बाग्लुङ जिल्ला : एक संक्षिप्त परिचय

dhaulagiri-mountain
लाेकपाटी न्यूज

काठमाडौं। गण्डकी प्रदेशको उत्तर–पश्चिममा अवस्थित बाग्लुङ जिल्ला नेपालको रमणीय जिल्लाभित्र पर्दछ। नेपालभित्रको सानो नेपाल नामले परिचित बागलुङ जिल्ला प्राकृतिक रुपले चिटिक्क परेको सुन्दर पहाडी जिल्ला हो। पूर्वमा पर्वत, पश्चिममा रुकुम र रोल्पा, उत्तरमा म्याग्दी तथा दक्षिणमा गुल्मी र प्यूठानसँग सीमा जोडिएको छ।

कसरी रह्यो बाग्लुङ नाम ?

झोलुङ्गे पुलको जिल्लाका रुपमा पनि जिल्लाले अर्को चिनारी बनाएको छ। अधिकांश पहाडी भूभागमा पर्ने यो क्षेत्रको नामाकरणको पनि रोचक प्रसङ्ग छ। कुनै समय यस क्षेत्रमा बाघको संख्या बढी भएको र बाघहरु हिँड्दा पनि ताँती लागेर हिँड्ने भएकाले जनजीवन भयभित भएको थियो। भयावहबाट मुक्ति पाउन स्थानीय मगराती जातिमा ब्यक्तिहरुको सक्रियतामा बाघ छेद्ने, काटने वा मास्ने काम गरेकाले यसै प्रसङ्गमा ठाउँको नाम ‘बाघलुञ’ वा ‘ब्याघलु’ हुँदै पछि अपभ्रंश भएर बागलुङ रहन गएको भनाइ रहदै आएको छ।

बाग्लुङ जिल्लाको इतिहास

सोह्र हजार पर्वतको नामले प्रसिद्ध यस जिल्ला नेपालको एकीकरण पूर्व चौविसे राज्य अन्तर्गत पर्दथ्यो, जुन समयमा कोट कोटबाट भुरे टाकुरे राजाहरूले राज्य चलाउँदथे। ती कोटमध्ये यस जिल्ला अन्तर्गत पर्ने गल्कोट बिहुँकोट, संसारकोट, अर्नाकोट र माझकोट प्रसिद्ध मानिन्थ्यो।

baglung district map
संघीय संरचना अघिको बाग्लुङको नक्शा

चौधौं शताव्दीमा जुम्लामा राजाहरूले आफ्नो राज्य विस्तार गर्ने क्रममा वि.सं. १४२९ तिर मलेबम जुम्लाको राजगद्दीमा बसेपछि पूर्वतर्फका धेरै राज्यहरू जिते। बागलुङ जिल्लाका निशेल भुजेल भन्ने चार हजार पर्वत इलाकामा त्यस बेला मगरहरूको राज्य थियो। जुन समयमा रुकुममा मलेबमका छोरा पिताम्बर र नाति जैतुबमले शासन चलाएका थिए। मगर राजाहरूले यस जिल्लाको राज्य प्रभावकारी रूपमा सञ्चालन गर्न रुकुमको राजधानी गोथाममा गई राजा जैतुबमका आठ भाइ राजकुमारमध्ये एउटा मागे।

राजाले जेठा छोरा बाहेक बाँकी भाइमा रोजेर लाने आज्ञा दिएकाले राति सुतेको ठाउँमा हेर्न जाँदा माहिला राजकुमार आनन्दवमको शिरतिर बढेको देखी उनलाई पिठ्यूँमा बोकेर भुजेलहरूले पर्वतमा ल्याए। पर्वतेहरूले यी राजालाई तीन नामले पुकार्दथे, गोथामबाट ल्याएको गोथम्ब, पिठ्यूँमा बोकेर ल्याएकाले पिठम्ब र आउने राजकुमारको नाम आनन्द भएकाले आनन्द। राजाका साथमा मुडुला कार्की, रुचाल तथा पौडेलहरू पनि आएको किम्बदन्ती छ। वि.सं. १५१० तिर आनन्दवम सोलेपार पर्वतका राजा बने। त्यस बेलासम्म पनि गल्कोट, बिहुँकोट र चन्द्रकोटामा भुरे राजाहरूले राज्य गर्दथे, जसमध्ये बलेवा र बागलुङ माझकोट अन्तर्गत र थन्थाप चन्द्रकोट अन्तर्गत थिए।

