चीनकाे भ्रमण सकेर युवा टाेली फर्कियाे

pic 2
लाेकपाटी न्यूज

काठमाडौं, १७ कात्तिक । चीन सरकारको निमन्त्रणामा गएको नेपाली युवा विद्यार्थी नेताहरूको टोली चीनको १५ दिने अध्ययन भ्रमण पूरा गरि शनिबार स्वदेश फर्किएको छ। गत कार्तिक १ गते नेपालका विभिन्न चार दल सम्वद्ध १२ युवा-विद्यार्थी नेताहरुको टोली चीन गएको थियोे ।

१५ दिने अध्ययन भ्रमणका क्रममा नेपाली युवा टोलीलाई चिनियाँ विशेषताको समाजवाद , चीनको विकास मोडल र गरीबी निवारणका प्रयासवारे अवगत गराइएको सत्तारूढ नेकपा सम्वद्ध अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए। चीनको शाङ्सी प्रान्तको सिङ्जा मिञ्जु विश्वविद्यालयमा नेपाली युवा नेताहरुका लागि आयोजना गरिएको सेमिनारमा विभिन्न विश्वविद्यालयका प्राध्यापक , चिनियाँ कम्युनिष्ट पार्टीका नेता एवं सरकारी अधिकारीहरुले भाग लिएका थिए।

कार्यक्रम अवधिमा नेपाली युवा टोलीलाई चीनका विभिन्न ऐतिहासिक ठाउँहरुको भ्रमण गराइएको थियोे। त्यसक्रममा हरेक ठाउँ र कार्यक्रममा नेपाली टोलीले नेपाल भ्रमण वर्षको निम्तो दिएको भ्रमण दलका सुरेन्द्र बस्नेतले बताए।

भ्रमण टोलीमा सत्तारूढ नेकपा सम्वद्ध युवा विद्यार्थी नेता सुरेन्द्र बस्नेत, ओसिम आलम , आरति लामा , सुदर्शन शिवाकोटी , कपिल आचार्य र हेमन्त रेग्मी रहेका थिए। नेपाली काङ्ग्रेस सम्वद्ध पवनकुमार यादव, अमिर खड्का र मिरा कटुवाल रहेका थिए।

त्यसैगरी समाजवादी पार्टी नेपालबाट राष्ट्रिय सभा सांसद रामप्रित पासवन र पूर्णबहादुर बस्नेत तथा नेपाल मजदुर किसान पार्टीवाट सुवेगमान विजुक्छे रहेका थिए।