भारतलाई सम्झाएर लिपुलेक फिर्ता लिन्छौं : प्रधानमन्त्री

  • 2.2K
    Shares
0

काठमाडौं, २४ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीले तथ्य र तथ्यांकसहित भारतलाई सम्झाएर नेपाली भू-भाग फिर्ता लिने अठोट गरेका छन्। लिपुलेक र लिम्पियाधुरासहित कालापानी क्षेत्र नेपालको भू-भागको हो भन्ने बिषयमा अभूतपूर्व राष्ट्रिय एकता कामय भएको भन्दै प्रधानमन्त्री ओलीले सो अठोट गरे।

कालापानी क्षेत्रको सीमा विवादको बिषयमा प्रधानमन्त्री ओलीले शनिवार साँझ आयोजना गरेका सर्वपक्षीय बैठकमा सो कुरा बताएका हुन्। बैठकमा सहभागी दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट मन्त्रीहरुले कालापानी क्षेत्रको समस्या समाधानका लागि सरकारले कुटनीति पहलबाट समाधान गर्नेमा आफूहरुको ऐक्यवद्धता रहने जनाए।

‘सरकार यही राष्ट्रिय भावनालाई दृढता र स्पष्टताकासाथ कुटनीतिक रुपमा सीमाका समस्या समाधान गर्न अग्रसर रहेको छ, सीमाका विवादका समस्या समाधान गर्न राष्ट्र नै एकजुट हुनुपर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘भारतको व्यवहारमा परिवर्तन आएको छ। हिजो समानामा बाटो र बाँध बन्थे आज खोल्ने क्रम छ। त्यसैले समस्या समाधान हुनेमा म आशावादी छु,’ हामी समग्र दक्षिण एशियामा समृद्धि, विकास र रुपान्तरण देख्न चाहन्छौं ।

त्यसैले यस क्षेत्रका मुलुकहरुले यस्ता विवादहरुमा अल्झिनु हुँदैन, त्यसैले नेपालले पर्याप्त तथ्य र प्रमाणहरुसहित कालापानी क्षेत्र नेपालको हो भनिसकेपछि विवादलाई समाधान हाम्रा लागि मात्र हैन भारतका लागि पनि आवश्यक छ।’ प्रधानमन्त्री ओलीले २१ औं शताब्दीमा हिजोका शैली लागू नहुने बताए। ‘हिजोका भाषा र शैली स्विकार्य छैनन् र आज सहनु पर्ने आवश्यकता पनि छैन’ प्रधानमन्त्री ओलीले भने ‘अब समग्र पक्षको छलफल गरिन्छ।

यस बिषयमा सरकार संवदेनशिल छ ।’ प्रधानमन्त्री ओलीले हालको सीमा विवादको बिषयमा कसैलाई उत्ताउला पनि अभिव्यक्ति नदिन निर्देशन दिए। ‘उत्ताउला अभिव्यक्तिले वातावरण बिगार्दछ,’ प्रधानमन्त्री ओलीले भने ‘भारतलाई हामी मैत्रीपूर्ण ढंगले तथ्य,तथ्यांक राखेर सम्झाउने र आफ्नो भूभाग फिर्ता लिन्छौं।’

Comments
Loading...
You might also like