आनन्द बम र चन्द्रबमपछि डिम्ब नामको दीलिपले आफ्नो शासनकालमा बिहुँकोट, गल्कोट र ताकमलाई विजय गरी आफ्नो राज्यलाई ४००० पर्वतबाट १४००० पर्वत पुर्र्याए। उनले राज्यमा सु–व्यवस्था ल्याउन आफ्ना माहिला भाइलाई डाँडाकोट, साहिँला भाइलाई बिहुँकोट र कान्छा भाइलाई गल्कोटमा राखेका थिए। राजा डिम्ब वर्षा याममा ढोरमा र हिउँदमा ताकममा बसी राज्य चलाउँथे।

ह्यामिलटनको भनाइअनुसार गल्कोट एउटा सानो राज्य थियो, जहाँ ३००० घरहरू थिए। राजाको दरबार पहाडको टाकुरामा थियो। त्यस दरबारको वरिपरि ५०० खरका झुपडीहरू थिए। यहाँ ३ वटा तामा र १ फलाम खानी थियो। खानीहरूमा केही आधिकारिक व्यक्तिहरूले मात्र काम गर्न पाउँथे। राजाको वार्षिक आम्दानी रु ३५००।– थियो। यहाँका राजाले बिना कुनै युद्ध नै गोर्खाली सेना अगाडि समर्पण गरेका थिए।

गल्कोट राज्यका बारेमा इतिहासकार कर्क प्याट्रिकले पनि लेखेका छन। उनको भनाइअनुसार गल्कोट एउटा ठूलो शहर थियो र गल्कोट नामको एउटा ठूलो किल्ला थियो। यो गल्कोट चौविसी राजाहरूमध्ये एक थियो। एक वंशावलीअनुसार राजा डिम्बका पालामा गण्डकी र कर्णाली प्रदेशका राजाहरूले दिल्लीका बादशाह कहाँ पाँच–पाँच वर्षमा सिर्तो लैजाने गर्दथे। त्यस सिर्तोमा आफ्ना राज्यमा पाइने कस्तुरीको विना, बाज, डाँफे, मयुर, चितुवाको छाला, पश्मिनाको पछ्र्यौरा आदि हुन्थे। राजा डिम्बले पनि युवराज नागबमलाई वि.सं. १५३० तिर दिल्ली पठाए। बादशाहबाट मल्ल भन्ने पदवी दिइएको हुँदा युवराज नागबम त्यसबेलादेखि नागबम मल्ल भए।

Balewa airport
बाग्लुङको बलेवा विमानस्थल

यिनैको पालामा जितेको मादीखोला पूर्वको डाँडाकोटलाई त्यहाँका क्षेत्रीहरूले मल्ल राज्य भनी नाउँ राखे, जुन आज पनि राजभक्ति देखाएकाले मल्ल राज्यको नामले प्रसिद्ध छ। राजा डिम्व १२० वर्षसम्म बाँचेका थिए भन्ने जनश्रुति छ। यिनले ८४ वर्षको उमेरमा आफ्नो जेठा छोरा नागबम पनि अस्वस्थ्य भएकोले एक मात्र नाति प्रतापी नारायणलाई विसं १५९० तिर पर्वतको राज्य सुम्पे। यिनको शासन कालमा यहाँ प्रशस्त मात्रामा जङ्गल भएकोले पशुपालन र अन्य धेरै काममा महत्वपूर्ण स्थान थियो। नुन र सुन भोट तिरबाट पैठारी हुन्थ्यो। प्रतापी नारायण मल्लले राजा हुने बित्तिकै पाल्पाली राजा मुकुन्द सेनकी छोरीसँग विवाह गरे।

