नेपाल : गाैरवशाली इतिहास र संक्षिप्त परिचय

Nepal Map
  • 8
    Shares
लाेकपाटी न्यूज

भौगोलिक अवस्थिति

नेपाल एक दक्षिण एसियाली हिमाली राष्ट्र हो। यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ। यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग किमि छ। यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३५ र एसिया महादेशको ०.३५ पर्दछ। लण्डन स्थित ग्रीनवीच मिनटाइमभन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजिक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ।

नेपालको पूर्वी सीमाना मेची नदीदेखि पश्चिमी सीमाना महाकाली नदीसम्मको औसत लम्वाई ८८५ कि.मि. छ। उत्तरदेखि दक्षिणको चौडाई भने एकनासको छैन। पूर्वी भागभन्दा पश्चिमी भाग केही चौडा छ। त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ। यसमा अधिकतम चौडाई २४१ कि.मि. र न्यूनतम चौडाई १४५ कि.मि. रहेको छ। यसर्थ नेपालको औसत चौडाई १९३ कि.मि. रहेको छ। नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ।

नेपालमा हिन्दू, बौद्ध, मुस्लिम, किराँत, ईसाई आदि धर्म मान्ने मानिसहरू बसोबास गर्दछन्। एउटा सानो क्षेत्रका लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ। यहाँ तराईका उष्ण फाँटदेखि चिसा हिमालयका शृंखला अवस्थित छन्। संसारका सबैभन्दा उच्च १४ हिमश्रृंखलामध्ये ८ वटा नेपालमा पर्दछन्, जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा पनि एक हो।

नेपालको प्रमुख सहर एवं राजधानी काठमाडौं हो। काठमाडौं, ललितपुर र भक्तपुर सहरहरूलाई काठमाडौं उपत्यका भनेर चिनिन्छ। अन्य प्रमुख सहरहरूमा भरतपुर, विराटनगर, भैरहवा, वीरगञ्ज, जनकपुर, पोखरा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर पर्दछन्। नेपाल क्रमशः शहरीकरणको प्रक्रियामा अघि बढिरहेको राष्ट्र हो।

नेपाल नामाकरण

नेपाल शब्दको उत्पत्तिको बारेमा ठोस प्रमाण उपलब्ध छैन। तर, एक प्रसिद्ध मरिची ऋषि पुत्र ‘ने’ मुनिले पालन गरेको ठाउँको रूपमा यहाँको नाम नेपाल रहन गएको हो। नेपाल विश्व इतिहासमा सधैं एक स्वाधीन राष्ट्रका रुपमा परिचित छ। गोरखाका राजा पृथ्वीनारायण शाहले सुरु गरेको एकीकरण अभियान (राज्य बिस्तार) वि.सं. १८३१ मा बहादुर शाहले पूरा गरेपछि बाइसी, चौबीसी राज्यहरु एकीकृत भई विशाल नेपाल बनेको हो।

everest
विश्वको सर्वोच्च शिखर सगरमाथा

स्वाधीन नेपालमाथि इष्टइण्डिया कम्पनिमार्फत् ब्रिटेनले आक्रमण गर्‍यो। नेपालको नालापानीमा नेपाल र अंग्रेजबीच भीषण युद्ध भयो। उक्त युद्धमा नेपाली वीर गोर्खालीहरु अंग्रेजका तोपविरुद्ध भाला र खुकरी लिएर लडेका थिए। तर, वि.सं. १८१६ मा अंग्रेजसँग सुगौली सन्धि भएपछि नेपालले झण्डै ६१ प्रतिशत भूमि गुमाउनुपर्‍यो। ब्रिटेन सन् १९४७ मा भारतबाट फर्केपछि सन् १९५० मा नेपाल–भारतबीच अर्को सन्धि गरी गुमेको भूमिलाई नवीकरण गर्ने काम भयो। यसरी नेपालले विशाल नेपालबाट आफ्नो ठूलो भूमि गुमाएपछि १४७१८१ वर्ग किमी मात्र नेपालको क्षेत्रफल रहन पुग्यो।

प्रजातान्त्रिक इतिहास

नेपाल एकीकरणपछि पनि नेपालमा लामो समय राजतन्त्रीय शासन कायम रह्यो। वि.सं. १९०३ मा जंगबहादुरले नेपालको सत्तामाथि कब्जा जमाए, त्यसपछि नेपालमा १०४ वर्षसम्म जहाँनिया राणा शासन चल्यो। वि.सं. २००७ सालमा नेपालमा प्रजातन्त्रको बहाली भयो। कांग्रेस र कम्युनिष्ट लगायतका कम्युनिष्ट पार्टीहरुले आफ्ना राजनीतिक गतिविधि गर्न थाले। तर, वि.सं. २०१७ पुस १ गते राजा महेन्द्रले प्रजातन्त्र अपदस्थ गरी पञ्चायती शासन घोषणा गरे।

