काठमाडाैं, ९ असाेज। नेपाल प्रहरी र International Committee of the Red Cross (ICRC) को संयुक्त आयोजनामा काठमाडौंमा संचालित ३ दिवसीय ‘Asia Police Colloquium 2019’ विषयक एसियाकै पहिलो प्रहरी सम्मेलन सम्पन्न भएको छ ।
उक्त सम्मेलन समापनका अवसरमा बिहीबार आयोजित समारोहमा प्रमूख अतिथि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सम्मेलनमा सहभागी उच्च सुरक्षा अधिकारीहरूलाई प्रमाणपत्र वितरण गरे । सो अवसरमा खनालले क्षेत्रीय तहमा मानव अधिकारको प्रवर्द्धन गर्दै कानून कार्यान्वयन गर्न विस्तृत रणनीतिहरू तयार गरी लागू गर्न सम्मेलनमा भएका छलफल एवम् एजेण्डाहरूले सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
समाजलाई सुरक्षित बनाउन तथा रणनीतिक रूपमा एक अर्कालाई सहयोग गर्न सबै सहभागी देशका उच्च सुरक्षा पदाधिकारीहरू उत्साहित रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रण गर्नका लागि गरिएका कार्यहरु, अनुभव तथा सिकेका उत्तम अभ्यासहरू सम्मेलनमार्फत एकआपसमा आदान प्रदान हुने तथा अपराधलाई क्षेत्रीय रूपमा नै निस्तेज पार्न थप सहयोग मिल्ने बताए।
समकालीन चुनौती र अवरोधहरूको पहिचान, कानूनको शासन, कमाण्ड व्यवस्थापन र समुदाय–प्रहरी साझेदारीले अख्तियार गरेको दृष्टिकोण सम्मिलित विभिन्न विषयमा छलफल भएको यस सम्मेलनका प्रतिविम्बित आवाज र दृष्टिकोणले अन्य राष्ट्रहरुलाई पनि प्रेरणा दिने प्रहरी महानिरीक्षक खनालले उल्लेख गरे।
सो अवसरमा आईसीआरसी नेपालका मिसन प्रमूख आन्ड्रे पाक्केटले सम्मेलनको महत्व र सम्मेलनबाट प्राप्त निचोडहरु ज्यादै उपयोगी सिद्ध हुने विश्वास व्यक्त गरे। साथै आगामी दिनमा पनि नेपाल प्रहरीसँग सहकार्य गर्दै जाने प्रतिवद्धता उनले व्यक्त गरे।
कार्यक्रममा सहभागीको तर्फबाट नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुमार पन्त र थाइल्याण्डका पुलिस मेजर जनरल APICHAT SURIBOONYA ले आ–आफ्नो मन्तव्त व्यक्त गरेका थिए।
सम्मेलनमा नेपाल समेत गरी १५ एसियन राष्ट्रहरुका २५ जना उच्च प्रहरी अधिकारीहरुको सहभागिता रहेको थियो ।