काठमाडौं। नेकपाले कुराले नभई कामले मात्र भ्रष्टाचार रोकी सुशासनको जग बसाल्न सकिने भन्दै आफ्नो राजनीतिक प्रतिवेदनमा जनमूखी सरकारमा जोड दिएको छ। आइतबार अध्यक्ष प्रचण्डद्वारा स्थायी समितिमा पेश गरिएको प्रतिवेदनमा भ्रष्टाचार रोक्न वामपन्थी सरकार कठोर बन्नुपर्ने आवश्यकता औल्याइएको छ।
प्रतिवेदनमा भनिएको छ, ‘प्रतिक्रियावादीहरूका तमाम आरोपहरूको खण्डन हाम्रो पार्टीले आफूलाई सर्वा्िधक लोकतान्त्रिक शान्ति, स्थिरता र विकासको पक्षधर सावित गरेर, कुराले मात्र नभई व्यवहारद्वारा नै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्न नदिने शक्तिका रुपमा स्थापित गरेर मात्र गर्न सकिन्छ। इतिहासका तमाम उतारचढावबाट गजिएर परिपक्व भएको हाम्रो पार्टीले अब आफलाई लोकतान्त्रिक प्रणालीबाट आर्थिकसामाजिक रुपान्तरणको अगुवा सावित गर्नुपर्दछ।’
नेकपाको प्रतिवेदनमा राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै प्रतिक्रान्तिकारी शक्ति अन्तिमसम्म परिवर्तन उल्टाउन लागि पर्ने भएकाले क्रान्तिकारीहरु सचेत हुनुपर्ने आवश्यकता औल्याइएको छ। प्रतिवेदनमा पुरानो राज्य प्रणाली भत्किएका कारण नयाँ प्रणालीको जग बसाल्न ढिलाइ गर्न नहुनेमा जोड दिइएको छ। यस्तो छ राष्ट्रिय परिस्थितिबारे नेकपाको विश्लेषण।
शान्ति सम्झौताका अत्यन्त जटिल र सम्वेदनशील कार्य, ‘सेना समायोजन र हतियार व्यवस्थापन’ लगायत आधारभूत कामहरू सफलतापूर्वक सम्पन्न हुनु, संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण हुनु, स्थानीय, प्रादेशीक र संघीय निर्वाचन सम्पन्न भई तीनै तहमा अत्यधिक बहुमत प्राप्त सरकारहरूको गठन हुनु तथा नयाँ सरकारबाट ‘समृद्ध नेपाल सखी नेपाली’को राष्ट्रिय आकांक्षा अघि सार्न आदि नै आज देशको राष्ट्रिय राजनीतिका दुरगामी प्रभाव पार्ने विशेषताहरू हुन्।
सामन्ती निरंकुशताका विरुद्ध लामो राजनीतिक संघर्ष र बलिदानपश्चात इतिहासमा पहिलोपटक नेपाली जनता साँचो अर्थमा सार्वभौम बन्न पुगेका छन्। राजनैतिक अस्थिरता र अराजकताको दुष्चक्रबाट बाहिर निक्लेर राजनीतिक स्थायित्वसहित समृद्धिको नयाँ यात्रातिर नेपाली समाज अगाडि बढ्दैछ। कम्युनिष्ट पार्टीको नेतृत्वमा सामाजिक न्यायसहित सार्वजनिक निजी र सहकारी क्षेत्रको सहकार्यमा तीब्र आर्थिक वृद्धि हासिल गर्दै संविधानले दिशानिर्देश गरेअनुसार समाजवादको आधार तयार पार्ने ऐतिहासिक अवसर प्राप्त भएको छ। तर, यो अवसर सहज र चुनौतिरहित भने अवश्य छैन।
