजवादको बाटोप्रति नेकपाको ऐक्यवद्धता जाहेर गरेका छन्। ९ करोड पार्टी सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीले अन्तरपार्टी जनवाद र अनुशासनका क्षेत्रमा हासिल गरेको सफलता विश्वभरिकै कम्युनिष्टका लागि सिक्नलायक भएको उनको तर्क छ।

‘चिनियाँ शैलीको समाजवादबाट हामीले के सिक्न सक्छौं भन्ने कुरा विज्ञहरुबाट आउनेछ’ प्रचण्डले भनेका छन्। उनले बिना शत्रुता समाजवादको जग हाल्ने नीतिबाट नेपालले प्रशस्त शिक्षा लिनसक्ने समेत उल्लेख गरेका छन्।

यस्तो छ प्रचण्डको सम्वोधन (पूर्णपाठ)

कमरेड सोङ थाओ
चिनियाँ कम्युनिष्ट पार्टीका यहाँ उपस्थित कमरेडहरु
नेकपा सम्वद्ध कमरेडहरु
न्यानो अभिवादन !

चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीका बीचमा आपसी अनुभव आदान–प्रदान गर्न आयोजित यस कार्यक्रमप्रति खुसी व्यक्त गर्दछु। चिनियाँ कम्युनिष्ट पार्टीले हासिल गरेको सफलताले विश्वभरीका कम्युनिष्टलाई गौरवान्वित बनाएको छ। कम्युनिष्ट पार्टी स्थापनाको झण्डै १०० बर्ष र जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वर्षगाँठको यस अवसरमा सम्पूर्ण चिनियाँ जनता र कमरेड सि जिन पिङ नेतृत्वको कम्युनिष्ट पार्टीका सबै कमरेडहरुलाई म हार्दिक बधाई दिन चाहन्छु। साथै समृद्ध, सबल र सुसंस्कृत, चिनियाँ विशेषतासहितको समाजवादी चीन निर्माण गर्ने महान् अभियानमा अझ व्यापक सफलता मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।

नेपाल र चीनबीच सदियौंदेखि जनस्तरको सम्बन्ध रही आएको छ। अभिलेखित इतिहास अनुसार चिनियाँ महान् बौद्ध भिक्षु फाँसियानको लुम्बिनी यात्रा, नेपालका बौद्ध विद्वान बुद्धभद्रको चीन यात्रा, चिनियाँ बौद्ध विद्वान वेन साङ्को लुम्विनी यात्रा र नेपाली राजकुमारी भृकुटीको तिब्बती राजासँगको विवाह जस्ता पाँचौं शताब्दीको सुरुदेखि सातौं शताब्दी भित्रका घटनाले १६०० वर्ष अघिको हाम्रो सांस्कृतिक सम्बन्धको गहिराइ आँकलन गर्न सकिन्छ। १३ औं शताब्दीमा नेपाली कलाकार अरनिकोको नेतृत्वको टोलीले बनाएको बेइजिङ शहरको मध्यभागमा रहेको विशाल श्वेत चैत्य र उथाइसानको श्वेत चैत्य हाम्रा ऐतिहासिक सम्वन्धका शिखर नमुना हुन्। त्यही ऐतिहासिक विरासतमा उभिएर सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भए पछि नेपाल र चीनबीच आधुनिक सम्बन्ध निरन्तर विकास हुँदै आएको छ। एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेप, सार्वभौम समानता, समझदारी, मित्रता र असल छिमेकीपन हाम्रा सम्वन्धका आधारभुत मान्यता हुन् ।

