काठमाडौं। १४ अञ्चल ७५ जिल्ला खारेज गरी ७ प्रदेश र ७७ जिल्लाको संरचनामा गएपछि बनेको पश्चिम रुकुम जिल्ला नेपालको कान्छो जिल्ला मानिन्छ। संघीय संरचनाको निर्माणमा साविकको रुकुम जिल्लालाई २ वटा जिल्ला र साविकको नवलपरासी जिल्लालाई २ जिल्ला गरी ७७ जिल्लाको संरचना बनेको छ। त्यसैअनुसार रुकुम जिल्ला पनि पूर्वी रुकुम र पश्चिम रुकुमका रुपमा कायम भएको छ।
पश्चिम रुकुम कर्णाली प्रदेशको सबैभन्दा पूर्वी भागमा रहेको जिल्ला हो। यो जिल्ला राजनीतिक परिवर्तनका दृष्टिले सधैं अग्रणी जिल्लामा रहँदै आएको छ। पश्चिम रुकुममा ६ स्थानीय तह र ७३ वडा रहेको छन्। पश्चिम रुकुममा मुसीकोट, चौरजहारी र आठविसकोट नगरपालिका र त्रिवेणी, बाफिकोट र सानीभेरी गाउँपालिका रहेका छन्।
यस जिल्लाको ऐतिहासिक पृष्ठभूमिमा मध्यकालीन बाइसे राज्यहरूमध्ये रुकुमकोट, मुसिकोट, बाँफिकोट, गोतामकोट र जहारीकोटहरू पर्दथे। रुकुमकोटमा रुक्मीणी नाम गरेकी देवीको मन्दिर छ। उनकै नामबाट रुकुमकोटको नामाकरण भएको र रुक्मीणीदेवी शब्दको अप्रभंश भई रुकुम नाम रहन गएको हो भन्ने भनाइ छ। ऐतिहासिक अभिलेखको आधारमा जुम्लाका राजा मेदनी बर्माले आफ्ना माइला भाइ पिताम्बरलाई रुकुमको राज्य दिएका थिए। केही राज्यहरू स–साना नाम मात्रका थिए। ती स–साना रजौटाहरूको अधिनमा थोरै जनसंख्या भएका गाँउ हुन्थे।

राज्यको आम्दानी पनि थोरै हुन्थ्यो। उनीहरूलाई आफ्नो अस्तित्व जोगाउन कठिन हुन्थ्यो। शक्तिशाली राज्यहरूको इशारामा चल्नुपर्ने बाध्यात्मक स्थिति र बृहत नेपालको सिर्जना गर्ने दृढ संकल्पका साथ पृथ्वीनारायण शाहले आफ्नो एकीकरण अभियान पूर्वतिर चलाइराखेका थिए। उनको मृत्युपछि राजा प्रतापसिंह शाहले बाबुको सपना साकार पार्न कविलासपुरमा हमला गरी विजय प्राप्त गरे।
उनको अल्पआयुमै मृत्यु भएपछि राजमाता राज्यलक्ष्मीको लमजुङ्ग, तनहु, नुवाकोट, भिर्कोट, कास्की रिसीङ, घिसिङमाथि विजय प्राप्त गरी राजमाताको देहान्त पछि बहादुर शाहले नायवी भई काम गरे। बहादुर शाह (रणबहादुर शाहको राज्यकाल) ले पिता पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान सफल पार्न अघि सरे। पाल्पासँग आफ्नो वैवाहिक सम्बन्ध कायम राखी कुटनीतिक दृष्टिको आधारमा पश्चिम पाल्पा र सल्यानबाट मद्दत लिने योजना बनाए।
पश्चिमबाट बहादुर शाहले पाल्पाबाहेक सबै राज्यहरू विजय गरे। सल्यानले नेपाल सरकारलाई सहयोग गरेको देखेर दाङ्ग, जाजरकोट र रुकुम राज्यले आपसमा मिलेर सल्यानमाथि सामूहिक हमला गर्ने मिलोमतो गरे। तर, काजी दामोदर पाण्डे, काजी जगत्जङ्ग पाण्डे, सरदार परवल राना र सुब्बा फौदसिंहको नेतृत्वमा नेपाली सैन्यले दाङमाथि विजय गरी सल्यानलाई सुम्पेको देखिन्छ। काजी जिप शाह, सरदार अमरसिह थापा, सरदार पारथ भण्डारी र सुब्बा जोग मल्लले उपल्लो खसीको बाटोगरी जहारीटार पुगी जाजरकोटसँग सिढी सन्धि पत्र गरे।
