‘बैंक लुट्ने’ चिनियाँ ह्‍याकरले हेलिकप्‍टर चार्टर गरेका थिए

0

काठमाडौं, २५ भदौ। एटीएम ह्याक गरेर करोडौँ रकम लुट्ने चिनियाँ ह्याकरमध्येका एक जानले भाग्नका लागि हेलिकप्टरको प्रयोग गरेको खुलेको छ। भाग्दा भाग्दै रसुवा पुगेका छु लुइले हेलिकप्टरको प्रयोग गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको हो।

चिनियाँ ह्याकरले भदौ १४ गते नेपाली बैंकका एटिएमको स्विच ‘ह्याक’ गरेर करोडौँ रकम निकालेका थिए। उक्त घटनामा पहिचान गरिएका आठ चिनियाँ ह्याकर समुह मध्येका पाँच जना काठमाडौंको दरबारमार्गबाट पक्राउ परेपपछि छु लुई भागेर रसुवाको केरुङ नाकामा पुगेका थिए। काठमाडौंमा बैंकको एटीएमबाट करोडौँ रकम लुटिएको सुचना पाएसँगै प्रहरीले रसुवाको केरुङ नाकामा सुरक्षा कडा पारेको थियो।

केरुङ नाकाबाट भाग्न सफल नहुने देखिएपछि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्कनका लागि हेलिकप्टर चार्टर गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी बताए। भाग्नका लागि पुनः काठमाडौं फर्किएका छु लुईलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। उनी टिमुरेबाट एक निजी कम्पनीको हेलिकप्टरमार्फत् काठमाडौं फर्किएको ती अधिकारीले बताए।

अनुसन्धानमा संलग्न ती अधिकारीले भने, ‘रसुवाबाट चीन छिर्न नसकेपछि हेलिकप्टर चार्टर गरे। त्रिभुवन विमानस्थलमा आइसकेपछि उनी भाग्ने तयारीमा थिए। हामीलाई सबै सूचना आइरहेको थियो। उनलाई विमानस्थलबाटै हामीले पक्राउ गर्न सफल भयौं।’ उनले हेलिकप्टर चार्टर गर्नका लागि कसको सहयोग लिएका थिए भन्नेबारे समेत अनुसन्धान जारी छ।

चिनियाँ ह्याकर समूहलाई नेपालमा सहयोग गर्नेहरुको विषयमा समेत अनुसन्धान सुरु गरिएको एक प्रहरी अधिकारी जानकारी दिए। यसअघि चिनियाँ ह्याकरलाई सहयोग गरेको आरोपमा तीन नेपाली समेत पक्राउ परिसकेका छन्। पहिचान भएका आट चिनियाँ ह्याकर मध्येका दुई जना अझैँ फरार छन्। उनीहरुको खोजी कार्य जारीरहेको प्रहरीले जनाएको छ। उनीहरुको खोजीका लागि नेपाल प्रहरीले इन्टरपोललाई समेत पत्राचार गरिसकेको छ।

‘उनीहरु सबै विषयका बारेमा जानकारी लिएर नेपाल आएको देखिन्छ। उनीहरुलाई नेपाली नाकाको बारेमा पनि जानकारी रहेको पाइयो। यसबाट उनीहरुले ठूलो र व्यवस्थित योजना बनाएर नेपाली बैंकमाथि आक्रमण गरेको बुझ्न सकिन्छ,’ ती अधिकारीले भने।

Comments
Loading...
You might also like