काठमाडौं, २२ कात्तिक। गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसिसि) ले भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पयाधुरालाई आफ्नो भू-भागका रुपमा देखाएकोप्रति गम्भीर आपत्ति जनाएको छ । संघका अध्यक्ष कुमार पन्तले आज प्रेस विज्ञप्ति जारी गरी भारतको सो कदमले विश्वभर रहेका नेपालीलाई आक्रोशित बनाएको भन्दै भत्र्सना गरेका छन्।
‘भारत सरकारको यो कार्यबाट विश्वभर छरिएर रहेका नेपालीहरु क्षुब्ध भएका छन्,’ अध्यक्ष पन्तले भनेका छन्, ‘दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु, कुटनीतिक माध्यमबाट बार्ताद्वारा दुबै पक्षको सहमतिमा ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुंग्याउँनुको सट्टा एक पक्षीय ढंगबाट चालिएको कदमको भत्सना गर्दैछौं।’
एनआरएनएले नेपाली सीमानाको रक्षा गर्न विश्वभर रहेका सबै नेपाली नेपाल सरकारको साथमा रहेको घोषणा पनि गरेको छ। ‘मुलुकको सावैभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील बिषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, आम नेपाली नागरिक एवं विदेशस्थित गैर आवासीय नेपाली समुदाय एकसाथ उभिनुपर्छ भन्ने हाम्रा मान्यता हो। तसर्थ, अन्र्तर्राष्ट्रिय सीमाना रक्षाको लागि नेपाल सरकारको साथमा उभिन हामी सम्पूर्ण विदेशमा रहेका नेपालीहरु प्रतिवद्ध छौं,’ पन्तले विज्ञप्तिमा भनेका छन्।
हेर्नुहोस् विज्ञप्ति