Spread the love
  • 1.1K
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

भ्रमण वर्ष-२०२० र नेल्टा–टिसोल सम्मेलन

0

भीम गाैतम

छिटै नै नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउने ब्यापक तयारी गरेको छ। यसकै पूर्वसन्ध्यामा अंग्रेजी भाषा शिक्षण सिकाइमा संसारभर परिचित सबैभन्दा ठूलो संगठन टिसोलले नेपालमा पहिलोपल्ट यसको क्षेत्रीय सम्मेलन गर्दैछ। अमेरिकाका विभिन्न शहरहरुमा मनाइने टिसोल सम्मेलन र प्रदर्शनीमा हरेक वर्ष विश्वभरिका ५ हजारभन्दा बढी अंग्रेजी भाषा पढाउने शिक्षकहरु जम्मा हुन्छन् र छलफल गर्छन्। निकै लामो र ठूलो प्रयासपछि नेपालमा भएका अंग्रेजी शिक्षकहरुको साझा संस्था नेल्टा स्थापना भएको २६ वर्षपछि यही मंसिर ४–७ सम्म ४ दिन नेपालमा टिसोल–नेल्टा क्षेत्रीय सम्मेलन हुन गइरहेको छ।

लगभग २० विभिन्न मुलुूकका अंग्रेजी भाषा शिक्षकहरु जम्मा हुने यो अन्तराष्ट्रिय सम्मेलनको पहिलो दिन अमेरिकन विद्वानहरुबाट १ दिने गोष्ठीको आयोजना गरिएको छ। नेपाल भित्र र बाहिरका जम्मा १८० जना शिक्षकहरु सहभागी हुने यो गोष्ठीमा टिसोल (अमेरिका) बाट आएका विद्वानहरुले वर्तमान अवस्थामा भएको अंग्रेजी भाषा शिक्षा, यसका समस्या र समाधानहरुको बारेमा छलफल, बहस र चर्चा गर्नेछन्। ललितपुरको सुविधा सम्पन्न डि.ए.भी. सुशील केडिया स्कूलमा आयोजना गरिने यो गोष्ठीका लागि नेल्टाका ५५ जिल्ला शाखा तथा ७ प्रदेश कमिटिहरुबाट सिफारिस भएका १५० जति नेपालका अंग्रेजी शिक्षकहरु सहभागी हुनेछन् र वर्तमान अवस्थाको अंग्रेजी भाषा शिक्षणको विभिन्न पक्षबारे जानकारी प्राप्त गर्नेछन्।

भोलिपल्ट अर्थात् मंसिर ५ देखि ७ सम्म तीन दिन अन्तराष्ट्रिय सम्मेलनको आयोजना हुनेछ। सम्मेलनको यस वर्षको मुख्य नारा ‘अंग्रेजी भाषा शिक्षण सिकाइमा परिस्थितिक दृष्टिकोण : सम्भावना र चुनौतिहरु’ छानिएको छ। यसबाहेक अरु विभिन्न विषयवस्तुहरुमा २०० भन्दा बढी कार्यपत्रहरु प्रस्तुत हुनेछन्। यो सम्मेलनमा अभी सुवेदी (नेपाल), जयराज अवस्थी (नेपाल), विष्णुसिंह राई (नेपाल), एलानमाली (बेलायत), लिया डी. स्टेन (अमेरिका), राइन व्रक्स (अमेरिका), जेनिफर बोर्क (अमेरिका) र विली रेनान्डा (सिंगापुर) ले मुख्य वक्ताको रुपमा आफ्ना अवधारणाहरु दिनेछन् भने दर्जनौं छलफल र प्यानल बहसहरु हुनेछन्।