पाल्पाली राजाले छोरीलाई कालिका देवीको मूर्ति दाइजो दिएर पठाए। हाल सो मूर्ति बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजार नजीक कृष्ण गण्डकी र काठेखोलाको दोभाननिर एउटा हात्ती सुँडे आकारको रमणीय वनमा निर्मित मन्दिरमा कालिका भगवती देवीको नामले प्रसिद्ध छ। देवीको साथमा पाल्पाबाट खड्ग समाती आउने खड्का क्षेत्रीलाई पूजारी बनाए। राजा प्रतापी नारायणले स्थापना गरेको यस मन्दिरको पूर्व ढोका खोल्नु हुँदैन भन्ने किम्बदन्ती अझै पनि प्रचलित छ। यस मन्दिरको पूजा खर्चको निमित्त राजाले गुठी राखी दिएका थिए।

राजा प्रतापी नारायणको पाल्पासँग वैवाहिक सम्बन्ध पछाडि चौबीसी राज्य पाल्पा र पर्वत बलिया राज्य भए। यिनको करीव ३० वर्षको शासनकाल पछाडि आफ्ना जेठा छोरा किराती बम मल्ललाई गल्कोट माहिला राजबम मल्ललाई पर्वत र कान्छा कल्याण बम मल्ललाई कास्कीको राज्य सुम्पी आफू काशीबास गए। पृथ्वीनारायण शाहको नेपालको एकीकरण अभियानमा गुल्मी, अर्घाखाँची, प्युठान, पर्वत कब्जा गरी अन्त्यमा बलेवा हुँदै बागलुङ समेत नेपालमा गाभियो।

भूगोल, प्रशासन र जनसंख्या

प्रतिनिधि सभा २ निर्वाचन क्षेत्र, प्रदेश सभा ४ निर्वाचन क्षेत्र, ४ नगरपालिका, ६ गाउँपालिका गरी १० वटा स्थानीय तह यस जिल्लामा छन्। यो अक्षांशीय हिसाबले २८ डिग्री १५ मिनेट उत्तरी अक्षांशदेखि २८ डिग्री ३७ मिनेट उत्तरी अक्षांशसम्म र देशान्तरीय हिसाबले ८३ डिग्री पूर्वी देशान्तरदेखि ८३ डिग्री ३६ मिनेट पूर्वी देशान्तरसम्म १७८४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ।

पुरानो व्यवस्थामा १ नगरपालिका र ५९ गाविस रहेको बागलुङमा सङ्घीय संरचनापछि ४ नगरपालिका र ६ गाउँपालिका कायम भएका छन्। जिल्लाका १० स्थानीय तहहरुमा बागलुङ नगरपालिका, गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका र काठेखोला गाउँपालिका रहेका छन्।

Galkot baglung
बाग्लुङको गल्कोट बजार

२०६८ सालको जनगणनाअनुसार बाग्लुङ जिल्लाको कुल जनसंख्या २६८६१३ रहेको छ। त्यसमध्ये महिला ११७९९७ र १५०६१६ रहेका छन्। यहाँका मूख्य जातिहरुमा मगर २८.०४, ब्राम्हण १९.५४, क्षेत्री १८.७१, कामी १५.९७, सार्की ५.५५, दमाई ४.७०, नेवार १.०७, गुरुङ ०.६९, थकालीः ०.२२ र अन्य जाति ८.१९ प्रतिशत रहेका छन्।

जिल्लाका चर्चित स्थानहरु

मनै लठ्ठिने प्राकृतिक सुन्दरता त छँदैछ, साँस्कृतिक रुपमा पनि बागलुङ जिल्ला उत्तिकै धनी छ। सदरमुकाम बागलुङ बजारमै रहेको कालीका भगवती मन्दिर हिन्दू धर्मअनुसार महत्वपूर्ण धार्मिक स्थल हो। नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष यसै जिल्लामा पर्छ। गाजा दह, संसारकोट, भकुण्डे धुरी, हाडीकोट धुरी, पञ्जाकोट धुरी, चमेरे गुफा, रामकोट, घुम्टेको लेक लगायतका स्थान पर्यटकका लागि आर्कषण केन्द्र बनेका छन्।