लामो समयसम्म अस्थिरता र अराजकताबाट अनुचित लाभ उठाइरहेका सामन्ती निरंकुशतावादी र प्रतिक्रियावादी दलाल तत्वहरू आज पनि अन्यौल र अस्थिरता सिर्जना गर्न “कसरत’’ गरी नै रहेका छन्। देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरूले कम्युनिष्ट पार्टीमाथि अधिनायकवादीको झुठो आरोप लगाई जनतामा भ्रम छर्ने प्रयास जारी नै राखेका छन्। निरंकुश राजतन्त्रका पक्षपोषकहरू, परिवर्तन विरोधी यथास्थितिवादी शक्तिहरू विभिन्न रुप र रंगका साम्प्रदायिक एवं अतिवादी तत्वहरूलाई, कम्युनिष्ट पार्टीको नेतृत्वमा देश स्थिरता र समृद्धिको दिशामा अगाडि बढ्न लागेको कुरा बिल्कुल पचेको छैन।
अतः यस्ता तत्वहरू आफ्नो वर्ग चरित्र अनुसार अँध्यारो कोठाहरूमा बसेर प्रतिक्रान्तिको तानाबाना बुन्न छाडेका छैनन्। उनीहरूका भ्रम र षड्यन्त्रलाई सम्पूर्ण रुपले निस्तेज पार्न परिवर्तनका पक्षधर वैधानिक शक्तिहरू सजगतापूर्वक एकतावद्ध भएर अगाडि बढ्न जरुरी छ। हामीले इतिहासको यो शिक्षालाई दह्रोसँग पक्डनु पर्दछ कि प्रत्येक क्रान्तिपछि पराजित वर्गले वषौसम्म प्रतिक्रान्तिको प्रयास गरी नै रहन्छन्। यसलाई अन्तिम रुपले परास्त गर्न परिवर्तनकारी शक्तिहरूले आफ्नो सजगता झन बढाएर लानुपर्ने हुन्छ। संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालमा सयौं वर्षदेखि चल्दै आएको राजतन्त्रात्मक प्रणालीमा सामान्य मात्रात्मक सुधार होइन, अपितु गुणात्मक परिर्वतनको प्रतिनिधित्व गर्दछ।
वैचारिक, राजनैतिक दष्टिले मात्र होइन, संघीय लोकतान्त्रिक गणतन्त्रले राज्य प्रणाली र संरचनाका दृष्टिले समेत पुरानो राजतन्त्रात्मक प्रणालीसँग गणात्मक र निर्णायक रुपले सम्बन्ध बिच्छेद गरेको छ। एउटा नयाँ राजनैतिक प्रणालीको अभ्यासको प्रारम्भमा केही जटिलता र चुनौतिहरू अवश्य रहने गर्दछन्। यस ऐतिहासिक सन्दर्भमा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सम्पूर्ण देशभक्त एवं लोकतान्त्रिक शक्तिहरू एकतावद्ध भई जअपेक्षा अनुसार सुशासन, विकास र जनसेवामा समर्पित भई प्रतिक्रियावादी शक्तिहरूका षडयन्त्रहरूलाई परास्त गर्नु आजको राष्ट्रिय राजनीतिको आवश्यकता हो।
प्रतिक्रियावादीहरूका तमाम आरोपहरूको खण्डन हाम्रो पार्टीले आफूलाई सर्वा्िधक लोकतान्त्रिक शान्ति, स्थिरता र विकासको पक्षधर सावित गरेर, कुराले मात्र नभई व्यवहारद्वारा नै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्न नदिने शक्तिका रुपमा स्थापित गरेर मात्र गर्न सकिन्छ। इतिहासका तमाम उतारचढावबाट गजिएर परिपक्व भएको हाम्रो पार्टीले अब आफलाई लोकतान्त्रिक प्रणालीबाट आर्थिकसामाजिक रुपान्तरणको अगुवा सावित गर्नुपर्दछ। राजनैतिक स्थिरतालाई दीगो बनाउन पार्टीले शान्ति प्रक्रियाका बाँकी कामहरू (मुख्यतः सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानिबिन आयोग सम्बन्धी काम) पुरा गर्न विशेष जोड दिनुपर्दछ। शान्ति प्रक्रिया आफै एउटा ऐतिहासिक राजनैतिक प्रक्रिया हो। वैधानिक आयोगहरूलाई काम सम्पादनमा सहयोग पूर्याउन उपयुक्त राजनैतिक संरचना गठनबारे विचार गरी निष्कर्षमा पुग्न जरुरी छ।