यो सम्मेलनको अर्को महत्वपूर्ण पक्ष भनेको संसारभरका अंग्रेजी भाषासँग सम्बन्धी पुस्तकहरुको प्रदर्शनी हो। जसका लागि क्याम्ब्रीज, अक्सफोर्ड, राउट्लेज जस्ता प्रकाशनहरुले सम्मेलनमा आफ्ना स्थानीय एजेन्सीमार्फत स्टल वुकिङ गर्ने र सहयोग गर्ने र सहयोग गर्ने गरेका छन्। १००० भन्दा बढी अंग्रेजी शिक्षकहरु सहभागी हुने यो सम्मेलनलाई रेलो (अमेरिकी दूतावास), व्रिटिस काउन्सिल, भारतीय दूतावास, अक्सफोर्ड प्रकाशन, क्याम्व्रिज प्रकाशन, मेधावी कलेज, पाठशाला स्कूल, डिएभी स्कूल लगायत विभिन्न संघ संस्थाहरुले सहयोग गरेका छन्।

नेपाल भ्रमण वर्ष २०२० शुरु हुनै लाग्दा आयोजना भएको यो सम्मेलनले २५ भन्दा बढी देशबाट नेपाल आउने विदेशी पाहुनाहरुलाई नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल भ्रमण वर्षको लोगो अंकित उपहार दिने छ। नेपाल लगायत विश्वका अधिकांश विकासोन्मुख मुलुकहरुमा बढ्दै गएको अंग्रेजी शिक्षाप्रतिको मोहलाई सही र व्यवस्थित रुपले प्रयोग गर्न यो सम्मेलनले अंग्रेजी शिक्षाका सुनाई, बोलाई, पढाई र लेखाइसँग सम्बन्धित पक्षहरु र यिनले मातृभाषी शिक्षामा पार्ने सकारात्मक एवं नकारात्मक प्रभावहरुको बारेमा व्यापक बहस र छलफल गर्ने छ।

सम्मेलनको अर्को महत्वपूर्ण पक्ष भनेको नेल्टाले आफ्ना नियमित प्रकाशनहरु जस्तै नेल्टा जर्नल र नेल्टा इएलटी फोरम बाहेक यसपटक नेल्टाको २५ वर्षको इतिहास समेटिएको नेल्टा इतिहासको प्रकाशन र बितरण गर्नेछ। यसले नेपालमा अंग्रेजी शिक्षाको इतिहास र यससँग सम्बन्धित पक्षहरुको योगदान बारेमा प्रष्ट पार्नेछ। नेल्टा–टिसोल सम्मेलनको अवसरमा यही मंसिर ८ गते काठमाडौंमा १ दिने रचनात्मक लेखन कार्यशालाको आयोजना गरिएको छ भने आमन्त्रित विदेशी विद्वानहरुको सहभागितामा गण्डकी प्रदेशमा अर्को रचनात्मक लेखन कार्यशालाको आयोजना पोखरामा गरिने छ।

देशले समृद्धिको दिशामा फड्को मार्ने क्रममा नेल्टा–टिसोल सम्मेलनले नेपालको अंग्रेजी शिक्षामा देखिएका विकृति एवं विसंगतिहरुको समाधान गरेर देशमा एउटा सफल र भरपर्दो अंग्रेजी शिक्षा नीति तर्जुमा गर्न नेपाल सरकार, शिक्षा मन्त्रालय एवं सम्बन्धित निकायलाई सहयोग गर्नेछ। पर्यटन मन्त्रीको नेपाल भ्रमण वर्षलाई विदेशमा मात्र नभएर स्वदेशमै बढीभन्दा बढी विदेशी विद्वानहरु बोलाएर भ्रमण वर्ष सफल पर्ने अभियानमा यो सम्मेलन महत्वपूर्ण हुनेछ भन्ने आशा गर्न सकिन्छ।

     (लेखक गौतम नेल्टाको केन्द्रीय सदस्य तथा अनुसन्धान संयाेजक हुन्।)  

Spread the love
  • 1.1K
  •  
  •  
  •  
  •  
    1.1K
    Shares
You might also like
Comments
Loading...