नयाँ ऐनले खानेपानीसँग सम्बन्धित विवाद हल गर्छ : मन्त्री मगर

Bina Magar
फाइल तस्वीर
लाेकपाटी न्यूज
0 Shares

बर्दिया। खानेपानी मन्त्री बिना मगरले अब बन्ने खानेपानी ऐनले खानेपानीसँग सम्बन्धित धेरै किसिमका विवादहरु हल गर्ने बताएकी छिन्। उनले खानेपानी ऐनले अहिले देखिएका धेरै विवादहरु हल हुँदै जाने बताइन्।

मन्त्री मगरले प्रत्येक नागरिकलाई खानेपानीको पहुँच पुर्‍याउन आवश्यकताका आधारमा योजनाहरु बनाएर अघि बढ्ने बताइन्। ‘हिजोका दिनमा योजनाहरु धेरै बने। भएका योजनासमेत भद्रगोल अवस्थामा पुग्यो, उनले भनिन्, ‘ अब संघ र प्रदेश सरकारले आवश्यकताका आधारमा योजना बनाउनुपर्ने हुन्छ।

व्यक्तिको पहुँचको आधारमा योजना बनाएर होइन जनताको आवश्यकता र समस्याको आधारमा योजना बनाउनुको विकल्प छैन। सम्पन्न हुन् बाँकी रहेका आयोजना र समस्यामा परेका आयोजनाहरुलाई प्राथमिकता दिएर अगाडि बढाउन मैले निर्देशन दिइसकेको छु ।’

खानेपानी र सरसफाइको क्षेत्रमा देशैभरिको गुरुयोजना बनाएर अघि बढ्ने उनको भनाइ थियो। ‘खानेपानीका समस्याहरुलाई नीतिगत रुपमा कसरी समाधान गर्ने भन्ने विषयमा मन्त्रालयले योजना बनाउने छ, उनले भनिन्, ‘समस्यालाई केन्द्रीकृत गरेर अघि बढ्नुपर्नेछ। योजनाका जटिलतालाई हामीले ध्यान दिएका छौं। मन्त्रालय मातहत रहेका ठूला आयोजनाहरुलाई अगाडि बढाउने सन्दर्भमा अब रफ्तारमा काम गर्दैछौं।’

‘हामीले खानेपानीको समस्या भोगिरहेका हरेक गाउँबस्ती, टोल, र शहर बजारमा खानेपानीको सहज आपूर्ति व्यवस्था मिलाउन नयाँ ठूला आयोजनाहरु सञ्चालन गर्ने तयारीमा छौं।’ उनले जोड दिंदै भनिन्, ‘जटिलताका बीच खानेपानीको पहुँचको सुनिश्चितता गर्नु अहिलेको प्रमूख आवश्यकता हो। संघ, प्रदेश र स्थानीय सरकारले जनताको समस्या र आवश्यकतालाई प्राथमिकता दिएर योजना बनाउनु पर्दछ । यस कुरामा सबै तहका सरकारहरु जिम्मेवार बन्नै पर्दछ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्