नेपालमा व्यवसाय गर्ने वातावरणमा सुधार

world_bank_VKhDomORZl
लाेकपाटी न्यूज

काठमाडौं, ७ कात्तिक । व्यापार व्यवसाय गर्ने वातावरणलाई लिएर विश्व बैंकले तयार पारेको प्रतिवेदनमा नेपालले फड्को मारेको छ।

नेपालले १६ अंकले सुधार गर्दै ९४ औँ स्थानमा आइपुगेको छ। गत वर्ष नेपाल ११० औँ स्थानमा थियो। सो बेला १०५ बाट एकैपटक पाँच स्थान तल झरेको थियो । ९४ औं स्थानमा उक्लिएको नेपालले ६३.२ अंक पाएको छ ।

हालको विश्व बैंकको प्रतिवेदनलाई आधार मान्ने हो भने दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा छ। ६३ स्थानमा रहेको भारत पहिलो र ८९ स्थानमा रहेको भुटान दोस्रो स्थानमा छ । भारत गत वर्ष ७७ औँ स्थानको थियो । भारत १४ स्थान माथि उक्लिएको हो ।

नेपालमा निर्माण अनुमतिका लागि दिने प्रक्रियामा यो वर्ष सुधार आएको छ । ऋण प्रवाह, अन्तरदेशीय व्यापार र ठेक्का सम्झौतामा नेपालमा पछिल्लो वर्ष सुधार भएको बैंकको अध्ययनले देखाएको छ ।

यद्यपी, नेपालमा व्यापार सुरु गर्न अझै कठिन रहेको अध्ययनले देखाएको छ। अध्ययनका अनुसार सामाजिक सुरक्षामा अनिवार्य दर्ता प्रक्रिया निकै झन्झटिलो भएको छ। त्यस्तै नेपालमा सम्पत्ति दर्ता तथा हस्तान्तरण अझै कठिन भएको बैंकको अध्ययनले देखाएको छ ।

डुइङ बिजनेस २०२० को अध्ययनले विकासशिल अर्थव्यवस्था भएका देशहरुले विकशित अर्थव्यवस्थालाई पछ्याइरहेको देखाएको छ।  यद्यपि, अझैपनि विकासशील अर्थतन्त्र र विकशित अर्थतन्त्रबीचको ग्याप भने कायमै छ।

विश्व बैंकले तयार पारेको प्रतिवेदन अनुसार व्यवसाय गर्ने सबैभन्दा राम्रो वातावरण न्यूजील्याण्डमा छ । सिंगापुर, हङकङ, डेनमार्क, दक्षिण कोरिया उत्कृष्ट पाँच भित्र पर्दछन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्