ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावमा सार्वजनिक सुनुवाइ गर्ने तयारी

DonaldTrump
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २१ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोगका सम्बन्धमा आगामी हप्ता पहिलो सार्वजनिक सुनुवाइ हुने भएको छ। अमेरिकी कंग्रेसको डेमोक्रेट सांसदहरुले राष्ट्रपति ट्रम्पलाई पदवाट हटाउन खोज्ने अनुसन्धानमा आगामी हप्ता पहिलो सार्वजनिक सुनुवाइको घोषणा गरेको हो।

यसका लागि तीन जना राज्य विभाग अधिकारीहरु पहिलो साक्षीका रुपमा उपस्थित हुने छन्। हालसम्म तीनवटा मुख्य समितिकाका सदस्यहरुले उनीहरुको बयान सुनिसकेका छन्।

महाअभियोग छानविन केन्द्रले राष्ट्रपति ट्रम्पले युक्रेनलाई आफ्ना राजनीतिक प्रतिस्पर्धी जो बाइडेनविरुद्ध छानविन गर्न दबाव दिएको आरोप लगाउँदै आएको छ।राष्ट्रपति ट्रम्पले भने शक्तिको दुरुपयोग नगरेको जिकिर गर्दै आएका छन् । अमेरिकी कंग्रेसले गठन गरेको छानविन समितिका सभापति एडम शिफले संचारकर्मीहरुसँग कुरा गर्दै ट्रम्प विरुद्धको महाअभियोगको प्रस्ताव बलियो बन्दै गएको दाबी गरेका छन्।

उनले विगत एक वर्षमा राष्ट्रपति ट्रम्पले खराव उद्देश्य पुरा गर्न राजनीतिक प्रतिस्पर्धी्विरुद्ध चालेका कदमको बारेमा खोजविन गरिरहेको बताए। यसका लागि को–को सरकारी अधिकारीहरु प्रयोग भएका थिए भन्नेबारे पनि जाँच गरिरहेको उनको भनाइ थियो ।

क्यापिटल हिलमा गरिने सुनुवाइको प्रत्यक्ष प्रशारण हुने छ । जहाँ डेमोक्रेट र रिपब्लिकन सांसदहरुले साक्षी भनिएकाहरुलाई प्रश्न गर्ने छन् । सार्वजनिक सुनुवाईमा युक्रेनका लागि अमेरिकी बहालवाला राजदूत, पूर्व राजदूत र विदेशमन्त्रालयमा कार्यरत एक अधिकारीलाई बोलाइएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्