काठमाडौं, २४ कात्तिक। दशैंपछिको दोस्रो दिन अर्थात् द्वादशीको दिन थियो। विदेश बस्ने पर्वतेलीहरुको संस्था ‘अन्तर्राष्ट्रिय पर्वत समाज’ को दोस्रो महाधिवेशन भनेर पर्वतको कुनाकाप्चाबाट मानिसहरू हातेमालो चोकमा आउँदै थिए। यो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न पैञ्यु गाउँपालिकाको तयारीमा कुनै कसर बाँकी थिएन। गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी आफै कुर्सी र बेन्च बोक्दै तयारीको खटनपटनमा पसिना चुहाइरहेका थिए। पैञ्यु क्षेत्रमा क्रियाशील मुख्यतया नेकपा र नेपाली काङ्ग्रेस लगायतका विभिन्न राजनैतिक दलका कार्यकर्ताहरू पैञ्युमा भैरहैको यो कार्यक्रम थप भव्य बनाउन लालायित र उत्साहित देखिन्थे।
प्राय मुख्य कार्यक्रमहरू कुस्मा र फलेवासमा गराइने पुरानो परम्परालाई थोरै ब्रेक गर्दै यो दोस्रो महाधिवेशन पर्वतको पैञ्यु हातेमालो चोकमा गरिँदै थियो। एकादशीको साँझ देखिनै थोरै चहल पहल बढे पनि द्वादशीको दिन ११ बजेतिर रौनक थपिएको थियो। पर्वतको पैञ्यु हातेमालो चोकमै महाधिवेशन राख्न प्रस्ताव गर्ने अन्तर्राष्ट्रिय पर्वत समाजका सल्लाहकार कृष्ण तिवारी लगायत विदेशमा रहेका पर्वतेलीहरुले विदेशबाट पनि सफलताको शुभकामना दिँदै कार्यक्रमको व्यग्र प्रतीक्षामा रहेको जनाइरहेका थिए।
कार्यक्रमको तालिका मिलाउन आयोजकहरू धौ–धौमा देखिन्थे। एकादशीको दिन साँझ पनि कार्यक्रम तालिका २ पटक केरमेट भएको र कार्यक्रम हुँदाका दिन बिहानदेखि सुरु हुँदासम्म फेरबदल भइरहेको र कार्यक्रम सुरु भएपछि समापन हुँदासम्म मनलाग्दी देखिइरहेको विश्लेषण गरिएको थियो।
त्यसका बाबजुद पनि कार्यक्रम भव्य बनाउन अध्यक्ष पुरन गिरी, महासचिव गुराँस पौडेल, कार्यक्रम संयोजक मूना भुसाल, मणि भुर्तेल र राजु भुर्तेल लगायतको टिम आ–आफ्नै ढङ्गबाट चिन्तित देखिन्थे। नेपाली काङ्ग्रेसभित्रकै एक समूहलाई माइनस गर्ने नाममा गाउँपालिका अध्यक्ष खगेन्द्र प्रसाद तिवारीलाई गरिएको अपमान (पहिलो ‘रो’ मा नराखिएको) आयोजक र काङ्ग्रेसजनबिच टिप्पणीको विषय बनेको थियो।
कार्यक्रमलाई सूक्ष्म ढङ्गले हेरेका एक पर्यवेक्षकले भने, ‘आयोजकहरू काङ्ग्रेसभित्र मात्रै खेलेनन्, नेकपाभित्र पनि खेले। जसका कारण राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रदेश मन्त्री विकास लम्सालको फोटो राखिएको ब्यानर गेटहरूमा सजाइयो। जब कि पदम गिरी राज्यको मर्यादाक्रममा प्रदेश मन्त्री भन्दा अगाडि पर्दछन्। तर अस्थिर र कच्ची खेलका कारण मन्त्री विकास त्यहाँ नआउने परिस्थिति सिर्जना समेत गराइयो।
आयोजकहरूले साझा संस्था र त्यसको मर्यादामा विचार पुर्याउन नसकेको टिप्पणी छताछुल्ल मात्र भएको छैन प्रमुख अतिथि सम्माननीय गणेश तिमिल्सिनाको हेलिकप्टर देखि अन्य खर्च र श्रोतका विषयमा पारदर्शी ढङ्गले जवाफ नदिइएको विषयमा समेत टिप्पणी गरिएका छन्। हातेमालो चोकमा आकाशबाट हेलिकप्टरहरू जुन ढङ्गले ल्याण्ड गर्दै थिए, अब पैञ्युमा केही होला भन्ने आशा बढ्दै थियो।