बहुदलवादी दलहरुले प्रजातन्त्र प्राप्तिका लागि ३० वर्ष लामो सङ्घर्ष गरे। २०४६ सालमा प्रजातन्त्रको बहाली भयो। संवैधानिक राजतन्त्र कायमै रहेका कारण राजा ज्ञानेन्द्रले वि.सं. २०५९ मा दलहरुलाई अपदस्त गरे। यता विद्रोही माओवादीले संघीय गणतन्त्रको नारासहित सशस्त्र जनयुद्ध गरिरहेको थियो। राजाको निरंकुश शासनका विरुद्ध संसदवादी र माओवादीहरु एक ठाउँमा आए। वि.सं. २०६२ मंसीर ७ मा १२ बुँदे समझदारी भयो। त्यसपछि चलेको संयुक्त आन्दोलनले अन्ततः २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्रको स्थापना भयो।

वि.सं. २०६५ साल जेठ १५ गते बसेको संविधान सभाको बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो। यसरी नेपालमा २५० वर्षदेखिको शाहवंशीय शासन व्यवस्थाको अन्त्य भयो। २०७२ साल असोज ३ गते नयाँ संविधान जारी भई अहिले नेपाल धर्मनिरपेक्ष, संघीय नेपालका रुपमा परिचित छ। नेपालमा ७ प्रदेश र ७५३ तह निर्माण भई तीन तहका सरकार सञ्चालनमा छन्।

नेपालका भाषा

नेपाली भाषा नेपालको राष्ट्रिय भाषा हो। यो सरकारी कामकाजको भाषा पनि हो। नेपालमा जम्मा १२५ भाषा बोलिन्छ। नेपालमा लिम्बू, सुनुवार, राई,सन्थाल, मैथिली, भोजपुरी, नेवारी, अवधी, थारू, गुरुङ, सेर्पा, तामाङ, मगर, मारवाडी, डोटेली आदि बोलिने केही भाषाहरुको उदाहरण हुन्। सरकारले उल्लेखित भाषाहरुलाई राष्ट्र भाषाको मान्यता दिएको छ।

भाषाविज्ञानको आधारमा हेर्दा नेपाली भाषाको उत्पत्ति भारोपेली भाषा परिवारका शतम् शाखाबाट विकसित आर्य–इरानी शाखाको आर्यली हाँगो संस्कृतबाट विकसित भएको हो। विभिन्न विद्वानहरूको संस्कृतको उत्तराधिकारी विभिन्न प्राकृतहरूमध्येमा शौरसेनी प्राकृत वा खस अपभ्रंशबाट कर्णालीको सिँजा प्रदेशमा २५०–३०० वर्ष पहिला नेपाली भाषाको जन्म भएको पाइन्छ।

सभ्यताको इतिहास

हिमालय क्षेत्रमा मानिसहरू बस्न थालेको कम्तिमा पनि ९,००० वर्ष भएको कुरा काठमाडौं उपत्यकामा पाइएका प्राचीन औजारहरूबाट पुष्टि हुन्छ। सम्भवतः भोट–बर्मेली मूलका मानिसहरू नेपालमा २,५०० वर्ष अगाडि बसोबास गर्दथे। ईशापूर्व १५०० तिर इन्डो–आर्यन जातिहरू उपत्यका प्रवेश गरे। ईशापूर्वको १००० तिर स–साना राज्यहरू र राज्यसङ्गठनहरू बने। सिद्धार्थ गौतम (ईशापूर्व ५६३–४८३) त्यस्तै एक वंश, शाक्यवंशका राजकुमार थिए, जसले आफ्नो राजकाज त्यागी तपश्वीको जीवन अँगाले र उनी बुद्ध भनेर विश्व प्रसिद्ध भए।

lumbini-nepal
गौतम वुद्धको जन्मस्थल लुम्बिनी

ईशापूर्वको २५० सम्ममा यो क्षेत्र उत्तर भारतको मौर्य साम्राज्यको प्रभावमा पर्‍यो र पछि चौंथो शताब्दिमा गुप्त साम्राज्यको अधीनस्थ राज्य हुनपुग्यो। यो क्षेत्रमा ५औं शताब्दिको उत्तराद्र्धमा आएर लिच्छवीहरूले राज्य गरे। ८औं शताब्दिको उत्तरार्धमा लिच्छवीवंश अस्त हुन थाल्यो र त्यसपछि नेवार युगको उदय भयो, तथापि उनीहरूको नियन्त्रणमा देशको कति विस्तार भएको थियो यकिन छैन। ११औं शताब्दीको उत्तराद्र्धमा दक्षिण भारतबाट आएका चालुक्य साम्राज्यको प्रभावमा नेपालको दक्षिणी भूभाग पर्‍यो।

