विभिन्न अभियोगमा १४ पक्राउ

0

काठमाडौं, २७ चैत । काठमाडौं महानगरपालिका–१२ त्रिपुरेश्वरस्थित डिउटीमा खटिएको प्रहरीलाई १ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं सतुङगल बस्ने धादिङ घर भएका ३३ वर्षीय एकबहादुर तामाङ पक्राउ परेका छन्। तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा बा.२ ख ६१८६ नम्बर गाडी जाँचको क्रममा महानगरीय प्रहरी ट्राफिक प्रभाग थापाथलीबाट खटिएको प्रहरीलाई चालक तामाङले उक्त नगद दिन खोजे पश्चात उनलाई पक्राउ गरिएको हो।

त्यस्तै चोरी कार्यमा संलग्न काठमाडौं गोंगबु बस्ने रामेछाप देउराली नगरपालिकाका २२ वर्षीय दिपक थपा मगरसमेत ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–७ बन्जला पेट्रोल पम्प अगाडि पार्किङ गरी राखेको ना.६ ख १४८७ नम्बरको बसका २ थान टायर चोरी गरी फरार भएका उनीहरुलाई प्रहरीले चन्द्रागिरी नगरपालिका–१० तीनथानामा फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै कागेश्वरी मनहरा नगरपालिका–९ स्थित प्रकाश पाख्रीनको पपुलर्स बार एण्ड सेकुवा कर्नरमा जुवातास खेलिरहेका पाख्रिन समेत ६ जनालाई १ बुक तास र नगद १ लाख २० हजार ६ सय ४० रुपैयाँसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै आफ्नै दाजुलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बकैया गाउँपालिका–२ तीन थुम्के बस्ने ४४ वर्षीय सानु लामालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका उनका दाजु ५३ वर्षीय छेगु लामा दोङलाई उपचारको लागि निजगढतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले सानुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments
Loading...
You might also like