एसिया प्यासिफिकको पाँचौ‌ं सम्मेलन भरतपुरमा हुने

लाेकपाटी न्यूज
0 Shares

चितवन, ९ असाेज। एपिक्याट (एसिया प्यासिफिक सिटिज एलाइन्स फर टोबाको कन्ट्रोल एण्ड नन कम्युनिकेबल डिजिजेज प्रिभेन्सन) को चौथो सम्मेलन इन्डोनेसियाको बोगोर सहरमा सम्पन्न भएको छ । यसको पाँचौं सम्मेलन अर्को वर्ष नेपालको चितवन भरतपुर महानगरमा हुने भएको छ ।

इन्डोनेसियामा भएको चौथो सम्मेलनमा भरतपुर महानगरपालिका पनि सहभागी भएको थियो । भरतपुर महानगरपालिका प्रमूख रेनु दाहालले समग्र भरतपुर महानगरको योजना, उद्देश्य र रणनीतिको विषयमा सम्मेलनमा आफ्नो प्रस्तुती दिइन्।

सम्मेलनमा प्रमूख दाहालले मध्य नेपालको सुन्दर सहर, समृद्ध र सुसंस्कृत भरतपुर महानगर भन्ने नारालाई आत्मसाथ गर्दै भरतपुरलाई स्वच्छ, स्वस्थ र स्मार्ट सहरको रुपमा परिकल्पना गरिएको बताइन्। सम्मेलनमा उनले भनिन्, ‘दिगो विकास लक्ष्यको मेरुदण्डको रुपमा रहेका स्वास्थ्य, शिक्षा, वातावरणलगायतका क्षेत्रहरुलाई भरतपुर महानगरले उच्च प्राथमिकता दिएको छ ।’

सम्मेलनमा उनले भरतपुर महानगरले नसर्ने रोगको रोकथामका लागि उच्च प्राथमिकतासाथ काम गरिरहेकाे बताइन् । उनले भनिन्, ‘धुमपान एवम् सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र, पूर्ण खोपयुक्त बालबालिका सुनिश्चित महानगर, एक वडा एक खेलमैदान, मेरो फोहोर मेरो जिम्मेवारी अभियान, फोहोरमैला व्यवस्थापन गुरुयोजनालगायतका काम सम्पन्नको चरणमा छन् ।’ उनले महानगरले स्मोक फ्रि जोन बनाउने कार्य पनि अघि बढाएकाे सुनाइन्।

२०२० का योजनाः सम्मेलनमा भरतपुर महानगर प्रमूख रेनु दाहालले सन् २०२० मा गरिने योजनाहरु पनि बताइन् ।उनले २०२० मा क्रमबद्ध रुपमा सहरलाई धुँवारहित बनाउने र स्थानीय स्वास्थ्य एजेण्डामा नसर्ने रोगलाई रोक्ने विषयलाई समावेश गर्ने बताइन्।

यस्तो छ रणनीतिः प्रमूख दाहालले सुर्तीजन्य पदार्थ र धुमपान निषेधित सहर तोकी कडा कानूनी कारबाहीलाई अघि बढाउने, सूर्तीजन्य पदार्थरहित नयाँ पुस्ता निर्माणका लागि विद्यार्थी, क्लब सदस्यहरु, महिला तथा आमा समूह, टोल विकास संस्थाहरु र सञ्चारकर्मीहरु परिचालन गरिने, वडाको अगुवाईमा समुदाय तहसम्म सञ्चालन हुने अन्य अभियानजस्तै यसलाई पनि बहुसरोकारवालाको सञ्जालमा प्रभावकारी रुपमा प्रवेश गराई सुर्तीजन्य पदार्थको सेवन रोक्ने तथा स्मोक फ्रि सिटी बनाउने कार्य अघि बढाइने लगायतका रणनीतिहरु सम्मेलनमा प्रस्तुत गरेकी थिइन्।

आगामी कार्यदिशाः भरतपुर महानगर प्रमूख दाहालले भरतपुर महानगरलाई धुमपान एवम् सुर्तीजन्य पदार्थ निषेधित महानगर बनाउने कार्यदिशा रहेको बताइन्। उनले भरतपुर महानगरलाई पूर्ण संस्थागत सुत्केरी, एक विद्यालय एक नर्स, मेडिकल सिटी, एक घर दुई फलफूल बिरुवा, सफा भरतपुर, हरित भरतपुर अभियान, स्मार्ट सिटीको रुपमा विकास गरिने बताइन्।

जथाभावी फोहोर फाल्नेलाई जरिवाना गर्ने तथा फोहोर गरेको सूचित गर्नेलाई प्रोत्साहित गर्ने नीति भरतपुर महानगरले लिएको उनकाे भनाइ थियो ।

नेपालको केन्द्रमा रहेको सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक रुपले अग्रणी नगर भरतपुरमा चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी, सिमसार क्षेत्रको रुपमा संरक्षित बीसहजारी ताल लगायतका थुप्रै पर्यटकीय विविधता रहेका छन् । ४३३ वर्ग किमि क्षेत्रफलमा फैलिएको महानगरमा अनुमानित ४ लाख जनसंख्या रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्