मञ्चमा प्रमुख अतिथि, विशिष्ट अतिथिहरू बोलाइँदै थियो। पर्वतसँग सम्बन्धै नभएका एनआरएनहरू पनि ‘चुनावी माहौल’को उपयोग गर्न भन्दै महंगो हेलिकप्टर भाडामा लिएर त्यहाँ पुगिसकेका थिए। उनीहरूको आगमन एक दिनकालागि रमाइलो त भयो नै तर ‘खर्च र चुनाव प्रचारका हिसाबले’ उत्पादनमुखी भएन भन्दै काठमाडौंमा पुगेपछि टिप्पणी पनि सुनिन्थ्यो। तथापि जनसेवाको आगनीमा सयौं मानिसहरूलाई खादा र मालाको सौगात र स्वागतले भने पैञ्युवासीहरुको त्यो दिन निकै रमाइलो नै भएको थियो।
प्रमुख अतिथि सम्माननीय गणेश तिमिल्सिनाले पैञ्युको विकासमा कुनै कसर बाँकी नराख्ने कुरो राखेर जनतालाई आश्वस्त पारेको एउटा पाटो थियो भने विशिष्ट अतिथि रहेका काँग्रेस नेता अर्जुन जोशीले अन्तर्राष्ट्रिय पर्वत समाज आफैले खोलिदिएको भन्दै निकटताको सम्प्रेषण गराइदिएका थिए। मञ्चमा अतिथिको आसन ग्रहण गराइरहँदा पालिकाहरूमा उपाध्यक्षमा पराजित देखी वडा तथा टोलका काँग्रेस समर्थकलाई नेपाली काँग्रेसको नेता नै भनेर मञ्चमा बोलाइएको थियो भने नेकपाका मित्रलाल बसेल र उमाकान्त भुर्तेल लगायतलाई सामाजिक अभियन्ता भनेर नाउँ सम्बोधन गरेजस्तो गरिएको थियो।
साझा संस्थाको छवि र मर्यादा आकलन गर्न छाडेर नेपाली काङ्ग्रेसको एउटा गुटको उरन्ठेउलो प्रस्तुति त्यहाँ देखाइएको थियो। नेकपा युरोपका नेता सुरेन्द्र भुसाल, जो समाजकै सल्लाहकार थिए, उनले खुलेरै प्रत्यक्ष विरोध जनाएका थिए भने राजनीतिक विश्लेषक भनेर वक्ताको रूपमा बोलाइएका सामाजिक अभियन्ता नीलकण्ठ तिवारीले ‘डाडु पन्यू छ भन्दैमा नुन चर्को हालेको तरकारीले व्लडप्रेसर बढाउनेमा ख्याल गर्नुपर्ने’ सुझाव दिएका थिए। नेकपाका नेता तथा महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले चिल्ला गफ र चर्को राजनीति गर्नभन्दा ठोस योजना ल्याएमा सहकार्य परिणाममुखी हुने कुरा राखेका थिए। कार्यक्रममा धेरै एनआएनहरुलाई बोल्न दिइएको थियो भने काङ्ग्रेसको बाक्लो र कम्युनिष्टको पातलो सङ्ख्यामा वक्ताहरूले आफ्नो धारणा राखेका थिए।
समाजको महाधिवेशनमा उद्घाटन सत्रदेखि अतिथि व्यवस्थापन, बन्दसत्रको समय र नेतृत्व चयनसम्मका स्वरूपहरू हेर्दा अन्तर्राष्ट्रिय पर्वत समाजले साझा संस्थाको निष्ठामा प्रश्न बढाउन थालेको प्रतीत हुन्छ। यसैगरी अघि बढ्ने हो भने दिल खोलेर अघि बढ्न हौसला दिने नेता अर्जुन जोशीलाई पनि खासै रमाइलो हुने छैन। अर्जुन जोशी स्वयम् काङ्ग्रेसको भातृसंस्था जनसम्पर्क समिति चलाइसकेका व्यक्तित्व भएकाले यस्ता साझा संस्थामा कलात्मक कौशलता बढाउन निर्देशन दिए राम्रै हुन्छ भन्ने लागेको छ।
संसारभरि छरिएका पर्वतेलीहरुको भावनात्मक एकता र जिल्लाप्रतिको सद्भावी प्रयासलाई बचाउने हो भने यस्ता सार्वजनिक कार्यक्रममा पुर्याउनु पर्ने ख्याल, समितिहरूमा सर्वपक्षियता र समावेशी सहभागिता हुनै पर्दछ। मनन गरेर अघि नबढ्ने हो भने काङ्ग्रेस बाहेकका अरूले अर्को पसल खोल्दैनन् भन्न सकिन्न। यो पवित्र संस्थालाई भातृ संस्था नबनाऊँ, कमजोरी सच्याऊँ र पारदर्शी बनौँ। हाम्रो त सुझाव मात्रै न हो।