अनसनरत डा. केसीको स्वास्थ्यमा समस्या, रेफर गर्ने तयारी

Dr_Gobinda_KC
लाेकपाटी न्यूज
0 Shares

डडेल्धुरा, २४ कात्तिक। डडेल्धुरा अनसनरत चिकित्सा शिक्षा अभियन्ता डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारका लागि रेफर गरिने भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि अहिले उनको डडेल्धुरा जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

७ दिनदेखि अनसनरत केसीको स्वास्थ्यमा समस्या देखिएपछि रेफर गर्ने तयारी भएको अस्पताल जनाएको छ। केसी १७ औं चरणको अनसनका लागि डडेल्धुरा पुगेका थिए। अनसनको ५औं दिन शुक्रबार उनलाई डडेल्धुरा अस्पतालमा लगिएको थियो।

सदरमुकामस्थित डडेल्धुरा अस्पताल नजिकै रहेको निर्मल क्लिनिक रहेको घरको तेस्रो तलामा डा. केसी  अनशन बसेका थिए। उनको स्वास्थ्यमा समस्या देखिएपछि नागरिक समाज डडेल्धुराको दबाबपछि डडेल्धुरा अस्पताल सारिएको थियो।

केसीको पिसाबमा क्रियटिनिन बढेको र चिनीको मात्रा घटेको अस्पतालका मेसु डाक्टर जितेन्द्र कँडेलले बताए। स्वास्थ्य अवस्था निकै कमजोर बनेपछि उनलाई स्लाइन चढाउन थालिएको छ। तर डा.केसीले स्लाइन चढाउन समेत मानेका थिएनन्।

‘डडेल्धुरा अस्पतालमा अब डा. केसीलाई उपचार गराउनु पर्ने सघन उपचार कक्ष (आईसीयू) र एबिजी छैन,’ उनले भने, ‘यो सेवाका विज्ञ डाक्टरहरु पनि छैनन्।’ जिल्ला अस्पताल डडेल्धुरामा ओपीडी, एक्सरे, भिडियो एक्सरे, सामान्य शल्यक्रियालगायतका सेवामात्र उपलब्ध छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्