Spread the love
  • 679
  •  
  •  
  •  
  •  
    679
    Shares

भारतीय विस्तारवाद – मूर्दावाद !

0
  • वि.वि. श्रेष्ठ

सामन्ती र हेपाहा चिन्तन विश्वको बदलिदो परिवेशमा पनि देखिदो रहेछ। जतिसुकै छिमेकी राष्ट्रको दुहाई दिएता पनि ठूलो राष्ट्रले सानो राष्ट्रलाई र वलियोले निर्धोलाई हेप्ने प्रवृत्तिमा कमि नआउने रहेछ। स्वतन्त्र, सार्वभौम सत्ता राष्ट्र नेपालमाथि फेरि पनि विश्वका शक्तिशालि राष्ट्रहरुले सीमा मिच्ने प्रवृत्ति दोहराएका छन्। मुलुक आफैँमा पनि सार्वभौम मुलुक हो। जो आफैँमा अविभाजित्व रहेको छ। इतिहासलाई नजिकबाट नियाल्ने हो भने नेपालको आफैँमा गौरवान्वित इतिहास रहेको छ। कहिल्यै कसैबाट पनि शासित नभएको नेपाललाई हेप्ने, दबाउने श्रृङखला विगतदेखि नै भएता पनि राष्ट्रिय अखण्डता र सीमा मिच्ने जस्ता कृत्सत्य घटनाले नेपालको असली मित्र चिन्ने थप मौका मिलेको छ ।

हिजो अग्रेज अधिनस्थ रहेर बसेको भारत भौगोलिक, आर्थिक, विकास र जनघनत्वको वलमा हिजोको अग्रेज शाशित व्यवहारबाट समेत नचेती आज नेपालमाथि अनेकौं हस्तक्षेप गरेर दादागिरि प्रस्तुत गरिरहेको छ। सधैँ नेपाललाई आफनो प्रान्त सम्झने भारत आज नेपाली फौजका कारण विश्वमा आफनो उपस्थिती देखाउन सक्ने सामथ्र्यमा रहेको यथार्थ भुलेको छ। लामो समयसम्म अग्रेजको अधिनस्थ रहेको भारत अग्रेजवाट स्वायत्त हुनभन्दा अगाडिसम्म देशको सार्वभौमसत्ता, स्वतन्त्रताको लामो पैरवी गरेको थियो । समय आज परिवर्तन भएको छ। भारत आज स्वतन्त्र भएको छ। तर उसको चिन्तन भने त्यहि अग्रेजको शैलीमा रहेको छ। भौगोलिक बनोट, सानो ठूलो रहला तर देशको सार्वभौमसत्ता, देशको राष्ट्रिय अखण्डता र स्वतन्त्रता भने कदापी सानो ठूलो हुन सक्दैन। देशको सीमाना मिचिदा कोही पनि टुलुटुल हेरेर बस्न सक्दैन। भारतको यहि रबैया रहिरहयो र भर्खर जारी गरेको नक्सामा नेपालको भूभाग समेटीएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा अविलम्व सच्चाउने हिम्मत गरेन भने नेपाल र भारतको टकराव हुनेमा कुनै शंका छैन।

सन् १८२७ र १८५६ मा ब्रिटिस सर्भे अफ ईण्डियाले निकालेको नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नक्सामा रहेको प्रष्ट देखाएको छ। विश्वको मानचित्रमा समेत उक्त भू-भाग नेपालको रहेको देखिएता पनि भारतले भने उक्त भूभाग हडप्ने प्रयत्न सधै गरिरहयो। नेपालका वीर शहिदहरुले रगतको खोला बगाएर जोगाएको कालापानी लगायत नेपालको भूभाग विगतमा नेपालको राजनैतिक दलका नेतृत्वका कमजोरीका कारण विगतदेखि नै कालापानी लगायतका भूभागहरु भारतले आफनो अधिनस्थ राख्न खोज्यो। देशको माया नहुने र स्वार्थमा लिप्त नेपालका नेताहरुका कारण आम नेपाली जनताहरु सधैँ भारतको हेपाहा प्रवृत्तिको शिकार भइरहयो। विश्वको नक्सामा नापित नक्साहरुमा कहिले भारतले त कहिले चीनले कब्जा गरिरहयो । नेपालमा राजैतिक अस्थिरता र सत्ता र शक्तिलाई जीवन देख्नेहरुले भारतको त्यो हेपाहा प्रवृत्तिलाई आँखा चिम्लिदियो । त्यसैको पराकाष्ट भारतले सधै नेपाललाई आफनो कुनै राज्यको रुपमा व्यवहार गरिदियो । त्यसैको नतिजा स्वरुप नेपाल सधैँ भारतको सामन्ती, शोषण र हेपाहामा परिरहयो ।

