काठमाडौं। बढुवा समितिको सचिवालयले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) मा बढुवाका लागि नेपाल प्रशासन सेवाका ४४ जना उपसचिवको नाम सिफारिस गरेको छ।
समितिले मङ्सिर ३० को निर्णय अनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा रिक्त पदमा योग्यता क्रमका उमेदवारहरुलाई बढुवाका लागि सिफारिस गरेको हो।
सिफारिस गरिएका मध्ये ३७ जना नियमित बढुवा अनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा सिफारिसमा परेका हुन् भने ७ जना सर्वोच्च अदालतको फैसला बमोजिम बढुवा सिफारिस गरेको हो।
अदालतको २०७६ असोज ५ गतेको फैसला अनुसार बढुवा सूचना अनुसार बढुवा भएका कर्मचारीहरू सरह ज्येष्ठता कायम हुने गरी रुद्रनाथ देवकोटा, गौलोचन सैँजु, सुशील श्रेष्ठ, रामभक्त श्रेष्ठ, अद्वैत प्रकाश श्रेष्ठ, अमृत श्रेष्ठ र बिनु बज्राचार्य कुँवरको नाम सिफारिस भएको छ।
अदालतको आदेशबाट बढुवा सिफारिस सबै कर्मचारी पूर्व राजप्रासाद सेवाबाट आएका कर्मचारी हुन्। राजसंस्थाको अन्त्यसँगै राजदरबारमा कार्यरत राजप्रासाद सेवाका कर्मचारीलाई सरकारले विविध सेवा अन्तर्गत ल्याउने निर्णय गरेको थियो। तर नियमित बढुवामा स्थान नपाएपछि उनीहरू अदालत गएका थिए।
सूचना हेर्नुहोस्