काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठक आज तेस्रो दिन पनि पार्टी मूख्यालय धुम्बाराहीमा बस्दैछ। बैठकमा नेताहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधनमाथि आफ्ना धारणा राखिरहेका छन्।
बैठकमा २ अध्यक्षका तर्फबाट अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा पार्टी रुपान्तरणका ९ उपाय प्रस्ताव गरिएको छ। प्रस्तावमा पार्टीलाई गतिशील बनाउनेदेखि स्कूलिङ, परीक्षा प्रणाली, पार्टी प्रशिक्षण, मूखपत्र प्रकाशन, जनवादी केन्द्रीयताको अभ्यास, पार्टी र जनवर्गीय संगठन सुदृढीकरणको कार्ययोजना लगायतका विषय समेटिएको छ।
प्रतिवेदनमा पार्टीमा दण्ड र पुरस्कारको व्यवस्था आवश्यक रहेकोमा जोड दिइएको छ। प्रतिवेदनमा भनिएको छ, ‘पार्टी र सरकारका विरुद्ध जनतामा भ्रम छर्ने गरी पार्टी अनुशासन र पद्दति विपरित बोल्ने, लेख्ने पार्टी नीति विपरित भेला, बैठक गर्ने काम बन्द गर्नुपर्दछ। पार्टीलाई विधि र अनुशासनमा चल्ने शक्तिका रुपमा विकास गर्न आवश्यक छ। अनुशासनहिन काम गर्नेहरूलाई कारवाहीको दायरामा ल्याउनु पर्दछ।’
दस्तावेजको एक अंश
पार्टी एकताको ऐतिहासिक महत्व र देशको राजनैतिक विकासमा एकताले खेलेको असाधारण भूमिका बारे माथि नै चर्चा गरिसकिएको छ। तर, पार्टी एकता प्रक्रियालाई पूर्णता दिन भएको ढिलाई, पार्टीको आधिकारिक र व्यवस्थित प्रकाशन, प्रचार प्रशिक्षण र स्कुलिङको अभावका कारण आज पार्टी संगठन अन्यौलग्रस्त अवस्थाम रहेको छ। पार्टी संस्थागत छैन। बरु विभिन्न प्रकारका गुटहरू झाँगिदै जान थालेका छन्।
पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृतिहरू बढिरहेको छन् । पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा छ। पार्टी अनुशासनको स्थान गुट अराजकताले लिने खतरा दिनप्रतिदिन बढ्दै गएको छ। आलोचना, आत्मआलोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन, गल्ती गर्नेलाई दुरुत्साहन गर्नेजस्ता सजीव र गतिशील कम्युनिष्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालना भइरहेको छैन।
उपरोक्त स्थितिमा सुधार ल्याउन विचार र विधिमा स्पष्टतासहित दृढ इच्छाशक्ति र सङ्कल्पका साथ अगाडि बढ्नुको विकल्प छैन। विद्यमान स्थितिलाई सुधार गरी पार्टी एकतालाई सुदृढ गर्न निम्न कुरहरूमा विशेष ध्यान दिनै पर्दछ।
(क) पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवादको दर्शन, राजनीतिक अर्थशास्त्र एवं वैज्ञानिक समाजवादका बारेमा व्यवस्थित र योजनावद्ध स्कूलिङ सञ्चालन गर्ने कामलाई पार्टीको आधारभूत कामका रुपमा अगाडि बढाउनु पर्छ। मार्क्सवाद–लेनिनवादका आधारभूत सिद्धान्तबारे आधारभूत र उपल्लो स्तरसम्मको ज्ञानका लागि आवश्यक परीक्षा प्रणाली समेत अपनाउनु जरुरी छ।
(ख) पार्टीको राजनीतिक प्रतिवेदन र विधानबारे सिङ्गो पार्टी पंक्तिमा व्यवस्थित प्रशिक्षण सञ्चालन गरी बुझाइमा एकरुपता ल्याउन जरुरी छ। आज हाम्रो पार्टीको रणनीतिक लक्ष्य र आधारभूत कार्यक्रम समाजवाद हो तथा तात्कालिन ठोस कार्यक्रम समाजवाद उन्मूख ‘जनताको जनवाद’ हो भन्ने कुरा स्पष्ट गरिनु पर्दछ।
(ग) पार्टी इतिहासमा कमरेड मदन भण्डारी र जबजको योगदान तथा माओवादी जनयुद्ध र एक्काइसौं शताब्दीको जनवादको योगदानबारे राजनीतिक प्रतिवेदनमा गरिएको विश्लेषण र संश्लेषणलाई व्यवस्थित रुपले पार्टीमा स्थापित गरिनुपर्दछ। नयाँ राजनीति सन्दर्भमा विचारको विकास र परिमार्जनका लागि सिर्जनात्मक अध्ययनमा जोड दिनुपर्दछ।
(घ) पार्टी मुखपत्र एवं अन्य वैचारिक र राजनीतिक प्रकाशनलाई नियमित र योजनावद्ध रुपमा प्रकाशन गर्ने, वितरण गर्ने तथा सिंगो पार्टी पंक्तिलाई तिनको अध्ययन र छलफलमा सरिक गराउन योजना बनाएर कार्यान्वयनमा जानुपर्छ।
(ङ) शन्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक बाटोबाट सामाजिक न्यायसहित आर्थिक विकासलाई गति दिनु र समाजवादको आधार तयार पार्न तथा दलाल–नोकरशाही पूँजीवादी, शोषण उत्पीडनको अन्त्य गर्दै स्वाधीन राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने पार्टीको तत्कालिन कार्यक्रम भएको तथ्य स्पष्ट गरिनुपर्दछ।
(च) पाटीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता रहेको कुरा स्पष्ट गर्दै पार्टी संगठनलाई व्यवस्थित र अनुशासित तुल्याउन सदस्यता नवीकरण गर्नु, कमिटिहरूको नियमित बैठक सञ्चालन गर्नु, नियमित रिपोर्टिङ र निर्देशन प्रणाली लागू गर्नु, प्रत्येक कमिटिको कम्तिमा कार्यालय तहबाट आलोचना र आत्मालोचनाको प्रक्रिया सुरु गर्नु, निर्णय प्रक्रिया विधिसंगत, सामूहिक र संस्थागत बनाउन विशेष जोड गर्न आवश्यक छ।
(छ) सबै पार्टी कमिटी, विभाग, मोर्चा र संयन्त्रहरूले कम्तिमा तीन महिनाको कार्ययोजना तयार पारी कार्यान्वयनमा जाने। कार्यन्वयन प्रक्रियाको समीक्षा गरी सामूहिक निष्कर्षसहित पुनः नयाँ योजना निर्माणको प्रक्रियामा अगाडि बढ्नुपर्दछ।
(ज) पार्टी र सरकारका विरुद्ध जनतामा भ्रम छर्ने गरी पार्टी अनुशासन र पद्दति विपरित बोल्ने, लेख्ने पार्टी नीति विपरित भेला, बैठक गर्ने काम बन्द गर्नुपर्दछ। पार्टीलाई विधि र अनुशासनमा चल्ने शक्तिका रुपमा विकास गर्न आवश्यक छ। अनुशासनहिन काम गर्नेहरूलाई कारवाहीको दायरामा ल्याउनु पर्दछ।