यसरी रुकुमकोट लगायत मुसिकोट, बाँफिकोट, जहारीकोट, आठविसकोट, गोतामकोट जस्ता स–साना राज्यहरू रणबहादुर शाहको राज्यकालमा नेपालमा एकीकरण भयो। यसरी एकीकरण भएको रुकुम जिल्ला वि.सं. २०१८ सालमा १४ अञ्चल ७५ जिल्लामध्ये मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत राप्ती अञ्चलको उत्तरी भेकमा सुन्दर सिस्ने हिमालको काखमा अवस्थित रुकुम जिल्ला एक दुर्गम जिल्लाको रुपमा चिनिन्छ।

यहाँ पौराणिक लोक संस्कृति, परम्परा, चालचलन, रीतिरिवाज विद्यमान छन्। विविध, जातजाति, भाषाभाषी, संस्कृति यस जिल्लाको विशेषता हो। अग्ला अग्ला पर्वतको खोचमा रुकुमकोट (जिल्लाको पुरानो सदरमुकाम) नामको उपत्यका पनि छ। पोखरी आकारमा साना साना खाल्टाखुल्टी र थुम्का टाकुरा भएको यस स्थानलाई ५२ पोखरी ५३ टाकुरी पनि भनिन्छ। वि.सं. २०३० सालमा रुकुमकोटवाट सदरमुकाम जुम्ली खलंगा मुसिकोटमा सरेको हो। आजभोलि यसलाई खलंगा मुसीकोट भन्ने गरिन्छ।
यो जिल्ला ऐतिहासिक पुरातात्विक, प्राकृतिक एवम सांस्कृतिक सम्पदामा अति नै वैभवशाली मानिन्छ। बाउन्न पोखरी त्रिपन्न टाकुरी भनेर चिनिने रुकुममा पहिलो पटक पाइला टेक्ने जो कोहि पनि हर्षविभोर नभई रहन सक्दैन। सानोभेरी, ठुलोभेरी जस्ता नदीले फन्को मारी बग्ने सयौं खोला तथा नदीनालाहरू, झर्नाहरू अनि लेकमा फुल्ने गुराँसको मनोरक दृश्य र डाँफे मुनाल तथा कालिजका सुमधुर संगितमय आवाजले जिल्लालाई अझै सुन्दर बनाएको छ। बाह्रै महिना सेतो घुम्टो ओढी उत्तरतर्फ रहेको सिस्ने हिमालको दृश्य अति नै मनमोहक देखिन्छ। धार्मिक तथा ऐतिहासिक दृष्टिले समृद्ध मानिने प्रमुख दर्शनीय स्थलहरूमा डिगे्र शाईकुमारी मन्दिर, स्यार्पू दह, कमल दह, रुकुमकोट, जुम्ली खलंगा, मुसिकोट, ढोरपाटन शिकार आरक्ष, देउराली गुफा आदि रहेका छन्।

रुकुम जिल्ला २८ २९’ देखि २९ ०’ उत्तरी अक्षांश, ८२ १२’ देखि ८२ ८३’ पूर्वि देशान्तरसम्म रहेको छ। यस जिल्लामा ७१४ बेंशीदेखि ६६०२ मीटरसम्मका हिमालहरु पर्दछन्। जिल्लाको सदरमुकाम मुसिकोटको उचाइ १४४८ मिटर रहेको छ। जिल्लाको क्षेत्रफल २८७७ वर्ग कि.मी. रहेको छ।
रुकुमको सीमानामा पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा जाजरकोट जिल्ला, उत्तरमा डोल्पा जिल्ला र दक्षिणमा सल्यान रोल्पा जिल्ला रहेका छन्। हाल पश्चिम रुपमा छुट्टै जिल्लाका रुपमा कायम भएपछिको भौगोलिक अवस्थितिबारे आधिकारिक तथ्याङ्क बनिसकेको छैन। तसर्थ, जिल्ला परिचयमा कतिपय विषय समग्र रुकुम जिल्लाकै परिचयका रुपमा लिनुपर्ने अवस्था पनि छ।