नेपालमा राजसंस्था

१३ औं शताब्दिको पूर्वाद्र्धमा संस्कृत शब्द मल्ल थर भएका नाइकेहरूको उदय हुनथाल्यो। सुरूमा उनीहरूको सत्ता उदयमान भयो, तर त्यसपछिका २०० वर्षहरूमा राजाहरूले उनीहरूको शक्ति एकमुष्ट पार्ने मात्र काम गरे। १४ औं शताब्दिको उत्तरार्धमा देशका धेरैजसो भागहरू एकीकृत राज्यको अधीनमा आए। तर यो एकीकरण छोटो समयसम्म मात्र टिक्यो। वि.सं. १३३५ मा यक्ष मल्लको समयमा आफ्ना छोराहरूलाई अंशबण्डामा काठमाडौं उपत्यकाका तीन राज्य बाँडेर दिने निर्णयपछि यो राज्य तीन भागमा टुक्रियो, काठमाडौं, पाटन, र भादगाउँ।

१८२२ मा गोरखाका राजा पृथ्वीनारायण शाहले थोरैमात्र हतियार र सहयोग जुटाई छिमेकी राज्यहरू, (खासगरी लम्जुङ्ग, कास्की र तनहुँ) को तटस्थता आफ्नो पक्षमा उपयोग गर्न सफल भएपछि देश एकीकरणका निम्ति अघि बढे। धेरै रक्तरञ्जित लडाईंहरू पश्चात्, उनी ३ वर्षपछि काठमाडौं उपत्यकालाई विशाल नेपालभित्र एकीकरण गर्ने अभियानमा सफलता प्राप्त गरे। तथापि उनले तत्कालीन राजा जयप्रकाश मल्लले राज्य गरिरहेको काठमाडौं राज्यलाई जित्दाखेरि कुनै युद्ध गर्नु परेन। त्यतिबेला इन्द्रजात्रा पर्वमा काठमाडौं उपत्यकाका सबै जनताहरू जात्रा मनाइरहेका थिए, जब पृथ्वीनारायण शाहले आफ्ना सेनाहरू लिएर खासै कुनै मेहनतबिना उपत्यकालाई कब्जा गरे आफै बसेर जात्रा चलाएर साँस्कृतिक सम्मानको अवधारणा प्रस्तुत गरे। त्यसैगरी नेपाल एकीकरणको सिलसिलामा सम्पूर्ण साना राज्यहरू जितेपछि पूर्वमा पल्लो किरात लिम्बूवान राज्य पुगे लिम्बूवान राज्यमा १७ पटकसम्म हमला गरी वि.सं. १८३१ मा लिम्बूवानको केन्द्रीय राजधानी विजयपुरमा लालमोहरसहित तम्रपत्रमा लेखी सन्धि भयो। वि.सं. १८३१ मा एकीकरण सम्पन्न भयो।

तिब्बतसँग हिमाली मार्गको नियन्त्रणका निम्ति भएको विवाद र त्यसपश्चातको युद्धमा चीन तिब्बतको सहायताकोलागि आएपछि नेपाल पछि हट्नुपर्‍यो। नेपालको सीमा नजीकका स–साना राज्यहरूलाई हडपेका कारण सुरू भएको ब्रिटिस इस्ट इण्डिया कम्पनीसँगको दुश्मनीका कारण रक्तरञ्जित एङ्गलो–नेपाल युद्ध (सन् १८१४–१८१६) भयो, जसमा नेपालले हालको सीमा रक्षा गर्न सफल भए पनि महाकाली नदी पश्चिमको आफ्ना क्षेत्रहरू गुमाउनु पर्‍यो। ती क्षेत्रहरू हालको उत्तराखण्ड राज्य र हालको हिमाञ्चल प्रदेशका धेरै पञ्जाबी पहाडी राज्यहरू पर्दछन्।

आफ्नो स्वाधीनताका लागि नेपालले इस्ट इण्डिया कम्पनिसँग सुगौली सन्धि गरेर तराईका केही भूभाग र एक तिहाइभन्दा बढी भूभाग सहित सिक्किम, दार्जिलिङ्ग गुमाउनु पर्‍यो। काँगडासम्म पुगेका नेपाली र सतलजदेखि टिस्टासम्मको विशाल नेपाल मेची र कालीमा सीमित हुन पुग्यो। तर, पनि पछि १८६० मा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणासँग खुसी भई अङ्ग्रेजले नेपाललाई राप्तीदेखि कालीसम्मको तराई फर्काइदिएका थिए। यसरी आजको नेपालको सीमाना कायम रहन गयो।

