डा. केसीका कुन माग राम्रा छन् ? : दुर्गा प्रसाई

Durga Prasain
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २६ कार्तिक । बि.एण्ड.सि मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले  डा. गोविन्द केसीले अघि सारेका अहिलेका मागहरु कुनै पनि जायज नभएको जिकिर गरेका छन्। यसअघि केसीले अघि सारेका सबै माग पूरा भैसकेको उनले दाबी गरे।

मंगलबार रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘पूर्व मेची अञ्चलमा एउटा पनि मेडिकल कलेज थिएन। २९ लाख मेचीवासीहरुको हितको लागि मैले कलेज खोलेको हुँ। कोशीमा तीन वटा मेडिकल कलेज छन्। बाग्मतीमा मात्रै दश वटा छन्। सुलभ स्वास्थ्य पाउनु मेचीवासीको अधिकार होईन् ? डा. केसीका माग डिनबाट सुरु भएको हो। शक्तिशाली चिकित्सा शिक्षा आयोग पनि बनिसक्यो । उनका सबै माग पूरा भएका छन्। मेरो पीडा कसले बुझ्ने ?’

उनले निजी मेडिकल कलेजले कसले के कति शुल्क लिएका छन् ? त्यसको अनुगमनहोस् भन्ने पक्षमा आफू पनि भएको बताए। उनले भने, ‘लगानीको आधारमा शुल्क लिएका छन्।’ उनले आफूलाई सरकारले २०६८ साल माघ २४ गते आशयपत्र दिएको पनि बताए । तर, आज ८ वर्ष बितिसक्दा पनि अनुमति नदिएको उनको भनाइ छ। उनले भने, ‘मैले मेडिकल कलेज पर्खिएर बसेको आज यत्तिका वर्ष भैसक्यो । मेरो पीडा कसले बुझ्ने ?’

प्रसाईले गत वर्षमात्रै आफूले राज्यलाई १७ करोड कर तिरेको बताए। त्यतिमात्रै नभएर उनले करिव एक हजारलाई प्रत्यक्ष रोजगारी दिएको बताए । उनले भने, ‘म सुरेन्द्र भण्डारीजीलाई भन्छु खोई त मेरो लागि तपाईहरुले बोल्नुभएको हो ? तपाईहरुको पनि त दायित्व भन्ने कुरा होला नि । मैले के सबैभन्दा राम्रो क्यान्सर अस्पताल बनाएको छु, यो बनाउनु के अपराध हो त ?’

उनले अनशनरत डा. केसीका कुन माग राम्रा छन् ? भन्दै देखाउन चूनौति दिए । उनले भने, ‘म माफिया होइन, गोविन्द केसीलाई अनशन बस्न धलगाउनेहरु माफिया हुन् । हामीले त डा. केसीलाई साथ दिएकै हो नि । उहाँले सुदुर पुर्व जान भन्नुभयो, मैले बि.एण्ड.सी. खोलें ।’ उनले आफूमाथि उल्टै अन्याय र अत्याचार भएको आरोप लगाए । उनले देशमा सबैभन्दा राम्रो हस्पिटल र मेडिकल कलेजपनि आफ्नै भएको दाबी गरे। नेपालको सबै पैसा पढाईको नाममा बाहिर गएको उनको आरोप छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्