काठमाडाैं। २०६४ चैत २७ गते साँझ रौतहटको राजपुरमा भएको बम बिस्फोटका जीवित घाइतेहरु रौतहट प्रहरीको सम्पर्कमा आएका छन् ।
बम बिस्फोटका सबै प्रमाण नष्ट गरेको भनिए पनि केही घाइते अहिले प्रहरीको सम्पर्कमा आएकाले अनुसन्धानमा सहज हुने बताइएको छ । घटना पुष्टिका लागि पर्याप्त प्रमाण प्रहरीले घाइतेहरुबाटै संकलन गरिसकेको जनाइएको छ ।
अनुसन्धानका क्रममा एक सातादेखि प्रहरी हिरासतमा रहेका घटनाका आरोपित सांसद महम्मद आफताब आलमले बयानका लागि मुखै नखोले पनि बिस्फोटमा परेर घाइते भएका दुई जनाले बयान दिइसकेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ।