लिम्बू समुदायमा ‘धान नाच’ लोप हुदैँ

लाेकपाटी न्यूज
0 Shares

पाँचथर, १४ असोज। लिम्बू समुदायमा लोकप्रिय रहेको धान नाचे लोप हुदँै गएको छ। यो नाच एकले अर्काको हात समाएर गोलाकार घेरा बनाइ सामूहिक रुपमा नाच्ने गरिन्छ। लिम्बू समुदायमा हुने विवाह, सुख–दुःखका कार्य, मेला हाट र अन्य उत्सवमा यो नाचको प्रचलन छ। धान नाच साइनो सम्बन्ध नलाग्ने युवायुवती धान नाचमा सरिक हुन्छन्। वृद्धवृद्धा पनि उत्तिकै सौहार्दतासाथ नाचमा सरिक हुन्छन्।

यो नाच साइनो सम्बन्ध भन्दा अलग रहेर नाच्ने गीरन्छ। नाच्नु भन्दा अधि केटा र केटी पक्षबीच साइनो सम्बन्ध लाउनुपर्छ। साइनो नभए माफी मागेर छुट्नुपर्छ। यो अत्यन्तै अनुशासनमा रहेर नाचिन्छ। नाच्ने क्रममा एकले अर्काको खुट्टा भुलवश टेक्न पुगे पनि माफी माग्नुपछ। यो नाच्ने ठाउँलाई ‘खला’ भनिन्छ। यो लिम्बू जातिको चिनारीसमेत हो।

तर, यो नाच अहिले लोप हुने अवस्थामा पुगेको छ। पहिले प्रशस्तै नाचिने धान नाच अहिले ‘खला’ बाट विस्थापित भएर ‘भिडियो र स्टेज’मा सीमित हुनपुगेको छ। कला र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न नसक्दा यो नाच लोप भएर न लागेको याक्थुङ प्रज्ञाप्रतिष्ठानका कूलपति राजेन्द्रकुमार जबेगु बताए। उनले भने, “खलामा नाचिने धान नाचमा जुन मौलिकता हुन्छ, भिडियो र स्टेजमा देखाइने धान नाचमा हुँदैन। ‘खलाबाट त धान नाच हराइ नै सक्यो।”

धान नाच्दा पालाम (एक प्रकारको छन्दबद्ध गीत) गाउनु अनिवार्य छ। पालाम केटा र केटी पक्षबीच सवालजवाफको रुपमा चरण–चरण गरेर गाइन्छ। पालाम्मा सृष्टिको उत्पति, मानवसभ्यताको विकासक्रमदेखि मायाप्रीतिसम्मका कुरा हुन्छ। पालाम सवाल–जवाफको क्रममा एक–अर्काबीच मायाप्रेम बस्न गई विवाहसमेत हुने गरेका छन्। पालाम बिटमै दर्जनौँं गीतको सङ्गीत गरेका वरिष्ठ लिम्बू सङ्गीतकार प्रेम पन्दाक भने, “धान नाचको क्रममा पालाम गाउँदा गाउँदै प्रेममा परेर विवाह गर्ने दम्पति थुप्रै छन्।

अहिले धान नाच र पालम दुबै खलाबाट लोप भएर जानु दुखद कुरा हो।” धान नाचको उत्पतिबारे लिम्बू जातिको धर्मशास्त्र मुन्धुममा रमाइलो कथा उल्लेख छ। ‘फाङभङना’ नामको चराले धपाउन नपाइने सर्तमा घैया धानको बीउ ल्याएर दिएपछि मानिसहरु कृषि युगमा प्रवेश गरेको मुन्धुममा उल्लेख छ। तर, मानिसले दुःख गरेर फलाएको अन्न हुलका हुल चरा आएर खाइदिन थाले। तब मानिसहरुले नयाँ जुक्ति निकाले।

पाकेको धान खलामा जम्मा गरे । एकले अर्काको हात समाएर ‘छुई हा ।।। हा ।।।’ भन्दै धान कुल्चन थाले। चराहरु पर भागे। त्यहीँ ‘यात्लाक्’ (धान कुल्चनु) बाट अप्रभंश भई ‘यात्लाङ्’ (धान नाच) हुन गएको धान नाचबारे जानकारहरु बताउछन्। पूर्वका लिम्बू बाहूल्य जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभा लगायत जिल्लामा यो नाच लोप हुन लागेको हो।

पश्चिमा संस्कृतिको बढ्दो प्रभाव, युवा पुस्तामा मौलिक कला–संस्कृतिप्रतिको घट्दो रुचीका कारण धान नाच पनि लोप हुन लागेको किरात याक्थुङ चुम्लुङ लिम्बूवान प्रदेश समितिका मूख्य सचिव मधु केरुङको भनाइ छ। विभिन्न जातजातिको मौलिक कला–संस्कृतिको पुनःउत्थानका लागि राज्य र सम्बन्धित समुदायको सहकार्यमा साँस्कृतिक पुनः जागरणका काम गर्न जरुरी रहेको केरुङले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्