बुटवल, २८ असोज। प्रदेश नम्बर ५ का मूख्यमन्त्री शंकर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्पन्न नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको दाबी गरेका छन्।
उनले राष्ट्रपतिको भ्रमणपछि दुई मुलुकबीचको सहकार्य अझै मजबुत र नयाँ ढंगले अघि बढ्ने बताए। चीनको छेन्दुमा विकास र सहकार्यका लागि विआरआई सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन्।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले नेपाल र चीनबीचको लामो मैत्रीपूर्ण सम्बन्धले आपसी हित र सहकार्यमा फाइदा पुगेको र आगामी दिनमा सहकार्य अझ फराकिलो हुने विश्वास व्यक्त गरे।
उनले छिमेकको विकासलाई साथसाथै अघि बढाउन चीनले अघि सारेको विआरआईप्रति नेपालले समर्थन गरिसकेको स्मरण गर्दै विकास र सहकार्यका लागि विआरआई महत्वपूर्ण रहेको बताए।
सम्मेलनमा सहभागीहरुलाई मुख्यमन्त्रीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा स्वागत गर्न चाहेको बताउदै बौद्ध दर्शनको उद्भवस्थल लुम्बिनी भ्रमणको लागि अनुरोध समेत गरे।