Rhinoceros-Nepal
नेपालमा पाइने एकसिंगे गैंडा

राजपरिवार बीचको गुटबन्दीका कारण युद्धपछि अस्थिरता निम्तियो। वि.सं. १९०३ मा शासन गरिरहेकी रानीको सेनानायक जङ्गबहादुर राणालाई पदच्युत गर्ने षड्यन्त्रको खुलासा हुनाले कोतपर्व घट्न पुग्यो। हतियारधारी सेना र रानीप्रति बफादार भाइ–भारदारहरूबीच मारकाट चल्नाले देशका सयौं राजखलक, भारदारहरू र रजौटाहरूको हत्या भयो। जङ्गबहादुरले जितेपछि राणा खानदान सुरू गरे र राणा शासन लागू गरे। राजालाई नाम मात्र सीमित गरियो र प्रधानमन्त्री पदलाई शक्तिशाली र वंशाणुगत गरियो। राणाहरू पूर्णनिष्ठाले ब्रिटिसहरूका पक्षमा थिए र ब्रिटिसहरूलाई १९१४ को सिपोई रिबेलियन (प्रथम भारतीय स्वतन्त्रता संग्राम), र पछि दुवै विश्व युद्धहरूमा सघाएका थिए। सन् १९८० मा संयुक्त अधिराज्य र नेपालबीच आधिकारिक रूपमा मित्रताको सम्झौतामा हस्ताक्षर भयो, जसमा नेपालको स्वतन्त्रतालाई संयुक्त अधिराज्यले स्वीकार्‍यो।

२००७ सालको क्रान्ति

वि.सं. २००७ को उत्तरार्धमा लोकतन्त्र समर्थित आन्दोलनहरूको उदय हुन थाल्यो र राजनीतिक पार्टीहरू राणा शासनको विरुद्धमा उत्रे। जनताको आँखामा छारो हाल्न राणा प्रधानमन्त्री पद्मशम्शेरले नेपाल सरकारको वैधानिक कानुन २००४ लागू गरे। त्यसैताका चीनले सन् १९५० मा तिब्बत कब्जा गर्‍यो, जसका कारण बढ्दो सैनिक गतिविधि टार्न भारतलाई नेपालको स्थायित्वप्रति चाख बढ्न थाल्यो। फलस्वरूप राजा त्रिभूवनलाई भारतले समर्थन गरी २००७ मा सत्ता दिलाए, र नयाँ सरकार निर्माण भयो, जसमा धेरैजसो नेपाली काङ्ग्रेस पार्टीको सहभागिता थियो। नेपालको अन्तरिम शासन विधान २००७ निर्माण गरियो। राजा र सरकारबीच वर्षौंको शक्ति खिचातानी पश्चात् राजा महेन्द्रले २०१५ फागुन ७ गते नेपाल अधिराज्यको संविधान २०१५ जारी गरे। जस अनुसार संसद्को निर्वाचन भयो, कांग्रेसले अत्यधिक बहुमत ल्यायो र विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री भए, नेपाली कांग्रेसको बहुमतको सरकार गठन भयो।

पञ्चायती व्यवस्था

२०१७ साल पुष १ गते राजा महेन्द्रले एक घोषणा मार्फत लोकतान्त्रिक अभ्यास अन्त्य गरी निर्दलीय पञ्चायत व्यवस्था लागू गरी राज्य गरे। निर्वाचित संसद र मन्त्रीमण्डल विघटन गरी आफ्नै अध्यक्षतामा मन्त्रीपरिषद गठन गरे। नेपालको संविधान २०१९ जारी गरियो, जसले निर्दलीय पञ्चायती व्यवस्थाको जग झन् मजबुत तुल्यायो। पञ्चायती व्यवस्था लागू भएदेखि नै देशमा यसको विरुद्धमा आन्दोलनहरू भए। २०१८ मा नेपाली कांग्रेसले सशस्त्र क्रान्ति गर्‍यो। कम्युनिष्ट युवाहरूले २०२८ मा गरेको झापा क्रान्तिले नेकपा मालेको स्थापना गर्‍यो। २०३६ मा विद्यार्थी आन्दोलन भएपछि राजाले बहुदल कि निर्दल भनी छान्न जनमत संग्रह गराए।

२०४२ सालमा पनि सत्याग्रह आन्दोलन भयो। अन्तत २०४६ सालमा नेपाली कांग्रेस र संयुक्त बाममोर्चा मिलेर गरेको आन्दोलनले ३० वर्षे पञ्चायती व्यवस्था ढाल्यो। जनआन्दोलनले राजतन्त्रलाई संवैधनिक सुधार गर्न र बहुदलीय संसद् बनाउन बाध्य तुल्यायो। फलतः नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना भयो। त्यसपछि कृष्णप्रसाद भट्टराई अन्तरिम सरकारको प्रधानमन्त्री बने, नेपाल अधिराज्यको संविधान २०४७ को निर्माण भयो र संसदका लागि लोकतान्त्रिक चुनाव भयो। नेपाली काङ्ग्रेसले राष्ट्रको पहिलो लोकतान्त्रिक चुनावमा बहुमत ल्यायो र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने।

बहुदलीय संसदीय शासन

बहुदलीय संसदीय व्यवस्था नेपालमा लामो समयसम्म चल्न सकेन। राजनीतिक दलहरूको आपसी बेमेल तथा गणतन्त्रको मागसहित वि.सं. २०५२ मा सुरू भएको माओवादी जनयुद्धपछि देश राजनीतिक द्वन्दमा गयो। २०५८ सालमा नेपालका राष्ट्र प्रमुख रहेका राजा बीरेन्द्र लगायत उनको परिवारका सबै सदस्यहरूको नारायणहिटी दरवारमा हत्या भयो। त्यसपछि उनका माहिला भाइ ज्ञानेन्द्र नेपालका नयाँ राजाका रूपमा गद्दीमा बसे। सोही साल देशमा संकटकालीन अवस्था लागू गरियो। तर न त माओवादी जनयुद्ध रोकियो, न त दलहरूबीच नै सहमति बन्न सक्यो।