ढोरपाटन शिकार आरक्ष नेपालको एक मात्र शिकार आरक्ष हो। यो आरक्ष पश्चिम नेपालमा धौलागिरी हिमश्रृंखलाभित्र रुकुम, म्याग्दी र बाग्लुङ गरी तीन जिल्लामा फैलिएको छ, जसको क्षेत्रफल १,३२५ वर्ग किलोमिटर रहेको छ। ढोरपाटन शिकार आरक्ष वि.सं. २०४० (सन् १९८३) मा स्थापित भयो र यसले वि.सं. २०४४ (सन् १९८७) मा मात्र सरकारी मान्यता प्राप्त गर्‍यो। यसको उत्तरी सीमामा पुथा, चुरेन र गुर्जा हिमालहरू रहेका छन्। यो आरक्ष समुन्द्री सतहबाट २,८५० मिटर (९,३५० फिट) देखि ५,५०० मिटर (१८,००० फिट) उचाइमा अवस्थित छ।

ढोरपाटन शिकार आरक्षमा गोब्रे सल्ला, सल्ला, भोजपत्र, लाली गुराँस, ठिँग्रे सल्ला, सिन्दुर, धुपी तथा देबदारु लगायतका वनस्पतिहरू पाइन्छन्। अधिक मात्रामा जैविक सम्पदाको खानी मानिएको ढोरपाटन क्षेत्रमा १ सय ८५ थरीका दुर्लभ वनस्पति उच्च पहाडी सीमसार क्षेत्र ३२ थरीका स्तनधारी वन्यजन्तु, १ सय ३० प्रजातिका चराचुरुङ्गी ८ सय ५२ नाउर, २ सय झारल, हिउँ चितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, लंगुर लगायतका जंगली जनावर र पंक्षीहरू रहेका छन्।

Dhorpatan-Hunting-
ढोरपाटन शिकार आरक्षमा नाउर

शिकारका लागि प्रख्यात यस आरक्षमा पेशेवर शिकारीको लाइसेन्स प्राप्त शिकारीले ९ नाउर र ११ झारलको शिकार गर्न पाउने प्रावधान रहेको छ। पछिल्लो जनगणना अनुसार आरक्षमा करिब ८ सय ५२ नाउर छन्। आरक्षमा रहेका हिउँ चितुवा, घोरल, हिमाली कालो भालु, भुक्ने मृग, लुंगुरलगायत लोपोन्मुख वन्यजन्तुको शिकार गर्न निषेध गरिएको छ।

बाग्लुङ जिल्लामा सयौं धार्मिक स्थलहरु रहेका छन्। हिन्दू र बुद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको यस जिल्लाको बाग्लुङ भगवती मन्दिर नेपालकै प्रख्यात मन्दिर मानिन्छ। त्यसका साथै अरु पनि सयौं धार्मिक स्थलहरु रहेका छन्, तीमध्ये मूख्य–मूख्य धार्मिक स्थलहरु निम्न रहेका छन्।

  • विश्वशान्ति सर्वसिद्धिधाम, पञ्चकोट
  • कालिका भगवती मन्दिर, बाग्लुङ बजार
  • भैरवस्थान मन्दिर, अमलाचौर
  • जैमिनेश्वर मन्दिर, कुश्मीशेरा
  • ढोरपाटनताल बराह मन्दिर, बोवाङ
  • रामकोट मन्दिर, विहु
  • थन्थापी माई भगवती मन्दिर, सर्कुवा र जैदीको सीम
  • देवीस्थान मन्दिर, देवीस्थान
  • शिवालय मन्दिर, तित्याङ
  • सत्यवती मन्दिर, बाटाकाचौर
  • ज्ञानोदय वुद्ध विहार, बागलुङ बजार
  • नृसिंह भगवती मन्दिर, राजकुत
  • जङ्गेश्वर महादेव, निरहेघाट,
  • गणेश मन्दिर, बाग्लुङ
  • सिद्धेश्वर मन्दिर, घुम्टेको धुरी
baglung-bazar
बाग्लुङको सदरमुकाम बाग्लुङ बजार

बाग्लुङ जिल्ला नेपालकै रमणीय जिल्लामा पर्दछ। ८१६७ मिटर उचाइको धौलागिरी हिमाल पनि यस जिल्लामा पर्दछ। यसका साथै यस जिल्लामा दर्जनौं हिमश्रृङ्खलाहरु रहेका छन्। अझ नेपालकै गहिरो नदी कालीगण्डकी पनि यसै जिल्लाको सीमाना हुँदै बग्ने हुनाले जल पर्यटनका दृष्टिले पनि बाग्लुङ महत्वपूर्ण मानिन्छ। बाग्लुङ जिल्लाका मूख्य पर्यटकीय स्थल यस्ता छन्।

