काठमाडौं। २००७ साल फागुन ७ गते जहाँनिया राणाशासनको अन्त्य भई देशमा शिशु प्रजातन्त्रको जन्म भयो। प्रजातन्त्रको घोषणाकै सन्दर्भमा राजा त्रिभूवन जनताले चुनेका विधान सभाका प्रतिनिधिहरुले संविधान बनाउने घोषणा गरेका थिए। तर, राजा त्रिभूवन र तात्कालीन कांग्रेस–कम्युनिष्टको प्रमूख प्राथमिकतामा नपर्दा विधान सभाको चुनाव हुन सकेन।
वि.सं. २०११ सालमा राजा त्रिभूवनको मृत्यु भएपछि महेन्द्रले राजगद्दी सम्हाले। त्यसपछि राजनीतिक दल खोल्ने स्वतन्त्रतामा थप अङ्कुश लगाइयो। जनताको विधान सभाको चाहनामा महेन्द्र सहमत थिएनन्। त्यसैले वि.सं. २०१५ सालमा आम निर्वाचनको घोषणा गरी सम्पन्न भयो।
उक्त आम निर्वाचनमा नेपाली कांग्रेसले अत्यधिक बहुमत हासिल गर्यो। कम्युनिष्ट पार्टीले जम्मा ४ सिटमा विजय हासिल गर्यो। निर्वाचनपछि पनि राजा महेन्द्रले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको बाटो खोल्न आनाकानी गरे। २०१६ सालमा कांग्रेस नेता विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा पहिलो जननिर्वाचित सरकार गठन भयो।
२०१५ सालको आम निर्वाचन र पहिलो जननिर्वाचित सरकार दुवै महेन्द्रका रोजाइ थिएनन्। त्यसले उनले वि.सं. २०१७ साल पुष १ गते शाही घोषणामार्फत् बिपीको सरकार अपदस्त गरिदिए, दलहरुमाथि प्रतिबन्ध लगाइएको घोषणा गरे र पञ्चायत शासनको सुरुवात भएको घोषणा गरे। यसरी महेन्द्रले १० वर्षको शिशु प्रजातन्त्र अपदस्त गरिदिए।
२००७ मा राणा शासनको अन्त्य हुँदै प्रजातन्त्रको स्थापना भयो। राणाले गर्दै आएको हुकुमी शासन अन्त्य भयो, जनताले राहतको महसुस गरे। राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक लगायतका क्षेत्रमा सहजता आयो। तर, प्रजातन्त्र लामो समय टिकेन २०१७ पुस १ गते पञ्चायती व्यवस्थाको स्थापना भयो।
वि.सं. २०१५ सालमा भएको संसदीय चुनावबाट निर्वाचित सरकारलाई २०१७ पुस १ गते दिनदहाडै राजा महेन्द्रबाट अपदस्त गरिएको थियो। पञ्चायती शासन स्थापना गरेपछि राजनीतिक दल प्रतिबन्ध गरिए भने जननिर्वाचित प्रधानमन्त्री बी.पी. कोइराला, उनको मन्त्रीमण्डलका सदस्य, सांसद, राजनीतिक दलका नेता र कार्यकर्तालाई रातारात पक्राउ गरियो र जेल हालियो।
राजनीतिक दलका नेताहरू राजकाज, राज्यद्रोह लगायतका मुद्दामा लामो समय जेल बसे। पञ्चायतले पक्राउ गर्न नसकेका राजनीतिक दलका नेता कार्यकर्ता ठूलो सङ्ख्यामा भारत निर्वासित भए। पञ्चायतको स्थापना भएको २–३ वर्षमै देशभरि पञ्चायतको जगजगी फैलियो। पञ्चायतलाई बलियो बनाउने गरी राजालाई सर्वाधिकार सम्पन्न व्यवस्थासहित २०१९ सालमा पञ्चायती संविधान जारी गरियो।
पञ्चायती व्यवस्था
