सांसद विद्या भट्टराईको शपथको तयारी

bidhya-bhattarai
लाेकपाटी न्यूज

काठमाडौं, १ पुस। भर्खरै सम्पन्न उपनिर्वाचनमा कास्की क्षेत्र नं.–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन्। उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे शपथ ग्रहण गराउन लागेकी संसद सचिवालयले जनाएको छ।

१४ मंसिरको उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन्। उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई झण्डै साढे आठ हजार मत अन्तरले हराएकी थिइन्। भट्टराईले २४ हजार ३ सय ९५ मत पाउँदा पौडेलले १५ हजार ९८६ मत पाएका थिए।

तत्कालीन प्रतिनिधिसभा सदस्य एवं पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको कास्की–२ मा नेकपाले रविन्द्रकै पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो। भट्टराईले तीन वर्षे कार्यकालका लागि सपथ लिन लागेकी हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्