  • कालिका भगवती मन्दिर – बाग्लुङ बजार
  • ढोरपाटन – बोवाङ
  • गाजा दह – दमेक
  • संसारकोट – बाग्लुङ नगरपालिका
  • भकुण्डे धुरी – भकुण्डे
  • हाँडीकोट धुरी – जैदी
  • पाञ्जाकोट धुरी – पैंयुपाटा
  • चमेरे गुफा – ग्वालीचौर
  • रामकोट – बिहुँ
  • घुम्टेको लेक – हरिचौर, पाण्डवखानी र हिलबीच)
  • शिवधुरी – रणसिङकिटेनी र पाण्डवखानी
  • लोङाको धुरी – रणसिङकिटेनी, पाण्डवखानी, मल्म र शिसाखानी)
  • भैरवस्थान – अमलाचौर
  • घोडा बाँधे – बिहुँ
  • फागुनेको धुरी – बोवाङ
  • थाप्लेको धुरी – भीमपोखरा
  • जैमिनेश्वर क्षेत्र – कुश्मीसेरा र बिनामारे

जिल्लाका व्यापारिक महत्वका ठाउँहरु

  • बागलुङ बजार
  • खर्वाङ बजार
  • शेरा बजार, कुश्मीसेरा
  • खार बजार, ग्वालीचौर
  • भीमगिठ्ठे बजार, भीमगिठ्ठे
  • बुर्तिबाङ बजार, बुर्तिवाङ
  • हटिया बजार, हटिया
  • हरिचौर बजार, हरिचौर
  • रिजाल चोक, बिहुँ
  • बरेङ बजार, हुग्दीशिर र धुल्लुबास्कोट
  • खाल बजार, भीमगिठ्ठे
  • हटिया बजार, बिहुँ

जिल्लाका प्रमूख घरेलु उत्पादन

  • नेपाली हाते कागज – ताराखोला, तमान, बुंगादोभान
  • बुट्टेनली – सदरमुकाम, जलजला, अमरभूमि
  • राडीपाखी – पाण्डवखानी, बुंगादोभान, निसी र रणसिंहकिटेनी
  • स्लेट ढुङ्गा – ताराखोला, अर्गल, अमरभूमि, नरेठाँटी, हरिचौर, जैदी, रेश, नीसी र मल्म
  • कार्भिङ ढुङ्गा – कुश्मीसेरा, अमलाचौर

बाग्लुङमा पाइने जडिबुटीहरुमा आकाशबेली, चिराइतो, जटामसी, यार्चागुम्बा, तालिसपत्र, सत्तुवा, अमला, विषम्, पदमचाल, चुल्ठे, गोकुलधुप, काकुली जरा, मजिठो, झ्याऊ लगायत बहत्तर प्रजाति पहिचान भएका छन्। बागलुङ जिल्लामा उपोष्ण, समशितोष्ण, ठण्डा शितोष्ण, लेकाली, हिमाली खालको हावापानी पाइन्छ।

Baglung kalika mandir
बाग्लुङ कालिका भगवती मन्दिर

चैते दशैं मेला, हनुमान नाँच, लाखे नाँच जस्ता सांस्कृतिक पर्वहरु, रुद्र ताल, गाँजाको दह, नील दहजस्ता प्रमुख ताल एवं कुण्डहरु, यानीमाया, सालैजो, सोरठी नृत्य, घाँटु नाँच लगायतका लोक संस्कृतिको धनी यस जिल्लाका प्रमुख व्यापारिक महत्वका ठाउँहरुमा बागलुङ बजार, बुर्तिबाङ बजार, हटिया बजार, शेरा बजार, खार बजार, हरिचौर बजार आदि हुन्। यस जिल्लामा मुख्य रुपमा मगर, ब्राह्मण, क्षेत्री तथा जनजातिहरुको बसोबास रहेको छ। मुख्य पेशा कृषि रहेको यस जिल्लामा वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रहेको हुँदा विप्रेषण भित्र्याउने प्रमुख जिल्लाहरुमध्ये चिनिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्