माग पूरा भएपछि आर्यघाटका कामदारले लिए आन्दाेलन फिर्ता

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ६ कात्तिक । पशुपति आर्यघाटमा शव जलाउने कामदारहरुले आन्दाेलन फिर्ता गरेका छन्। पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा शव जलाउनेलगायतका कार्यमा संलग्न घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति गरेसँगै उनीहरुले आन्दाेलन फिर्ता लिएका हुन्।

सेवा केन्द्रका कर्मचारीहरुले सेवा सुविधा वृद्धिको माग गर्दै बुधबार बिहानबाट शव दाहलगायतका सबै काम बन्द गर्ने घोषणा गरेका थिए । उनीहरुको आन्दोलनबाट शव दाह नै रोकिनसक्ने भएपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र घाट सेवा केन्द्रका प्रतिनिधिबीच वार्ता भएको थियो । वार्तामा उनीहरुको सेवा सुविधा वृद्धि गर्ने सहमति भएको काेषनिकट स्राेतले जनाएकाे छ।

स्राेतले भन्याे, ‘उनीहरुको माग धेरै वर्षदेखि नबढेको पारिश्रमिक बढ्नुपर्‍यो भन्ने थियो । हामीले एउटा शव जलाएवापत पाउने १२ सय रुपैयाँबाट १५ सय र औषधी उपचार खर्च पाँच हजारबाट १५ हजार रुपैयाँ बनाइदिएका छौं।’

स्राेतका अनुसार अब उनीहरुले अवकाश पाउँदा उपदानवाफत् पाउने डेढ लाख रुपैयाँबाट पाँच लाख रुपैयाँ पुर्‍याउने र दुई लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गर्ने सहमति पनि भएको छ। यससँगै आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता गरेका हुन् ।

सेवासुविधा वृद्धिको माग राख्दै घाट सेवा केन्द्रका कर्मचारीहरुले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालका लागि शवदाह, दाउरा ओसारपसार लगायतका सबै कामहरु बन्द गरेको सूचनासहितको कालो ब्यानर आर्यघाट क्षेत्रमा राखेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्