सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन नआउनेलाई कारबाही

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २९ असोज। सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन नआउने रोजगारदाता कम्पनीलाई सरकारले कारबाही गर्ने भएको छ। सूचीकृत हुने समय सीमा सकिनै लाग्दा समयमै सूचीकृत नहुने कम्पनीलाई कारबाही गरिने सामाजिक सुरक्षा कोषले जनाएको छ। सूचीकृत हुने समय यही असोज मसान्तसम्म हो।

हालसम्म एकदमै न्यून मात्रामा कम्पनीहरू सूचीकृत भएका छन्। गत मङ्सिरमा सामाजिक सुरक्षा योजनामा सहभागी हुन रोजगारदाता कम्पनी र श्रमिकहरूका लागि खुला गरिएको थियो। समयमै कम्पनीहरू सूचीकरण हुन नआएपछि दोस्रो पटक म्याद थप गरियो। सो म्याद यही असोज मसान्तमा सकिँदैछ।

सामाजिक सुरक्षा कोषकी प्रवक्ता रमा भट्टराईका अनुसार हालसम्म यस योजनामा ५ हजार ६ सय १६ रोजगारदाता कम्पनी र ८४ हजार ७ सय ७३ श्रमिक सहभागी भएका छन्। उनले यो एकदमै न्यून भएको बताइन । कोषले कम्तीमा ५० हजार ठूला कम्पनी सूचीकृत हुने अपेक्षा गरेको थियो।

श्रम ऐन कार्यान्वयन गर्नुपर्ने सम्पूर्ण कम्पनीहरू यस योजनामा सहभागी हुनैपर्छ। प्रवक्ता भट्टराई भन्छिन्, ‘सबै रोजगारदाता कम्पनी यस योजनामा सूचीकृत हुनुपर्छ। श्रमिकलाई कम तलब दिएर काम लगाउने कम्पनी यस्ता योजनामा आउन नचाहेका हुन। यस योजनामा आएपछि कम्तीमा १४ हजार तलब दिनैपर्छ। ढाँटेर ५, ६ हजारमा काम लगाउने कम्पनी अहिले नआएपछि उनीहरूलाई पनि ल्याई छाड्छौं।’

के हुन्छ कारबाही ?

सामाजिक सुरक्षा योजनामा सहभागी नहुने कम्पनीलाई कानुन बमोजिम कारबाही गरिने कोषले जनाएको छ। समयमै सूचीकृत नभएका प्रतिष्ठान वा रोजगारदातालाई कर तिर्दा, नवीकरण गर्दा वा अन्य विभिन्न कानुनी प्रक्रिया पूरा गर्न रोक्का गरी सामाजिक सुरक्षा योजनामा अनिवार्य रूपमा सूचीकृत भएपछि मात्रै बाँकी प्रक्रिया अगाडि बढाइने भट्टराईले बताइन्।

उनले भनिन्, ‘अहिले तत्कालको अवस्थालाई हेरेर सूचीकृत हुन आएका छैनन्। ६० वर्षपछि मात्र जम्मा गरिएको रकम फिर्ता हुनेछ। तर त्यसभित्र अनेकौँ सुविधा छन्।’ यो योजनामा आबद्ध हुनका लागि श्रमिकहरूको योगदानबाट मासिक रूपमा केही रकम कोषमा जम्मा गर्नुपर्छ।

श्रमिकको आधारभूत पारिश्रमिकबाट मासिक ११ प्रतिशत कट्टा गरी त्यसमा रोजगारदाताले २० प्रतिशत थप गरी मासिक ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ। रोजगारदाताले २० प्रतिशत थप गर्नुपर्ने भएकाले त्यस्ता प्रतिष्ठान आफ्नो स्वार्थ हेरेर सहभागी नभएको हुनसक्छ, उनले भनिन्।

सामाजिक सुरक्षा योजनामा निवृत्तिभरण सुविधा, व्यवसायजन्य रोग तथा रोजगारीजन्य दुर्घटना, आश्रित परिवारको निवृत्तिभरण तथा सन्ततीवृत्ति, स्थायी पूर्ण असक्षमता बापतको निवृत्तिभरण लगायतको सुविधा प्राप्त गर्छन्। कोषमा आबद्ध श्रमिकहरू अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने भएमा वार्षिक रूपमा एक लाख रूपैयाँमा नबढ्ने गरी निज भर्ना भएको अस्पतालमा सीधै भुक्तानी हुनेछ।

काम गरिरहेको एउटा संस्था छोडेर अर्को संस्थामा गएको अवस्थामा श्रमिकको सामाजिक सुरक्षा नम्बर पहिलेकै कायम रहनेगरी योगदान रकम जम्मा गर्ने साथै रोजगारीमा नरहेको अवस्थामा पनि निजले चाहे नियमित रूपमा योगदान जम्मा गरी सुविधा प्राप्त गर्न सक्ने व्यवस्था छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्