नेकपाको जनमत घट्यो, हामी उत्साहित छौं : साउद

np saud
लाेकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एन.पी. साउदले उपनिर्वाचनले कांग्रेसको जनमत बढेको र नेकपाको जनमत घटेको स्पष्ट पारेका छन्। उनले भने,‘यो निर्वाचनले कांग्रेसको जनमत बढेको छ।

अहिले दुई तिहाई बहुमतको वर्तमान सरकारमा गम्भीर ह्रास भएको छ। हामी आगामी दुई वर्षमा कांग्रेसलाई पूर्नस्थापित गराउँछौं। कांग्रेस बलियो हुन्छ।’ आफूहरु आगामी निर्वाचनको लागि तयारीमा जुटेको पनि उनले बताए। उनले भने,‘यो निर्वाचन परिणामलाई सकारात्मक रुपमा लिएका छौं। जनताप्रति हामी हार्दिक आभार र धन्यवाद व्यक्त गर्न चाहन्छौं।’

यद्धपी उपनिर्वाचनको परिणामले तीनवटै तहका आधारभुत संरचनामा खासै प्रभाव नपर्ने उनको भनाई छ। उनले भने,‘यो निर्वाचनले नेकपाप्रति रुची घटाएको छ। कतिपय महत्वपूर्ण ठाउँमा हामीले जित हाँसिल गरेका छौं। भक्तपुर र धरानमा हामीले जित्यौं। कतिपय महत्वपूर्ण वडामा पनि जितेका छौं। यसले कांग्रेसलाई उत्साहित बनाएको छ।’

त्यस्तै, कांग्रेस पराजित भएका कतिपय ठाउँमा पनि धेरै ठूलो मतान्तर नभएको उनको स्पष्टोक्ति थियो। उनले भने,‘पराजित भएका ठाउँमा पनि हामीले मतान्तर घटाएका छौं। निर्वाचनको परिणाम सत्तासिन अनुकुल आएन्, यो भनेको उसको लोकप्रियतामा गम्भीर ह्रास हो।’ उपनिर्वाचनले सरकारप्रति जनताको असन्तुष्टि पोखिएको पनि उनको टिप्पणी छ।

काँस्की क्षेत्र नम्बर २ र दाङमा सहानुभुतिको कारण नेकपाका उम्मेद्धवारले विजयी हाँसिल गरेको उनको विश्लेषण छ। उनले भने,‘अरु ठाउँमा जहाँ नेकपाले उम्मेद्धवारले जितेका छन्, ती ठाउँमा पनि सहानुभुति लहरका कारण उनीहरुको अनुकुल परिणाम आएको हुनसक्दछ।

किनभने ती ठाउँमा तत्कालिन पदासिन व्यक्तिहरुका विद्यवाहरु उम्मेद्धवारको रुपमा रहिआएका थिए। त्यही भएर सहानुभुति भोट आयो।’ बाग्लुङमा त नेकपाले पराजयको डरले उम्मेद्धवारी नै नदिएको र जनमोर्चासँग आत्मसमर्पण गरेको उनले आरोप लगाए।