दशैंका लागि भोलिदेखि नयाँ नोट साट्न पाइने, कुन-कुन ठाउँमा साट्न सकिन्छ ?

Money
लाेकपाटी न्यूज
0 Shares

काठमाण्डौं, ८ असोज। दशैंको लागि भोलि बिहीबारदेखि नयाँ नोट साट्न पाइने भएको छ। दशैंमा साना दरका नयाँ सुकिलो नोटको माग उच्च हुने विगतको अनुभवलाई ध्यानमा राखी विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत् सटहीको सुविधा उपलब्ध हुने नेपाल राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यलयमा नयाँ नोट उपलब्ध हुने जनाएको छ। यस्तै राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका काठमाडौं उपत्यकामा रहेका विभिन्न शाखाबाट पनि नयाँ नोट साट्न पाइने छ। बैंकले पाँच, दश, २०, ५० र १०० दरका एकरएक पकेट गरी प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ सटही सुविधा उपलब्ध गराउने जनाएको छ।

यो रकमभन्दा बढी सटही सुविधा आवश्यक हुने व्यक्तिलाई सुकिलो नोट उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ। यस्तै बैंकको नोटकोष रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकका सबै शाखा कार्यालयमा समेत सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ।

यी ठाउँमा नोट साट्न पाइन्छ

नेपाल बैंकका नयाँ सडक, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखामा नयाँ नोट उपलब्ध हुनेछ। यस्तै राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार शाखा, टेकु, नयाँ बानेश्वर, सानोथिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा तथा कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ नोट दिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट पनि सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटहीका लागि उपलब्ध गराइनेछ। आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि सुकिलो नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

यसैबीच केन्द्रीय बैंकले नोटमा केरमेट नगर्न आग्रह गरेको छ। टीका लगाइ दक्षिण दिँदा, पूजाआजा गर्दा वा अरु कुनै धार्मिक वा सांस्कृतिक कार्य गर्दा रङ्ग लागेका वा मैलिएका हातले नोट नछुन बैंकले सबैसँग आग्रह गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्