‘बयान फेराउन आलमका मान्छेले मलाई अपहरण गरे’ 

Rahutahat pidit
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २६ कात्तिक। रौतहट बमकाण्डका घाइतेले बयान फेराउन आलमका मान्छेले आफूलाई अपहरण गरेको बताएका छन्। रौतहट बमकाण्डका घाइते गौरीशंकर रामले आफूलाई मोहम्मद अफताव आलमका सहयोगीहरुले अपहरण गरेर बयान फेर्न दबाव दिएको बताएका हुन्।

उनले आफू स्टोभ पड्किएर नभइ २०६४ सालमा राजपुरको फरहदवामा भएको बम विष्फोटमा परेर घाइते भएको बताए। रौतहटमा आज पत्रकारहरुसँग कुरा गर्दै गौरीशंकरले आलमका मान्छेहरुले ४ दिनसम्म एउटा घरको कोठामा थुनेर डर, धम्की र प्रलोभनमा पारेर कागजमा दस्तखत गराएको बताएका छन्।

घटनाको विवरण सुनाउँदै गौरीशंकरले भनेका छन्, म इट्टा भट्टामा काम गर्ने मान्छे । त्यो दिन काम गरेको पैसा लिन मुन्सीले भनेपछि अफताबको घर गएको थिएँ। तर घर नजिकै पुग्दा अचानक विष्फोट भयो। विष्फोटबाट मेरो शरीरमा आगो लाग्यो। अनि केही पर गएर म खेतमा लडेँ । त्यसपछि के भयो मलाई थाहा छैन। पछि आफन्तहरुले मलाई उपचारका लागि सितामढी अस्पताल लगेको थाहा पाएँ । त्यहाँ बम विष्फोटमा परेर घाइते भएको भन्दा उपचारमा अप्ठेरो हुने भएकाले स्टोभ पड्केर घाइते भएको भनिएको थियो।

गौरीशंकरले भने, अफताब पक्रिएको थाहा पाएपछि म केश गर्न आएँ । म घरमा थिएँ । गाडी लिएर चार जना आए । अनि गाडीमा लगेर गए । चार दिनसम्म थुनेर राखे । अनि के-के कागजमा साइन गराए । हिजो गाडीमा ल्याएर छाडिदिए। तीन मानिसले मलाई अदालतमा छाडेर गए । मलाई अपहरण गरेका चार जनामध्ये एक जना नौसाद बाहेककालाई म चिन्दिन।

उनीहरुले आलमलाई बचाउनुपर्छ भन्दै मलाई जतिसुकै पैसा चाहिए पनि दिने बताएका थिए। अनि यताउता गरेमा तिम्रो घरपरिवार पनि होला, विचार गर्नु भनेर चेतावनी दिएका थिए। स्टोभ पड्किएको भन्ने कुरा गलत हो । उपचारका क्रममा बच्न सितामढीमा स्टोभ पड्केर घाइते भएको भनेको थिएँ। अहिले म प्रहरीकोमा छु । सुरक्षित छु

आलमका व्यक्तिहरुले स्टोभ पड्किएर घाइते भएको बयान दिन बाध्य बनाएपछि गौरीशंकर हिजो त्यही व्यहोराको निवेदन लिएर रौतहट जिल्ला अदालत पुगेका थिए। प्रहरीले आलमका मान्छेहरुले उनलाई होस्टायल गरेको संकेत पाएर आफूसँगै लिएर गएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्