फलतः राजाले निर्वाचित संसद भङ्ग गरी सत्ता आफ्नो हातमा लिए। नेपाल अधिराज्यको संविधान २०४७ मा राजकीय सत्ता तथा राजाको अधिकारको विषयमा केही व्यवस्थाहरू स्पष्ट नभएकाले राजाले यो कदम उठाउन सकेका थिए। विना संसदको देशमा विभिन्न व्यक्तिहरूको प्रधानमन्त्रीत्वमा राजाले मन्त्रीमण्डल फेर्दै गए र अन्ततः राजा ज्ञानेन्द्रले २०६१ माघ १९ का दिन एउटा घोषणामार्फत् सम्पूर्ण राज्यसत्ता आफ्नो हातमा लिएर आफ्नै अध्यक्षतामा नयाँ मन्त्रीमण्डल गठन गरे। त्यसपछि देशभरका टेलिफोन तथा मोवाइलहरूका लाइन काटिए। रेडियो, टिभी, पत्रपत्रिका लगायतका सञ्चार माध्यमहरूमा सेन्सरसिप लागू भयो। मौलिक हकमा समेत प्रतिबन्ध लाग्यो जनताले धेरै दुःख पाए।

राजतन्त्रको अन्त्य

राजा ज्ञानेन्द्रको यो कदमको देशभित्र र बाहिर गरी विश्वव्यापी रूपमा विरोध भयो। राजनीतिक दलहरू आन्दोलनमा उत्रिए। सशस्त्र युद्ध गरिरहेको नेकपा माओवादी र आन्दोलनरत सात राजनीतिक पार्टीहरूबीच २०६२ मंसीर ७ गते १२ बुँदे सहमति भयो। त्यसपछि माओवादीले पनि हतियार बिसाई शान्तिपूर्ण जनआन्दोलनमा सहभागी हुने भयो। सबै मिलेर आन्दोलन भयो र विघटित संसद पुनस्र्थापित भयो। आन्दोलनरत माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न भयो। नेपालको अन्तरिम संविधान २०६३ निर्माण भयो र माओवादी समेतलाई सम्मिलित गरी अन्तरिम व्यवस्थापिका संसदको निर्माण भयो। माओवादी समेत सम्मिलित संयुक्त सरकार बन्यो र नेपालको भावी संविधान निर्माण गर्नका लागि संविधान सभाको निर्वाचन गरायो।

danfe
नेपालको राष्ट्रिय चरा डाँफे

वि.सं. २०६५, जेठ १५ गते बसेको संविधान सभाको बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गर्‍यो। त्यसपछि गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपतिको रूपमा डा. रामवरण यादव र उपराष्ट्रपतिमा परमानन्द झा चुनिए। हाल नेपालको राष्ट्रपतिमा विद्यादेवी भण्डारी, उपराष्ट्रपतिमा नन्दकिशोर पुन र प्रधानमन्त्रीमा केपी शर्मा ओली छन्।

नेपालको भौगोलिक नक्सा

नेपाल मोटामोटी चारकुने आकारको छ। नेपालको लम्बाई करिब ८०० किलोमिटर (५०० माइल) र चौडाई २०० किलोमिटर (१२५ माइल) छ। नेपालको कुल क्षेत्रफल १४७,१८१ वर्ग किलोमिटर (५६,८२७ वर्ग माइल) छ। नेपाल भौगोलिक हिसाबले ३ भागमा विभाजन गरिन्छ, हिमाली क्षेत्र, पहाड, र तराई। यी क्षेत्रहरू पूर्वपश्चिम दिशामा देशभरि फैलिएका छन् र यीनीहरूलाई नेपालका प्रमुख नदीहरूले ठाउँ–ठाउँमा विभाजन गरेका छन्। तराइ क्षेत्र र पाहाडी क्षेत्रका बीच दक्षिणमा चुरे तथा उत्तरमा माहाभारत शृंखलाले घेरिएका विभिन्न सात वटा उपत्यकाहरूको समूह छ, जसलाई भित्री मधेश पनि भनिन्छ।

भारतसँग जोडिएको तराइ फाँट नेपालको मूखय उर्भराभूमि हो। यो भागको सिंचाई तथा भरणपोषणमा तीन नदीको मुख्य हात छ, यी नदीहरू हुन्, कोशी, गण्डकी र कर्णाली नदी। यो भूभाग उष्म र सन्तृप्त छ। नेपाल र बङ्गलादेशको सीमाना नजोडिएता पनि यी दुई राष्ट्र २१ किलोमिटर (१३ माइल) को एउटा सांघुरो चिकेन्स् नेक भन्ने क्षेत्रबाट छुट्टिएका छन्। यो क्षेत्रलाई स्वतन्त्र व्यापार क्षेत्र बनाउने प्रयास भइरहेको छ। तीन ठूला नदीहरुमा नेपालमा नारायणी, कालीगण्डकी, बाग्मती, राप्ती, भेरी, सेती, सुनकोशी, तामाकोशी, इन्द्रावती, भोटेकोशी, त्रिशुली, बुढीगण्डकी लगायतका नदीहरु गएर मिसिएका छन्।

