चियापानमा नेताहरु उद्घाेष : ‘अवराेध छिचाेलेर नेकपा अघि बढ्छ’

लाेकपाटी न्यूज
0 Shares

पर्वत, १६ असाेज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतको आयोजनामा शुभकामना आदनप्रदान कार्यक्रम बिहीबार कुश्मा बजारमा सम्पन्न भएको छ ।

विजयादशमी, दिपावली र छठ लगायतका चाडपर्वको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले नेकपाको सरकारले देशलाई समृद्ध बनाएरै छाड्ने अठोट गरेका छन्।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा पर्वत इञ्चार्ज गुप्तबहादुर हमाल ठकुरीले देशलाई सम्बृद्ध बनाउनका लागि सरकारले दिर्घकालिन योजनाहरु अघि सारेको चर्चा गरे। उनले भने, ‘देशलाई समृद्ध बनाउनका लागि दिर्घकालिन योजना सहित सरकार अघि बढेको छ। सरकारका योजनाबाट अत्तालिएका बिपक्षी तथा पुरातनवादी सोच भएकाहरले केही कम्जोरी देखाएर सरकारलाई नै असफल बनाउने कूचेष्टा गरेका छन्।’ देशलाई आर्थिक हिसाबले समृद्ध नबनाउँदासम्म संविधानसमेत कार्यान्वयन हुन नसक्ने उनकाे भनाई थियो ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सदस्य तथा नेकपा पर्वतका अध्यक्ष पदम गिरीले सरकारले राष्ट्रिय स्वाधिनता सहितको सबल अर्थतन्त्र निर्माणका लागि महत्वपुर्ण उपलब्धी हासिल गरिसकेको बताए।

उनले यो सरकार पाँच बर्ष चल्ने भएकाले झिना मसिना विषयमा सरकारलाई बद्नाम गराउन खोज्नेहरुलाई समृद्ध नेपाल निर्माण गरेर मुखभरिको जवाफ दिइने बताए। ‘हामीलाई जनताले दिएको अभिमत अनुसार नै देशको समृद्ध मार्ग चित्र कोरिन्छ’ उनले भने ‘ विपक्षी मित्रहरु धमिलो पानीमा माछा नमारे हुन्छ, जनताले खुसीको स्वास फेर्न पाउनेछन्’

कार्यक्रममा नेकपा पर्वतका सचिब सुदिप कुवँरले नेपाली जनताको बिश्वासलाई कुनै पनि हालतमा मर्न नदिने बताए । नेपाली कांग्रेसका जिल्ला सदस्य डा. चुडामणि शर्माले जनताले कम्युनिष्ट पार्टीलाई बिश्वास गरेपनि जनताको बिश्वास पूरा गर्न नसकेको आरोप लगाए।

शुभकामना आदानप्रदान कार्यक्रममा नेकपाका नेता कार्यकर्ताहरु, समाजसेवी, व्यवसायी, सञ्चारकर्मी, सुरक्षाकर्मी, निजामती कर्मचारी सबैको उपस्थिति रहेको छ । नेकपाका नेता कार्यकर्ताहरु गाउँगाउँबाट पनि शुभकामना आदनप्रदान कार्यक्रममा उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्