वीरगञ्ज, १२ असाेज । वीरगञ्ज महानगरपालिका–९ रानीघाट स्थित कलर्स कष्टमेटिक उद्योगमा आगलागी भएको छ । स्थानीय लक्ष्मीदेवी तुराहाको घरमा छोरा उमाशंकर साह तुराहाले सञ्चालन गरेको उद्योगमा आगलागी भएको हो ।
आगलागीबाट ५ लाख मूल्य बराबरको क्षति भएको दाबी उद्योगका सञ्चालकले गरेका छन् । घरको तल्लो तलामा नङ पालिस बनाउने उद्योग सञ्चालनमा थियो । अन्य तलामा परिवार बस्दै आएका थिए । उद्योगमा थिनर, रङ लगायत नङ पालिस बनाउने ज्वलनशील पदार्थ राखिएको थियो ।
अचानक आगलागी भएपछि तल झरेर हार गुहार गरेको उमाशंकरका दाई ईश्वर साह तुराहाले बताए । ‘हामी त माथिल्लो तलामा थियौं, अचानक आगलागी भयो,’ उनले भने, ‘ के कसरी आगलागी भयो थाहै पाउन सकिएन।’
वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र बहादुर मल्लले आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्न बाँकी रहेको जानकारी दिए ।
साँझ साढे ५ बजेतिर लागेको आगो सवा ६ बजेतिर नियन्त्रणमा आएको थियो । वीरगञ्ज महानगरपालिकाको दुईवटा दमकलको सहायतामा स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको थियो ।