पञ्चायती शासन व्यवस्थाका मान्छेहरूले भन्ने गर्दथे कि सबै नेपाली पञ्च, सबै पञ्च नेपाली। उनीहरूले पञ्चायती व्यवस्था र नेपाललाई एक–अर्काका पूरकको रूपमा प्रचार गर्ने गर्दथे। पञ्चायत नरहे देशै रहँदैन भनेर प्रचार गरिएको थियो। कांग्रेस र कम्युनिस्ट पार्टीलाई अराष्ट्रिय तत्व घोषणा गरिएको थियो।
२०१८ सालको क्रान्ति, ३३ सालको बीपीको मेलमिलाप नीति, २०३६ सालको विद्यार्थी आन्दोलन आदिको दवावका कारण २०३६मा तत्कालीन राजा वीरेन्द्रले नेपालमा जनमत संग्रह गराए। बहुदल वा सुधारिएको पञ्चायत कुन रोज्ने भनी गराइएको जनमत सँग्रहमा राज्य शक्तिको चरम दुरूपयोग गरी पञ्चायत पक्षलाई जिताइयो। त्यसपछि पनि देशमा बहुदलीय व्यवस्था स्थापना हुन नसकेपछि २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह सुरू गर्यो।
वि.सं. २०४६ मा भएको नेपालको पहिलो जनआन्दोलनमा नेपालका विभिन्न दलहरु एकै उद्धेश्य लिएर आन्दोलनमा होमिएका थिए। नेपाली कांग्रेसको नेतृत्वमा विभिन्न कम्युनिष्टको समूह संयुक्त वाम मोर्चा बनाएर आन्दोलनमा होमिएका थिए, त्यसको नेतृत्व कम्युनिष्ट नेतृ सहाना प्रधानले गरेकी थिइन्। यता बहुदलीय संसद नमान्ने कम्युनिष्टहरुले पनि डा. बाबुराम भट्टराईको नेतृत्वमा संयुक्त जनआन्दोलन समिति बनाएर आन्दोलनमा होमिएका थिए। आन्दोलनमा पञ्चायती शासकहरुले निकै दमन गरेका थिए।
पञ्चायतमा भएका मुख्य घटना
पञ्चायती व्यवस्था लागू भइसकेपछि त्यसको जग मजबुत बनाउनका लागि राज्यका तर्फबाट विभिन्न कार्यक्रमहरू ल्याइएको थियो। त्यसैगरी पञ्चायती व्यवस्था हटाउनका लागि विभिन्न राजनीतिक पार्टीहरूबाट शसस्त्र तथा शान्तिपूर्ण आन्दोलनहरू पनि भइरहे। पञ्चायतमा भएका मूख्य घटना यस्ता छन्।
- २०१७ पुष १ – पञ्चायती व्यवस्थाको घोषणा
- २०१७ पुष १२ – महेन्द्रको अध्यक्षतामा मन्त्रीमण्डल
- २०१८ – नेपाली कांग्रेसको शसस्त्र विद्रोह
- २०१८ माघ ९ – जनकपुरमा महेन्द्रमाथि बम प्रहार
- २०१८ माघ – महेन्द्र राजमार्ग निर्माण सुरू
- २०१९ पुष १ – नेपाल अधिराज्यको संविधान लागू
- २०२१ साल – भूमिसुधार व्यवस्था लागू
- २०२० भदौ ९ – नयाँ मुलुकी ऐन लागू
- २०२४ साल – गाउँ फर्क अभियान, केही राजबन्दी रिहा
- २०२८ साल – महेन्द्रको निधन, वीरेन्द्रको गद्धिरोहण
- २०२८ साल – राष्ट्रिय शिक्षा नीति लागू
- २०२८ साल – झापामा सशस्त्र विद्रोह
- २०३१ साल – वीरेन्द्रद्वारा नेपाललाई शान्ति क्षेत्रको प्रस्ताव
- २०३३ साल – मेलमिलापको नीति लिएर बिपी स्वदेश फिर्ता
- २०३६–२३७ साल – जनमत संग्रह, पञ्चायतकै विजय
- २०४२ साल – कांग्रेसद्वारा सत्याग्रह सुरु
- २०४२ साल – सिंहदरबार बम काण्ड
- २०४५–२०४६ साल – भारतद्वारा नेपालमाथि नाकाबन्दी
- २०४६ साल – कांग्रेस–कम्युनिष्ट संयुक्त जनआन्दोलन
- २०४६ चैत्र २६ – बहुदलीय व्यवस्थाको घोषणा