चीनसँगकाे अन्तरक्रियामा कांग्रेस आत्तिन जरुरी छैन : नेता चाैलागाईं

yubraj Chaulagai
लाेकपाटी न्यूज

काठमाडौं, ८ असोज। नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाईले नेपाली कांग्रेसलाई चीनसँग जोडेर कोकोहोलो गर्नुको कुनै अर्थ नरहेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत् यस्तो धारणा राखेका हुन्।

नेकपाको स्कूलिङ विभाग र चिनीयाँ कम्युनिष्ट पार्टीको विदेश विभागको संयुक्त आयोजनामा भएको विचार आदानप्रदान कार्यक्रमलाई लिएर कांग्रेसले नेकपालाई चीनप्रस्त भएको आरोप लगाउँदै आएको छ। पार्टीको विदेश विभागमासमेत रहेर काम गर्दै आएका नेता चौलागाईले त्यसको खण्डन गरेका छन्।

उनले लेखेका छन्, ‘आफैं सोसलिष्ट इन्टरनेसनल नामक पूँजीवादी दलहरुको अन्तर्राष्ट्रीय सञ्जालमा रहेको नेपाली काँग्रेसले नेकपालाई चीनसँग जोडेर कोकोहोलो गर्नुको कुनै अर्थ छैन। हामीले आफू माक्र्सवादी र कम्युनिस्ट रहेको कहिल्यै लुकाएका छैनौं र त्यहि नाम र घोषणापत्रको आधारमा नेकपाले व्यापक जनमत हासिल गरेको छर्लंग्गै छ। नेकपा चिनियाँहरुलाई भेटेपछि एक्कासी कम्युनिस्ट भएको होइन।

जहॉँसम्म नेपाल अब चीनवादी भयो, असंलग्न रहेन भन्ने तर्क छ। त्यो दूराशयपूर्ण छ। नेपाल असंलग्न परराष्ट्र नीतिप्रति पहिलाजस्तै प्रतिबद्ध छ र नेपाल नेपालवादी मात्र हुन सक्छ। यो कुरा बुझियोस् कि भर्खरै नेपाल आएको चिनियाँ प्रतिनिधी मण्डलले चीन सरकारको होइन, चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधित्व गरेको हो।

काठमाडौं सहमति वा अन्य कार्यक्रमहरु सरकारी होइन, नेकपाको तह र हैसियतमा भएका हुन्। यती सरल तथ्यहरुलाई बाँगोटिंगो पारेर छिमेक मामलामा अनावश्यक बोल्नु स्वयं कांग्रेस र मुलुकको हितमा छैन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्