जिल्लाका प्रमूख व्यापारिक केन्द्रहरुमा मुसीकोट, बाँफीकोट, रुकुमकोट, आठविसकोट, राडिज्युला, नायगाड, चौरजहारी, सिम्रुत, झुलखेत, चुनबाङ्ग, सिम्ली, सोलावाङ, राउखेत, गोतामकोट, झुलनेटा, पोखरा, महत र दोमई आदि रहेका छन्। रुकुममा १६०० देखि २४०० मिमिसम्म औसत वर्षा हुने गर्दछ, तापक्रममा न्यूनतम ०.४ डिग्री सेल्सियसदेखि अधिकतम ३४ डिग्री सेल्सियससम्म रहने गर्दछ। यहाँ अर्धउष्ण, समशितोष्ण, शितोष्ण हावापानी पाइन्छ।
प्रमुख धार्मिक स्थलहरूहरुमा डिग्रे साईकुमारी भगवती र कालिका मन्दिर खलंगा, बराह मन्दिर र शिवजी मन्दिर रुकुमकोट, गाधीघर देउती मन्दिर बाँफीकोट, देवीस्थान, सिस्ने, शिवजी मन्दिर विजयश्वरी, चौरजहारी, चर्चघर मुसीकोट र तकसेरा, मस्तथान मैकोट, कालिका मन्दिर गोतामकोट, लक्ष्मीनारायण मन्दिर आठविसकोट रहेका छन्।
पर्यटकीय स्थलहरूमा सिस्ने हिमाल, पुथा हिमाल, स्यार्पू ताल, कमल ताल, सुन दह, गुप्ता दह, सम्पे ताल, देउराली गुफा, तकसेरा गाउँ, लुकुम गाउँ, राङसी गाउँ, कोल गाउँ, हुकाम गाउँ, मैकोट गाउँ, महत गाउँ, काँडा गाउँ र सीमा गाउँका मगर बस्तीहरू, गोतामकोटको बस्ती, रुकुमकोटको बस्ती, चौरजहारी बस्ती, चाँपा तरकारी बिउ उत्पादन केन्द्र, कानखाने लेक मौराखारा लेक, सिमैछरी झरना, सातामाटे कालापोखरा क्षेत्र, चित्री पाटन, लालपाटन, ढोरपाटन वन्यजन्तु आरक्ष मूख्य रहेका छन्।

जिल्लाको कुल क्षेत्रफल २९३१८२ हेक्टर रहेको छ। त्यसमध्ये, कृषि योग्य जमिन ३५३५९.६८ हेक्टर, वन क्षेत्र १६१७८५६ हेक्टर, चरन क्षेत्र ५९२०७ हेक्टर, खेती योग्य जमिन २९४७४ हेक्टर, आवास क्षेत्रले ढाकेको २१४ हेक्टर र सिञ्चित भूमि ६६८१.३५ हेक्टर रहेको छ। कृषि उत्पादनका दृष्टिले रुकुम आधारभूत रुपमा आत्मनिर्भर जिल्ला मानिन्छ। जिल्लाको खाद्य स्थिति १५११ (न्यून) मेट्रिक टन रहेको छ।
जिल्लामा पाइने मूख्य रुखका प्रजातिहरुमा बाँज, खस्रु, सिसौं, गुराँस, ओखर, साज, साल, पाङ, ठिङ्गो, चिउरी, टुनी, चाँप, काफल, सल्लो, उत्तीस, चिलाउने, कटुस आदि रहेका छन्। त्यसैगरि वन्यजन्तु तथा चराचुरीहरुमा कस्तुरी, मृग, नावर, रेड पाण्डा, रातो बाँदर, ढेडु, झारल, थार, बाघ, खरायो, स्याल, दुम्सी, लोखर्के, गोहोरो, डाँफे, मुनाल, च्याुकुरा, तित्रो, कालिज, ढुकुर, पिउरो, जुरेली, भद्रो, सारौं आदि रहेका छन्।