नेपालले शब्दमा मात्र होइन व्यवहारमै एक चीन नीतिलाई दृढतापुर्वक अवलम्वन गरेको छ र नेपाली भूमिमा चीन विरोधी गतिविधि नसहने नीति हाम्रो सम्वन्धको एक आधारभूत कडी हो। नेकपाको वैदेशिक नीतिमा हामीले यो विषय स्पष्ट ढंगले उल्लेख गरेका छौं। नेपालको आर्थिक सामाजिक विकासमा चीनको सहयोग एकदमै महत्वपुर्ण छ। म चीनको उदार सहयोगको लागि हार्दिक धन्यवाद दिन चाहन्छु। चिनियाँ सरकार र जनता चीनका महामहिम राष्ट्रपति सि जिन पिङले अगाडि सारेको बिआरआई (Belt and Road Initiative) ले नेपालका लागि पुर्वाधार विकासको अपरिहार्य आवश्यकता, कृषिको आधुनिकीकरण, औद्यौगिकरण तथा सामाजिक विकासका लागि चाहिने पूँजी र प्रविधिमा पहुच बढाइदिन्छ। त्यसैले बढो सोचीविचारी विआरआइ सम्वन्धी साझा समझदारीपत्रमा मेरै प्रधानमन्त्रीत्व कालमा हस्ताक्षर गरेका हौं। हालका दिनमा विआरआईको फ्रेमवर्कमा रहेर उच्च तहमा राजनैतिक समझदारी, आर्थिक क्रियाकलाप र सांस्कृतिक तथा जनस्तरको सम्वन्ध निरन्तर विकासित हुन गइरहेको छ। हालै नेपालका सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको ऐतिहसिक राजकीय भ्रमण, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण तथा चीनका स्टेट काउन्सलर तथा परराष्ट्रमन्त्री वाङ यी को नेपाल भ्रमणले यो प्रक्रियालाई नयाँ उचाई तिर लगिरहेका छन्। यस पृष्ठभूमिमा सरकारले यथोचित तयारी गरी चीनको तर्फबाट ऐतिहासिक उच्चस्तरीय भ्रमण गराउने कुरामा हामी विश्वस्त छौं।

कुनै पनि राजनैतिक प्रणाली जनताको जीवनस्तर उकास्ने एक साधन मात्र हो, साध्य होइन। राजनैतिक प्रणाली समाज विकासको विशिष्ट आवश्यकताको उपज हो। त्यसैले इतिहासका विभिन्न कालखण्डमा समाजको विशिष्ट आवश्यकता अनुसार राजनैतिक प्रणाली वा वादको जन्म र विकास भएको पाइन्छ । युरोपको औंद्योगिक क्रान्ति र पूँजीवादको तीव्र विकाससँगै श्रमको चरम दोहनको जगमा माक्र्सवादको जन्म भयो ।

मार्क्सवादकै आलोकमा जनवादी क्रान्ति सम्पन्न गरी चिनियाँ विशेषता सहितको समाजवाद निर्माणको मौलिक मार्ग मार्फत आर्थिक विकासको नयाँ उचाई हासिल गरेको चीनबाट मानव जातिले शान्ति, स्थिरता र समृद्धिको उचित अपेक्षा गरेको छ। चिनियाँ शैलीको समाजवाद बारे अहिले विश्वब्यापी बहस चलिरहेको छ। राजनैतिक रुपमा चिनियाँ कम्युनिष्ट पार्टीले सत्तामा बसिरहने बैधता (Legitimacy) जनताको अपेक्षा पुरा गरेको (Delivery) आधारमा प्राप्त हुन्छ भन्ने मान्यता राख्छन्। संसारको कुनै शासन प्रणालीले दिन नसकेको चिनियाँ जनताको आत्मसम्मान, गौरव र तीव्रतम् गतिको आर्थिक विकास जनतालाई चिनियाँ कम्युनिष्ट पार्टीले दियो। ९ करोड सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको अनुशासनको पालना निक्कै उदाहरणीय रहेको छ । कम्युनिष्टहरुमा अनुशासन भएन भने कुनै पनि रुपान्तरणको नेतृत्व गर्ने नैतिक शक्ति बाँकी रहँदैन। विचारको स्पष्टता र संगठनात्मक अनुशासन नै कम्युनिष्ट पार्टीको औचित्यका प्रमुख आधार हुन्। महासचिव सी जिन पिङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले गरेको विकासको मूल आधार यसैमा निहित रहेको छ।