पहाडी भूभागमा १,००० देखि ४,००० मिटरसम्मका (३,३००–१३,१२५ फिट) उचाइका पर्वत पर्दछन्। यो क्षेत्रमा महाभारत लेक र सिवालिक शृंखला (चुरिया) नामका दुई साना पहाडी शृंखला मुख्य शृंखला हुन्। पहाडी क्षेत्रमा काठमाडौं उपत्यका पनि पर्दछ, जुन नेपालको सबैभन्दा उर्वर तथा सहरी क्षेत्र हो। पहाडी क्षेत्रको उपत्यकाहरूको दाँजोमा २,५०० मिटर (८,२०० फिट) भन्दा उच्च स्थलमा जनघनत्व निकै कम छ।

हिमाली क्षेत्रमा संसारका सबैभन्दा उच्च हिमशृंखलाहरू पर्दछन्। यस क्षेत्रको उत्तरमा चीनको सीमानामा संसारको सर्वोच्च शिखर सगरमाथा ८,८४८ मिटर (२९,०३५ फिट) अवस्थित छ। संसारका ८,००० मिटरभन्दा अग्ला १४ चुचुरामध्ये ८ वटा नेपालको हिमाली क्षेत्रमा पर्दछन्। कञ्चनजङ्घा (८५८६ मि.) संसारको तेस्रो उच्च शिखर पनि यही हिमाली क्षेत्रमै पर्दछ। अन्य हिमालहरुमा ल्होत्से (८५१६), मकालु (८४६२), चोयु (८२०१), धौलागिरी (८१६७), अन्नपूर्ण (८०९१), मनास्लु (८०१६) रहेका छन्। यसका साथै नेपालमा सयौं अग्ला हिमालहरु रहेका छन्।

नेपालमा पाँच मौसमी क्षेत्र छन्, जुन उचाइसँग केही मात्रामा मेल खान्छन्। उष्ण तथा उपोष्ण क्षेत्र १,२०० मिटर (३,९४० फिट) भन्दा तल, शीतोष्ण क्षेत्र १,२०० देखि २,४०० मिटर (३,९००–७,८७५ फि), चिसो क्षेत्र २,४०० देखि ३,६०० मिटर (७,८७५–११,८०० फि), उपआक्र्टिक क्षेत्र ३,६०० देखि ४,४०० मिटर (११,८००–१४,४०० फि), र उत्तरी ध्रुवीय क्षेत्र ४,४०० मिटर (१४,४०० फिट) भन्दा माथि। नेपालमा छ ऋतुहरू छन्, ग्रीष्म, वर्षा, शरद्, शिशिर, हेमन्त र वसन्त। हिमालयले मध्यएसियाबाट बहने चीसो हावालाई नेपाल पस्नबाट रोकिदिन्छन् तथा मनसुनको वायुको उत्तरी परिधिको रूपमा पनि काम गर्दछन्।

नेपालको सङ्घीय संरचना

नेपालको संविधानको धारा ५६ (१) ले सङ्घ, प्रदेश र स्थानीय तह गरी ३ तहको राज्यको मूल संरचना रहने व्यवस्था गरेको छ। वि.सं. २०७२ असोज ३ गते जारी गरिएको नेपालको संविधान २०७२ को अनुसूची ४ बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरिएको छ। यसै प्रकार नेपालमा ७५३ स्थानीय तह रहेको छ, जसमा ६ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका र ४६० गाउँपालिका रहेको छ। ७ वटै प्रदेश र ७५३ वटै स्थानीय तहहरुमा निर्वाचित सरकारले काम गरिरहेका छन्।

नेपालको संस्कृति

नेपाल सांस्कृतिक विविधताले भरिएको देश हो। नेपालको आफ्नै मौलिक संस्कृति छ। वैदिक सनातन एवं प्राकृतिक धर्ममा विश्वास गर्ने नेपालीहरूले मनाउने प्रमुख पर्व दशैं हो। यो पर्व शरद ऋतु अर्थात् आश्विन शुक्ल पक्षमा पर्छ, जसलाई देवी पक्ष पनि भनिन्छ। उक्त पन्ध्र दिनभित्र आदिशक्ति देवी भगवतीलाई प्रसन्न पार्न अनेकौं धार्मिक अनुष्ठान एवं पूजाआराधना गरिन्छ। देवी पक्षहरू वर्षमा तीनवटा पर्छन्। असोजको यो कालरात्रि पर्ने देवीपक्षबाहेक कार्तिकमा सुखरात्रि तथा चैत्रमा महारात्रि पनि पर्छ। यीमध्ये आश्विन शुक्लमा पर्ने कालरात्रिलाई विशेष रूपमा मनाउने चलन छ, जसअन्तर्गत बडादसैं पर्दछ।