भारतबाट हेपिएको, सीमा मिचेको घटना वेगल्ती छन्। नेपालको भू-भागमा भारतीयहरुको हैकम हेर्ने हो भने त्यो सहन सक्ने अवस्थामा छैन। नेपाल र भारतको सीमानामा रहेको भू-भागमा जहाँ पनि भारतीय सुरक्षाकर्मीको एकोहोरो सीमाना मिचेको छ। सीमानामा बस्ने नेपालीहरुले भारतको त्यो दादागिरी राम्रोसँग भोगेका छन्, त्यो विषयले स्थान नपाइरहदाँ भारतले एक्कासी एकतर्फी रुपमा छिमेकी मुलुकसँग समेत सल्लाह नगरी नयाँ नक्सा सार्वजनिक गरेसँगै नेपालीहरु भारतसँग आक्रोशित भएका हुन्। देशको अस्तित्व दोहन हुदाँ सम्भवतः जो पनि जुर्मुराउन अस्वभाविक होइन तर भारतले आफनो रवैया यथास्थितीमा राखिरहयो भने कालान्तरमा मुठभेडका घटना नहोलान भन्न सकिँदैन। सहयोगका नाममा, छिमेकका नाममा गरिने केहि आर्थिक र भौतिक सहयोग देशको सार्वभौमसत्ता र स्वतन्त्रतामाथि नै महङ्गो सावित बनिदियो । जसको मूल्य नेपालीले लामो समयसम्म चुकाउनुपर्नेछ ।

भौगोलिक बनोट, सानो ठूलो रहला तर देशको सार्वभौमसत्ता, देशको राष्ट्रिय अखण्डता र स्वतन्त्रता भने कदापी सानो ठूलो हुन सक्दैन। देशको सीमाना मिचिदा कोही पनि नेपाली टुलुटुल हेरेर वस्न सक्दैन। भारतको यहि रवैया रहिरहयो र भर्खर जारी गरेको नक्सामा नेपालको भुभाग समेटीएको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा अविलम्व सच्चाउने हिम्मत गरेन भने र नेपाल र भारतको टकराव हुनेमा कुनै शंका छैन।

नेपालको राजनीतिमा सधै भारतको हस्तक्षेपकारी भूमिका महत्वपूर्ण बनिदियो । नेपालको राजनैतिक आन्दोलनमा भारतको भूमिका केन्द्रमा बसिदियो। राणाशासनको अन्त्यको आन्दोलन, २००७, २०१७, २०३६ साल हुँदै ०६२/६३को राजनैतिक आन्दोलनमा समेत भारतको बोलबोलावट भइरहयो। नेपालीहरु आफैँ निर्णय गर्न सक्दैनन् भन्ने मानसिकताको फाइदा उठाउदै भारत र सानो सानो निर्णयमा समेत भारतको मुख ताक्ने नेपालको प्रवृत्तिको भारतले भरपुर फाइदा लियो। जसका कारण नेपालको संविधान निर्माणमा समेत भारतको हस्तक्षेपले प्रशय पायो। भारतको सल्लाह बेगर गरिएको संविधानको निर्माण र घोषणाले नेपालले अन्ततः नाकाबन्दीको सामना गर्नुपर्‍यो।