चिनियाँ शैलीको समाजवादबाट हामीले के सिक्न सक्छौं भन्ने विस्तृत जानकारी विज्ञहरुबाट आज र भोलिको छलफलमा तपाई नेकपाका सदस्यहरुले पाउनु हुने नै छ। राष्ट्रपति सि ले कनेक्टिभिटि, साझा प्रयत्न, साझा लगानी र उपलव्धीमा साझा स्वामित्वबाट दीगो अन्तर्राष्ट्रिय सम्वन्ध तथा साझा समृद्धि हासिल गर्न सकिन्छ र हाम्रो भविष्य अन्तरनिर्भर छ भन्ने दृष्टिकोण अगाडि ल्याउनु भएको छ। चिनियाँ शैलीको समाजवादबाट समुन्नत चीन निर्माण गर्ने लक्ष्य हासिल गर्न र चीनको विकासलाई चुनौती ठान्नेहरुसँग बिना शत्रुता विकासको चाहना गरेका तर साधन र क्षमता नभएका विकासोन्मुख मुलुकलाई साथै लिएर अगाडि बढ्न बाटो अवलम्वन गरेको देखिन्छ।

समाजवादमा कम्युनिष्टले जनताको सेवा गरेर उनीहरुको मन जितेर मात्र शासनको बैधता प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ। तर शासनमा बस्नेहरु बिस्तारै अनुशासनमा नबस्ने र जनताको सेवा गर्न भन्दा धनीमानीको पक्षमा वा सुखसुविधामा लागेमा कम्युनिष्टको शासन गर्ने बैधता समाप्त हुन्छ। त्यसैले जनताको मन जित्न सक्षमलाई नेतृत्व सुम्पने र निरन्तर जनताको समर्थन पाउन अनुशासनमा रहनुपर्दछ।

समाज समृद्ध हुनका लागि साँस्कृतिक रुपले समुन्नत हुनुपर्छ भन्ने मान्यताले महान् चिनियाँ सभ्यताको पुनर्जागरणलाई समाजवादी समाज विकासका अपरिहार्य शर्तका रुपमा महासचिव सि जिनपिङले अगाडि सार्नुभएको छ। यिनै आधारभूत विशेषताका कारण महासचिव सि जिन पिङ बिचार आज विश्वव्यापि बहसको विषय बनिरहेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको लामो अनुभवबाट समेत शिक्षा लिँदै हामीले नेपाली विशेषता अनुसार कम्युनिष्ट पार्टीको नेतृत्वमा नेपालको राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्ने र समाजको राजनैतिक, आर्थिक र साँस्कृतिक रुपान्तरण गर्ने प्रयत्न गर्दै आएका छौं। कम्युनिष्ट पार्टीको नेतृत्वमा नेपाली जनताले चलाएको सशस्त्र र शान्तिपूर्ण संघर्ष एवम् वलिदानको लामो श्रृंखला पश्चात नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको स्थितिमा आइपुगेको छ।

इतिहासका सबै सकारात्मक र नकारात्मक अनुभवहरुको समिक्षा सहित नेपालका दुई प्रमुख कम्युनिष्ट पार्टीहरुको एकताले नेपाली जनतामा स्थिरता र समृद्धिको नयाँ आशा र भरोसाको सन्देश दिएको छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्न अहिले शान्तिपूर्ण प्रतिष्पर्धा र लोकप्रिय मत सहित सरकारको नेतृत्व गरिरहेको हाम्रो नेपाल कम्युनिष्ट पार्टीले जोड लगाइरहेको छ। सामाजिक न्याय सहितको आर्थिक समृद्धि मार्फत समाजवादको आधार तयार पार्ने हाम्रो स्पष्ट रणनीति रहेको छ। नेपालको संविधानले नै समाजवाद उन्मुख राज्यको ठोस दिशानिर्देश गरेको छ।

यस सन्दर्भमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीको यो अन्तरसम्वाद कार्यक्रमले एक अर्काका अनुभवबाट सिक्ने र आ–आफ्ना विशेषता अनुसार समाजवाद निर्माणको दिशामा अगाडि बढ्न प्रेरणा मिल्ने विश्वास मैले लिएको छु। यस कार्यमा सफलताको शुभकामना सहित आफ्नो मन्तव्य अन्त्य गर्छु। धन्यवाद !

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्