जडीबुटीका दृष्टिले रुकुम धनी जिल्ला मानिन्छ। यहाँ यार्सागुम्बा, पाँचऔंले, कुरिलो, टिमुर, दाल्चिनी, गुर्जो, कटुकी, पाङर, बादलपाते, बोझो, हर्रो, अमला, पदमचाल, सतुवा, हलहले, कुमकुम, चिराइतो, जटामसी, भलायो आदि जडीबुटी पाइन्छ। जिल्लामा जडीबुटीबाट घरेलु औषधिहरुसमेत उत्पादन गर्न थालिएको छ।
वि.सं. २०६८ सालको जनगणनाअनुसार जिल्लाको कुल जनसंख्या २०८५६७ रहेको छ। त्यसमध्ये पुरुष ९९१५९ जना र महिला १०९४०८ जना रहेका छन्। जिल्लामा ४१८५६ घरधुरी रहेका छन्। प्रतिपरिवार औसत ५.९८ जना मानिसहरु बस्ने गर्दछन्। जनघनत्व ७३ प्रतिकिमि रहेको छ। जिल्लाको औसत आयुदर ६८ वर्ष रहेको छ।
रुकुम जिल्लाको मानव विकास सूचाकांक दर ०.४३१ रहेको छ। रुकुम जिल्लाको मानव गरिबी सूचकाङ्क ३९, लैगिंक विकास सूचाकाङ्क ०.३६४ रहेको छ। वि.सं. २०६८ सालको जनगणनाअनुसार रुकुम जिल्ला मानव विकास सूचाकांकमा नेपालका ७५ जिल्लामध्ये ६३ औं स्थानमा रहेको छ। संघीय संरचना बनेपछि उक्त सूचाकांकको थप विश्लेषण भएको छैन।
पूर्वी र पश्चिम रुकुममा गरी तहगत रुपमा प्राथमिक विद्यालय २४७, संस्थागत आवासीय विद्यालय ३२, तहगत रुपमा निम्न माध्यमिक विद्यालय ७०, तहगत रुपमा माध्यमिक विद्यालय ५० र उच्च माध्यमिक तहका शिक्षण संस्था ३२ रहेका छन्। त्यसैगरी ९ वटा क्याम्पस, शिशु स्याहार कक्षा (बाल विकास केन्द्र) २८३, नागरिक सचेतना केन्द्र ६५, बाल क्लव १८३ र बाल गृह (बाल सूचना केन्द्र) १ रहेका छन्।

रुकुम जिल्लामा पाइने खनिज पदार्थहरुमा तामा, सिसा, कोइला, फलाम, चक, स्टेल, शीलाजित, गन्धक आदि छन्। त्यसैगरि जिल्लाबाट निर्यात हुने वस्तुहरूमा यार्सागुम्वा, अन्य जडिबुटी, तरकारी बीऊ, घ्यु, मह, सुठो, चामल, दाल, शीलाजित, नेपाली कागज, अल्लाको प्रशोधित धागो, ऊनी कम्बल आदि रहेका छन्।
जिल्लामा जिल्ला अस्पताल १, चौरजहारी अस्पताल १, प्राथमिक स्वास्थ्य उपचार केन्द्र २, स्वास्थ्य चौकी ४१, आयुर्वेद औषधालय १, आँखा उपचार केन्द्र १, रुकुमेली सामुदायिक अस्पताल १, प्रसुति केन्द्र २४, पि.एस.ओ.आर.सी. १२६ रहेका छन्। तर, जिल्लामा आधुनिक र सुविधासम्पन्न स्वास्थ्य केन्द्र र अस्पतालहरु बन्न सकेका छैनन्। भौगोलिक विकटता र राज्यको उपेक्षाका कारण रुकुमले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा फड्को हान्न सकेको छैन।
रुकुम जिल्ला पर्यटन, जडीबुटी र जलस्रोतका दृष्टिले धेरै सम्भावना बोकेको जिल्ला हो। तर, कर्णाली प्रदेशलाई राज्यले सधैंजसो उपेक्षा गर्दै आएको छ। संघीय संरचना बनेपछि देशका सबै जिल्लाको सन्तुलित विकास हुने अपेक्षा गरिए पनि केन्द्रशासित मानसिकताले त्यसमा चुनौति थपिदिएको छ।
स्रोत : जिल्ला समन्वय समिति रुकुम र विकीपीडिया।