काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सिन्धुपाल्चोक बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। सोमबार एक विज्ञप्ति प्रकासित गरी अध्यक्ष केसीले दैनिक जस्तो भइरहेका दुर्घटनाबाट सर्वसाधारणले अकालमा ज्यान गुमाइरहँदा सम्बन्धित निकाय गम्भीर नबनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
दुर्घटना हुन नदिन यातायात क्षेत्रमा व्यापक सुधार र सुरक्षाको व्यवस्था मिलाउन पनि केसीको माग छ। नेपालमा स्तरहीन सडकहरु हुनु, पुराना र राम्रो अवस्था नभएका सवारी साधनहरुको प्रयोग, चालकको लापरबाही वा उनीहरुका कमजोरीका कारणले बढी दुर्घटना हुने गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
‘यातायातसँग सम्बन्धित निकाय वा प्रहरीले पनि यति धेरै दुर्घटना बढेको अवस्थामा सुधार गर्ने तर्फ ध्यान दिएको पाईदैन। हामीले बारम्बार सरकार र सम्बन्धित पक्षहरुको ध्यान आकर्षण गराएका छौं। तैपनि सम्बन्धित पक्षको ध्यान नगएकोमा हाम्रो पार्टीले त्यसको तीव्र विरोध र भत्र्सना गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।