Spread the love
  •  
  •  
  •  
  •  
  •  

युएईमा मन्त्री पुनको उद्घोष : ‘रेमिट हाइड्रो सञ्चालन गर्छौं’

0

युएई। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन्। विश्व उर्जा सम्मेलनमा भाग लिन अब्बुधावी पुगेका मन्त्री पुनले नेपाली राजदूतावासमा नेपाली समूुदायसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उर्जा क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै आफ्नो आर्थिक अवस्थाअनुसार लगानी गर्न नेपाली समुुदायका प्रतिनिधिलाई आग्रह गरे।

‘अहिले लगानीको लागी नेपालमा उपयुक्त वातावरण बनेको छ, सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेर आकर्षक आयोजना अघि बढाएको छ, तपाईहरुले पनि यसमा लगानी गरेर प्रतिफल लिनुुहोस्’ मन्त्री पुनले भने।

उनले विदेशमा रहेका नेपालीलाई लक्षित गरेर उर्जा मन्त्रालयले रेमिट हाइड्रोको सुरुवात गर्ने तयारी गरेको जानकारी दिँदै त्यसमा लगानी गर्न आग्रह गरे। सम्पुुर्ण जनतालाई जलविद्युतसँग जोड्न सरकारले जनताको जलविद्युत कार्यक्रम समेत सञ्चालनमा ल्याएको भन्दै त्यसमा सहभागी हुन समेत उनले नेपाली प्रतिनिधिसँग आग्रह गरे।

मन्त्री पुनले युुएईमा बसेर देशको अर्थतन्त्रमा योगदान पुर्याएकोमा धन्यवाद दिँदै यहाँ सिकेको ज्ञान र अनुुभव समेत लिएर देश फर्कन आग्रह गरे। उनले नेपाली समुदायले व्यापार र सेवाका क्षेत्रमा विश्व बजारमा पुर्याएको योगदानको समेत प्रशंसा गरे।

पुनले फरक राजनीतिक विचार र आस्थाले कुनै फरक नपर्ने भन्दै देशको हित सोच्नु सबै सचेत नागरिकको पहिलो कर्तव्य भएको बताए। ‘हाम्रो विचार, आस्था र सोच फरक हुन सक्छ। तर पहिलो कुरा देश हो। विकास र समृद्धि सबै विचार बोक्ने नागरिकलाई चाहिएको छ। त्यसैले हामी सबै मिलेर गरीबी र पछौटेपनविरुद्ध मिलेर लडौं’ मन्त्री पुनले भने।

नेकपाका स्थायी समिति सदस्य समेत रहेका मन्त्री पुनले सरकारले पहिलो वर्ष नीतिगत काममा ध्यान दिएको भन्दै यो वर्ष कामले गति लिने दावी गरे। सरकारले भ्रमण वर्ष २०२० सञ्चालन गर्ने तयारी गरेको जानकारी दिंदै मन्त्री पुनले २० लाख पर्यटक भित्र्याउन सरकारले पुर्वाधारको तयारी गरिरहेको बताए।

मन्त्री पुनले कार्यक्रममा भने, ‘अहिले देशमा राजनीतिक र नितिगत स्थिरता छ, पर्यटक क्षेत्र पनि फस्टाउँदो अवस्थामा छ, त्यसका लागि पूर्वाधार निर्माणको काम पनि भइरहेको छ। भैरहवा र पोखरा एयरपोर्ट पनि चाँडै सञ्चालनमा आउँदैछ। नेपालको अर्थतन्त्रमा ५३ प्रतिशत योगदान सेवा क्षेत्रको छ, यसमा पनि तपाईहरुले पनि लगानी गर्नुहोस्।’

उनले १८ महिनामा लाइसेन्स लिएर काम नगर्ने १ सय ९ वटा जलविद्युत कम्पनीको लाइसेन्स खारेज गरेको जानकारी दिँदै आगामी दिनमा निर्माणको चरणमा गएपछि मात्र लाइसेन्स दिने गरी सरकारले नियम बनाउने तयारी थालेको जानकारी दिए।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
You might also like
Comments
Loading...