gosaikunda-lake
रसुवाको गोसाइकुण्ड

यस्ता विशेष अवसरमा गरिने पूजा वा साधनाले विशेष फल दिलाउने जनविश्वास रहिआएको छ। त्यसैले दशैंका नौ दिनसम्म भगवतीको विशेष पूजाआजा गरी दशौं दिन प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्ने चलन छ। पूजा गरेर प्रसाद ग्रहण गर्ने क्रम पूर्णिमासम्म रहन्छ। पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि देवीको पूजा पनि समाप्त हुन्छ। शक्तिस्वरूपा देवी भगवतीका अनेकौं स्वरूप छन्। ती स्वरूपको वर्णन दुर्गा शप्तशती एवं देवीभागवतजस्ता ग्रन्थहरूमा भेटिन्छ। तीमध्ये प्रमुख रूपमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री नाम गरेका देवीको पूजाआराधना दशैंका नौ दिनसम्म क्रमैसँग हुन्छ। जसलाई नवदुर्गाका नामले चिनिन्छ।

नवदुर्गाको पूजा गर्नाले सारा पाप नाश भै मनका चाहना पूरा हुने विश्वास गरिन्छ। यी देवीहरू समस्त प्राणीका शरीरमा माता, विद्या, लक्ष्मी, शक्ति, बुद्धि, माया, शान्ति, धृति, क्षमा, दया, निद्रा आदि स्वरूपमा विराजमान छन्। दसैंका बेलामा आफूमा निहित ती शक्तिलाई प्रकट गरेर अभीष्ट पूरा गर्ने मनसायले प्रेरित भई मानिसहरूले अनेकौं साधना गर्छन्।

पृथ्वीनारायण शाहले नेपाललाई चार वर्ण ३६ जातको फूलबारीको उपमा दिए। तर, नेपालमा १२९ भन्दा बढी जातिहरु रहेका छन्। ती जातिमध्ये धेरैजसो जनजातिहरुका आफ्नै मौलिक संस्कृति छन्। ल्होसार, नेपाल सम्वत्, बकर इद, छठ, माघी लगायतका पर्वहरु नेपालका प्राचीन एवं मौलिक पर्वहरु हुन्। राई, लिम्बु, तामाङ, गुरुङ, मगर, थकाली, भोटे, थारु, मधेशी, मुस्लिम लगायत नेपालमा बसोबास गर्ने जातिहरुका आफ्नै भाषा, संस्कृति, भेषभुषा र रहनसहन रहेका छन्। नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक देश हो, जुन कुरा नेपालको संविधानको प्रस्तावनामै उल्लेख गरिएको छ।

नेपालका खानाहरु

नेपालीको सामान्य खाना भनेको दाल, भात, तरकारी र बढिमा अचार हो। यस प्रकारको खाना नेपालीहरू एक चोटी बिहान र एक चोटी रातमा गरेर दिनको जम्मा दुई पटक खान्छन्। यी खानाहरूको बीचमा चिउरा तथा चियाको सेवन पनि गरिन्छ। समय(समयमा माछा, मासु, अण्डा आदिको सेवन पनि गरिन्छ। हिमाली भेगमा फापर, गहुँ, मकै, कोदो, आलु आदिको खाना हुन्छ भने तराईमा गहुँको रोटीको प्रचलन धेरै छ। कोदोको मादक पदार्थ तोङ्गबा, छ्याङ, रक्सी आदिको सेवन हिमाली भेगमा बढी हुन्छ। नेवार समुदाय आफ्नै विशेष किसिमको नेवारी परिकारहरू सेवन गर्दछन्।

नेपाललाई ८४ व्यञ्जनको देश पनि भनिन्छ। यहाँ थारु र नेवारी समुदायका खाना विशेष रुपमा परिचित छ। नेपालमा सबै जातिका आफ्ना मौलिक परिकारहरु रहेका छन्। हिमाल, पहाड, तराई र विभिन्न जाति जनजातिहरुका आफ्नै विशेषताअनुसारका खानाहरु छन्। नेपालमा वर्षेनि आउने लाखौं पर्यटकहरुले ती खानाहरुको स्वाद लिने गर्दछन्।

