बहसमा दशैं : ‘संस्कृति प्रगतिशील र रसयुक्त हुनुपर्छ’

0

– नारायण शर्मा ‘कमलप्रसाद’ (प्रगतिवादी संस्कृतिकर्मी)

राजनीतिक आन्दोलनसँगसँगै सांस्कृतिक आन्दोलन हुनुपर्छ तर यतिले मात्र पुग्दैन। सचेत रूपमा विकल्प प्रस्तुत गरी प्रयोगसमेत गर्दै गर्नुपर्छ। रूपान्तरण सांस्कृतिक रूपले समेत हुनुपर्छ, हुनुपर्छ भन्ने तर नहुने र पुरानै गर्ने द्वैधवादका विरुद्ध सङ्घर्ष गर्ने भन्ने कुरा महत्वपूर्ण छ। तर, यत्तिले पनि पुग्दैन।

कम्युनिस्ट नेता, स्वयम् कम्युनिस्ट पार्टी पूरै र समर्थक–शुभचिन्तकसम्म पनि रूपान्तरण भएर अर्थात् नयाँ संस्कृति अवलम्बन गरेर उदाहरण र नमुना प्रस्तुत गर्नुपर्छ र यसलाई विस्तार र विकास गर्ने नीति, योजना र कार्यक्रम बनाई लागू गर्नुपर्छ। रूपान्तरण क्रमशः र स्वतः पनि हुन्छ केही। केही छलाङमा, योजनामा र बलप्रयोगमा हुन्छ। क्रमशः र स्वतः हुनेमा मात्र विश्वास गर्नु स्वतस्फूर्ततावाद हो र क्रमशः मात्रै हुन्छ भनेर चूपचाप बस्नु सुधारवाद हो। धार्मिक दृष्टिले मात्र दसैँँ–तिहारजस्ता चाड मनाइएका होइनन्।

सामाजिक पक्ष, संवेदनात्मक पक्ष, मनोरञ्जनको पक्ष र उत्सव पनि यिनमा सन्निहित भएको कुरा सही छ। दसैँँ कुरूप पक्षमाथिको विजय त हो। तर यसको विकल्प सहिद सप्ताह भने अलि नहोला कि ? जनयुद्ध दिवस, गणतन्त्र दिवसजस्ता उत्साह र उमङ्गमय दिवस पो विजय दिवस हुनसक्छ। सांस्कृतिक रूपान्तरणका लागि शिक्षा, सञ्चार र संस्कृतिजस्ता तीन क्षेत्रमा हस्तक्षेप बढाउनुपर्दछ। तर, राजनीति र अर्थनीतिमा हस्तक्षेप भएन भने पनि त्यो कमजोर हुन्छ। तसर्थ दुवैलाई सँगसँगै लैजानु उपयुक्त र अनिवार्य हुन्छ।

क्रान्तिकारी संस्कृति राष्ट्रवादी, जनवादी, प्रगतिवादी, वैज्ञानिक, सरल र सरस हुन्छ र हुनुपर्छ र यस्तो नीति निर्णय गरेर नै तय गर्नुपर्छ, जो हामी क्रान्तिकारी भन्ने कम्युनिस्टहरूकै प्रमुख कार्यभार हो। अन्यत्र बाहिरबाट यसप्रकारको वैल्पिक संस्कृतिको अपेक्षा गर्नु गलत र मृगतृष्णा मात्र हुनेछ।

हामीले नयाँ संस्कृति निर्माण र अवलम्बन गर्ने हो र नयाँ गर्ने नाममा समाजबाट अलग त हुनु हुँदैन। तथापि अलग हुनु हुन्न भन्ने नाममा समाजले नबुझ्दासम्म अवलम्बन नगर्ने हुनाले हामीले पनि नयाँ अवलम्बन नगर्ने गर्नु हुँदैन। हामीले नयाँको वैज्ञानिकता, सामाजिकता बुझेर अवलम्बन गर्न छोड्नु हुँदैन।

कुनै संस्कार–संस्कृति रूपमा फरक भए पनि सारमा फरक नहुनेप्रति सजग हुनुपर्छ। राजा मान्ने संस्कृति त्याग गरे पनि राजाजस्तै शक्तिशाली नेता, प्रशासक, पैसावाल वा सत्तावाललाई मान्ने संस्कार–संस्कृतिको विकास हुने–गर्ने गर्नु हुँदैन, तिनको रूप फरक भए पनि सार एउटै हो।

Comments
Loading...
You might also like