नेपालको हरेक निर्णयमा आफनो पनि भूमिका रहनुपर्ने मान्यातामा रहेको भारत संविधानको घोषणामा नेपालको राजनैतिक दलहरुको सहमतिमा घोषणा भयो, त्यसपछि अत्तालिएको भारतले नेपालमाथि नाकाबन्दी गरेर आफनो विस्तारवादी चिन्तन प्रकट गरिदियो। जुन गतिविधिले फेरि पनि नेपाल भारतको भर पर्नुको विकल्प नरहेको पुष्टि गरिदियो। भौगोलिक बनावटले नेपाल भारत भन्दा धेरै नै सानो भएता पनि भारत विश्वको शक्तिशाली मुलकुको सुचिमा सुचिकृत हुनु तर नेपाल झन झन परनिर्भरतामा बाँच्नु नै भारतले नेपाल देखाउने दादागिरि र हस्तक्षेपको अंश हो । त्यहि दादागिरिको नमुना नै अहिलेको नयाँ नक्सा हो। जुन नक्सामा भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लाई आफनो नक्सामा समेटेको छ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो। यसमा कुनै विवाद छैन। शक्तिको आडमा भारतले नेपालको भू-भाग कदापि हडप्न दिनु हुदैँन। नेपाल सरकारले पनि एकलौटी रुपमा आएको भारतको नक्सामा नेपालको समर्थन नरहेको आधिकारिक धारणा प्रस्तुत गरिसकेको छ। सरकारको कुटनैतिक माध्यामबाट यसको सहि समाधान नै अहिलको देशको मुख्य प्राथमिकता हो। सहमति र सम्झौताका नाममा देशको भूमि भारतलाई कदापी दिइनु हुदैँन। यसका लागी नागरिकको जनआवाज पनि शशक्त हुन जरुरी रहेको छ। देशका साझा विषयमा पक्ष विपक्ष नभइ राष्ट्रिय एकतामा एक हुनु नै नेपालीको आम कर्तव्य हो। पुर्खाले जोगाउन नेपालको भू-भाग एक्काइसाै शताव्दीको बदलिदो परिवेशमा पनि भारतिय ज्यादतीको रमिते बन्ने हो भने नेपाली हुनुको त्यो भन्दा ठूलो पीडा अन्य हुन सक्दैन। अतः भारतिय विस्तारवाद र हेपाहा प्रवृत्तिको विरुद्ध लड्नु नै अहिलेको आवश्यकता हो।

देशमा भइरहेको भारत विरोधी आन्दोलनमा शसक्त रुपमा आवाज उठाएर भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भुमिमा कालापानी लगायत अन्य भुमि नेपालको नक्समा नक्सांकन गराउनु नै अबको हाम्रो आन्दोलन केन्द्रित हुनुपर्दछ, सरकारको कुटनैतिक भुमिकामा जनताको प्रत्यक्ष सक्रिय सहभागिताले नै भारतलाई थप दबाव पुग्र्दछ। राष्ट्रियता जस्तो संवेदनशिल विषयमा पनि पक्ष र विपक्ष र स्वार्थतामा लडिरहने हो भने भारतले नेपालको अस्तित्व नै सखाप पार्न बेर छैन। देशको सार्वभौमसत्ता र स्वतन्त्रतामा कसैले औ‌‍‌ला ठड्याउने हिम्मत गर्दा हामी नेपालीहरु टुलुटुलु हेरेर कदापी बस्ने छैनौं। भारतको त्यो विस्तारादी, अधिनायकवादी सोचको विरुद्ध नेपालीहरुले लड्ने दिन आएको छ। यहि नेपालीको देशप्रतिको अगाध माया र विश्वासले नै अगामी दिनमा भारतको हैकमवादी सोच अन्त्य हुनेछ।

Spread the love
  • 679
  •  
  •  
  •  
  •  
    679
    Shares
You might also like
Comments
Loading...