शिक्षामा नेपाल

नेपालमा आधुनिक शिक्षाको सुरुवात राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको बेलायत यात्रापछि स्थापित दरबार हाइस्कूल (हालको रानीपोखरी किनारको भानु मावि) बाट भएको हो। यसभन्दा अगाडि नेपालमा केही धर्मशास्त्रीय दर्शनमा आधारित शिक्षामात्र दिइन्थ्यो। आधुनिक शिक्षाको सुरुवात १९८२ मा भएपनि यो आम नेपाली जनताका लागि भने सुलभ थिएन। तर, देशका बिभिन्न भागमा केही विद्यालय दरवार हाइस्कूलको सुरुवात सँगै खुल्न सुरु भए। नेपालमा पहिलो उच्च शिक्षाको केन्द्र चाहिँ काठमाडौंमा रहेको त्रि–चन्द्र क्याम्पस हो। राणा प्रधानमन्त्री चन्द्र सम्शेरले आफूसँगै राजा त्रिभुवनको नाम जोडी यस क्याम्पसको नाम राखेका थिए। यो क्याम्पसको स्थापना पछि नेपालमा उच्च शिक्षा आर्जन धेरै सहज हुन पुगेको थियो।

राजनीतिक परिवर्तनपछि राणा शासनमुक्त देशले २०१६ मा त्रिभुवन विश्वविद्यालयको स्थापना गर्‍यो। त्यसपछि महेन्द्र संस्कृतका साथै अन्य विश्वविद्यालयहरू पनि खुल्दै गए। नेपालको शिक्षाको सबैभन्दा मुख्य योजनाकार शिक्षा मन्त्रालय हो। त्यस बाहेक शिक्षा विभाग, क्षेत्रीय शिक्षा निर्देशनालयहरू, जिल्ला शिक्षा कार्यालयहरू, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, उच्चमाध्यमिक शिक्षा परिषद्, पाठ्यक्रम विकास केन्द्र, विभिन्न विश्वविद्यालयका परीक्षा नियन्त्रण कार्यलयहरू विकास विस्तार तथा नियन्त्रणका क्षेत्रमा कार्यरत छन्।

नेपालका विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय – वि.सं. २०१६ सालमा स्थापित त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठूलो राष्ट्रिय विश्वविद्यालय हो। यो विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुर काठमाडौंमा छ। यो विश्वविद्यालय नेपालको थिंकट्याङ्कको रूपमा पनि चिनिन्छ।

Rara-lake
कर्णालीको मुगमा अवस्थित रारा ताल

नेपाल संस्कृत विश्वविद्यालय – नेपालको दोस्रो पुरानो र काठमाडौं उपत्यका बाहिर दाङ जिल्लामा स्थापित यो विश्वविद्यालय वि.सं. २०४२ मा स्थापना भएको हो। संस्कृत शिक्षाको उच्च तह आयुर्वेद, तथा आधुनिक शिक्षामा समेत पढाइ हुने यो विश्वविद्यालयको कार्यालय वसन्तपुरमा रहेको छ।

काठमाडौं विश्वविद्यालय – वि.सं. २०४७ मा स्थापित विश्वविद्यालय काभ्रे जिल्लाको धुलिखेलमा रहेको छ। व्यवस्थापन, वाणिज्य, विज्ञान तथा चिकित्साशास्त्रको यो विश्वविद्यालयमा पढाइ हुने गरेको छ। प्राविधिक विश्वविद्यालयका रुपमा परिचित यस विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ।

यसका साथै पूर्वाञ्चल विश्वविद्यालय (२०५१), पोखरा विश्वविद्यालय (२०५२), लुम्विनी विश्वविद्यालय (२०६१), नेपाल कृषि तथा वन विश्वविद्यालय (२०७२) लगायतका मूख्य छन्। यी विश्वविद्यालयहरुमा प्राविधिक विषयमा पढाइ हुन्छ। त्यसैगरि मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र खुल्ला विश्वविद्यालय पनि नेपालमा सञ्चालन भइसकेका छन्।

नेपालमा धेरै पहिलेदेखि नै आयुर्वेदीय प्राकृतिक चिकित्सा पद्धति उपयोगमा थियो। वैद्य र परम्परागत चिकित्सकहरू गाउँघर तथा सहरमा स्वास्थ्य सेवा पुर्‍याउँथे, उनीहरूको औषधिका श्रोतहरू नेपालको हिमालदेखि तराईसम्म पाइने जडिबुटीहरू नै हुन्थे। हाल नेपाल चिकित्सा विज्ञानका दृष्टिले पनि क्रमशः विकासको चरणमा छ।

नेपालका राष्ट्रिय चिन्हहरु यस प्रकार रहेका छन्, राष्ट्रिय पंक्षीमा डाँफे, राष्ट्रिय जनावरमा गाई राष्ट्रिय वाणिमा ‘जननी जन्मभूमिश्च स्वर्गदपी गरियसी’, राष्ट्रिय फूलमा लालीगुराँस, राष्ट्रिय खेलमा भलिबल, राष्ट्रिय भाषा नेपाली, राष्ट्रिय रंगमा सिम्रिक रहेका छन्। नेपालको राष्ट्रिय गान यस प्रकार छ :–

राष्ट्रिय गान

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली, सार्वभौम भई फैलिएका, मेची महाकाली। प्रकृतिका कोटीकोटी सम्पदाको आँचल, वीरहरूका रगतले, स्वतन्त्र र अटल। ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल, अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल, अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्